s

कमैया परिवारलाई पक्की घर

राजेन्द्र नाथ

कमैया मुक्ति घोषणाको १३ वर्ष वितिसक्दा पनि कच्ची घरमा बस्दै आएका यहाँका २५ कमैया परिवार शुक्रबारदेखि पक्की घरमा बस्न थालेका छन् । कमैया परिवारलाई कम लागतको घर निर्माण परियोजना अन्तर्गत रारा मानवीय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी) ले घर निर्माण गरिदिएपछि गंगापरस्पुर १ सालझुन्डीका कमैया परिवार पक्की घरमा बस्न थालेका हुन् । ७२ वर्षीय जोखराम चौधरी लगायतका २५ परिवारले घरको स्वामित्व प्राप्त गरेपछि शुक्रबार खुसिलायी मनाए । नाचगान र भोजभतेर गरेका उनीहरूले पक्की घर निर्माणले आफूहरूको सपना पूरा भएको बताए । 'पक्की घरमा बस्ने सपना पूरा भएको छ,' जोखरामले  भने, 'आर्थिक अवस्था कमजोर भएकाले घर बनाउने आँट गर्न सकेको थिइनँ तर विदेशीहरूसमेत घर बनाउन जुटेपछि त्यो सपना पूरा भएको छ ।'

'वषर्ातमा सर्पको बिगबिगी हुन्थ्यो । डुबानले गर्दा सुत्न पनि मुस्किल पथ्र्यो ।' कम लागतको घर निर्माण मूल समितिका अध्यक्ष गणेश चौधरीले भने, 'घर निर्माण भएकाले सुखसँग बस्न पाइने  भइयो ।'

गंगापरस्पुरका कमैया परिचयपत्र, जग्गाको लालपुर्जा र आर्थिक अवस्था कमजोर भएका परिवारका लागि घर निर्माण गरिएको रेरीका अध्यक्ष पुनितविक्रम शाहले बताए । संस्थाले सरिया,  सिमेन्ट, छड लगायतका सामग्री र मिस्त्रीको व्यवस्था गरेको थियो । काठको प्रबन्ध र मजदुरी लगायतका काम कमैया परिवार आफैले गरेका थिए ।
२५ घर निर्माण भएका हुन् । आवास योजनासँगै संस्थाले तीन वर्षदेखि मुक्तकमैया बस्तीमा सामाजिक, आर्थिक विकासका कामहरू गर्दै आएको जनाएको छ ।
जंगल तथा नदी किनारमा बस्दै आएका गंगापरस्पुरका मुक्त कमैया परिवारलाई बेलायत, स्वीडेन र फिनल्यान्डका २५ जना नागरिकले आर्थिक सहयोगका साथै घर निर्माणका लागि आफै श्रमदान गरेर सहयोग गरेका हुन् ।

उनीहरूले मुक्त कमैया बस्तीमा पुगेर आफै घर निर्माणमा सघाएका थिए । आफ्नो पक्की घर होला भन्ने कल्पना सम्म नगरेका मुक्त कमैयाहरू विदेशी नागरिक आफ्नै गाउँमा आएर घर  निर्माणका लागि लाग्ने सामाग्री खरिद गरी घर बनाउन सहयोग गरेपछि खुसी भएका छन् ।

Published on: 3 August 2013 | Kantipur

Back to list

;