s

कलकत्ताबाट भिजिट भिसामा सिंगापुर पुगेका ९ नेपाली महिला फर्काइए

काठमाडौं : गत पुस २६ गते ९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगे। उनीहरुलाई सिंगापुर अध्यागमन कार्यालयले फिर्ता पठाएको हो।

उनीहरु पुस २३ गते भारतको कलकत्ता हुँदै सिंगापुर गएका थिए। जसमध्ये एक अविवाहित युवतीसँग ओमानको भिसा थियो। उनी मुम्बईको एअरपोर्ट प्रयोग गरेर सिंगापुर पुगेकी थिइन्। अन्य ८ जना भने कलकत्ताबाट सिँधै सिंगापुर पुगेका थिए तर उनीहरुसँग भिसा थिएन। उनीहरु कुवेत जानका लागि भारतको बाटो हुँदै सिंगापुर पुगेका हुन्।

ट्रान्जिटको रुपमा सिंगापुर पुगेका उनीहरुलाई त्यहाँको अध्यागमनले उनीहरुको नीति बमोजिम कागजात नभएको र भ्रमण शंकास्पद देखिएको भन्दै नेपाल फिर्ता पठाएको थियो। हाल उपत्यका अपराध अनुसन्धान कार्यालय उनीहरुको कागजात अनुसन्धान गरिरहेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका सूचना अधिकारी मिलन केसीका अनुसार एअरपोर्टमा अध्यागमनले कडाई गर्नासाथ एजेन्टहरुले भारतीय बाटो प्रयोग गर्न थालेका हुन्। घरेलु कामदारको रुपमा नेपाली महिलाहरुलाई खाडी मुलुक जान सरकारले रोक लगाएको छ। तर महिलाहरु विदेशिने क्रम भने रोकिएको छैन। तेस्रो बाटो प्रयोग गरेर हुन्छ कि, भिजिट भिसा लिएर हुन्छ उनीहरु खाडी गइरहेका छन्।

अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थीका अनुसार सिंगापुरबाट फिर्ता हुनेमा रसुवा, दाङ, मकवानपुर, सिन्धुपाल्चोक धादिङ, झापा, दैलेख लगायतका महिलाहरु छन्। उनीहरुमध्ये ८ जना विवाहित र घरमा बालबच्चा भएका महिलाहरु हुन्। सबैजना सामान्य साक्षर मात्रै छन्।
‘भिजिट भिसा त यहाँबाट जाने बेलासम्म मात्रै हो। ट्रान्जिटमा पुगेपछि उनीहरुले घरेलु कामदारको वर्किङ भिसा देखाएर नै सम्बन्धित देश जाने गर्छन्।’ पन्थीले अन्नपूर्ण पोस्ट्सँग भने,‘घरेलु कामदारको रुपमा नेपाली महिलाहरु ओमान, साउदी, कुवेत, दुबई, कतार लगायतका देशमा जाने गर्छन्।’

पन्थीका अनुसार नेपाली एजेन्टले भारतीय एजेन्टसँग मिलेर नेपाली महिलालाई भारत पुर्‍याउने गरेका छन्। फर्काइएका ९ जनामध्ये केहीले प्रतिव्यक्ति ८० हजारदेखि एक लाख भारतीय रुपैयाँसम्म बुझाएर सिंगापुर पुगेका हुन्। अनुसन्धानका क्रममा केहि महिलाले भने आफू एजेन्टकै खर्चमा कुवेत जान लागेको बयान प्रहरीसमक्ष दिएका छन्।

प्रहरीका अनुसार भारतीय बाटो हुँदै खाडी पुग्ने महिलाहरु अधिकाशं घरेलु हिंसामा पर्ने गरेका छन्। अधिकांश महिला २५ देखि ३५ वर्ष उमेर समूहका छन्। दुबई, मलेसिया र सिंगापुरमा विभिन्न देशका सम्पर्क कार्यालय छन्। विभिन्न कन्सल्टेन्सीको माध्यमबाट त्यहाँ पुगेका महिलाहरु कामको माग अनुसारको देशमा पुग्छन्। गैह्र कानुनी रुपमा विदेश गएकाहरुले तलब नपाउने, कुटपिट तथा यातना पाउने, हिंसामा पर्ने गरेका छन्।

अहिले सबैको हातहातमा मोबाइल हुने र मोबाइलमै पेपर भिसा आउने हुँदा पनि बाटो छलेर विदेश जान सहज भएको डीएसपी पन्थीको दावी छ।प्रहरीका अनुसार अनुसन्धानका क्रममा फिर्ता आएका महिलाहरुले आफूहरु कलकत्तामा ६ महिनासम्म घरेलु काम गरेर बसेको बताएका छन्। उनीहरुलाई एक जना भारतीय एजेन्ट महिलाले सिंगापुर पुर्‍याएका हुन्।

‘नेपाली महिलालाई कलकत्ता पुर्‍याउने एक नेपाली महिला पनि ओमान पुगिसकेको जानकारी प्रहरीले पाएको छ।’ डीएसपी पन्थी भने,‘नेपालको अध्यागमनमा कडाई गर्नासाथ एजेन्टहरुले कलकत्ता र दिल्लीको बाटो प्रयोग गर्न थालेको स्पष्ट देखिन्छ।’

Published on: 22 January 2024 | Annapurna Post

Link

Back to list

;