s

काम गर्न नेपाल आउने विदेशीमा ७० प्रतिशत चिनियाँ

गोपाल साउद

नेपाली श्रमिक कामको खोजीमा अन्य मुलुकमा गएजस्तै विदेशी श्रमिक पनि कामका लागि नेपाल आउने गरेका छन् । श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशी कामदारमा करिब ७० प्रतिशत चिनियाँ रहेका छन् ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ हजार ७ सय ८६ जना विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिइसकेको श्रम विभागले जनाएको छ । यसरी श्रम स्वीकृति लिने विदेशी कामदारको संख्या गत आर्थिक वर्षमा भने १ हजार ९ सय ७२ रहेको थियो । श्रम स्वीकृति लिएर नेपालमा काम गर्नेहरूमा चीनपछि क्रमशः बेलायत, अमेरिका, भारत र दक्षिण कोरियाका छन् ।
 
विदेशी लगानी भएका तथा विदेशी सहयोगमा सञ्चालित परियोजना तथा प्रतिष्ठानमा कार्यकारी प्रमुख तथा निश्चित संख्यामा विदेशी श्रमिक ल्याउन सकिने व्यवस्था छ । चिनियाँ लगानी तथा सहयोगमा विमानस्थल, सडक पूर्वाधार, जलविद्युत्लगायतका ठूला परियोजना निर्माणका कारण चिनियाँ कामदारको संख्या अन्यको तुलनामा अत्यधिक देखिएको विभागले जनाएको छ ।
 
सबैभन्दा बढी निर्माण क्षेत्रमा
 
गत आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा आउने विदेशी कामदारहरूमध्ये अधिकांश निर्माण क्षेत्रमा कार्यरत छन् । आर्थिक वर्ष ०७३/७४ मा निर्माण क्षेत्रमा १ हजार ४ सय ९४, सेवामूलक क्षेत्रमा ४ सय ६ र उत्पादनमूलक क्षेत्रमा ७२ विदेशी कामदार नेपाल आएका थिए ।
 
भारतीय श्रमिक तथ्यांकबाहिर
 
गत साउनमा पारित नयाँ श्रम ऐनले रोजगारदाताले श्रमिकका रूपमा काममा लगाउँदा नेपाली नागरिकलाई अनिवार्य रूपमा प्राथमिकतामा राख्नुपर्ने व्यवस्था गरेको छ । तर, सन् १९५० को नेपाल–भारत सन्धिले भारतीय नागरिकलाई कूटनीतिक उन्मुक्ति दिएका कारण नेपाली कामदारलाई प्राथमिकतामा राख्न र भारतीय कामदारलाई श्रम स्वीकृति अनिवार्य गर्न समस्या देखिँदै आएको छ ।
 
जसले गर्दा नेपालमा कार्यरत लाखौँ भारतीय श्रमिकले श्रम स्वीकृति लिएका छैनन् । श्रम स्वीकृति लिएकाबाहेक स्वदेशी श्रम बजारमा कार्यरत भारतीय श्रमिकको यकिन तथ्यांकसमेत सरकारसँग छैन । नेपालमा काम गर्न आउने केही भारतीयले भने भारतमा आयस्रोत खुलाउन सहयोग पुग्ने हुँदा श्रम स्वीकृति लिने गरेका छन् ।
 
यसरी आउँछन् कामदार
 
श्रम ऐनले श्रम स्वीकृति नलिई रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई काममा लगाउन रोक लगाएको छ । तर, आवश्यक दक्ष श्रमिक नेपाली नागरिकबाट सम्भव नभएमा भने विदेशी कामदार ल्याउन पाइन्छ । यद्यपि, विदेशी सहयोग र लगानीका परियोजनामा कार्यकारी प्रमुखसँगै निर्धारित संख्यामा विदेशी कामदार भने आउन सक्छन् ।
 
सम्बन्धित परियोजनाको सहमति तथा सरोकारवाला कार्यालयको सिफारिसमा श्रम विभागले विदेशी कामदारलाई नेपालमा काम गर्न श्रम स्वीकृति दिन्छ । अन्यको हकमा भने विदेशी दक्ष श्रमिकलाई काममा लगाउने रोजगारदाताले नेपाली नागरिकलाई दक्ष बनाई विदेशी श्रमिकलाई क्रमशः प्रतिस्थापन गर्नुपर्ने हुन्छ ।
 
Published on: 23 April 2018 | Naya Patrika

Back to list

;