s

कलिला काँधमा इँटाको भारी

बाँकेका अधिकांश इँटाभट्टामा ८ देखि १५ वर्षसम्मका बालबालिका मजदुरीमा 

ठाकुरसिंह थारू

पढ्ने उमेरका बालबालिका विद्यालय जान छाडेर जोखिमपूर्ण श्रममा होमिएका छन् । नेपालगन्जमा सञ्चालित अधिकांश इँटा उद्योगमा बालबालिकालाई काममा लगाइएको छ । ८ देखि १५ वर्षसम्मका बाल मजदुरमध्ये केही भारतीय छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले बालश्रममुक्त क्षेत्र घोषणाका लागि गरेको अनुगमनमा इँटा उद्योगमा बालमजदुरी देखिएको हो । बिहान ५ देखि साँझ ८ बजेसम्म काम लगाइने बालबालिकालाई मासिक ३ हजारदेखि १० हजार रुपैयाँसम्म पारिश्रमिक दिइने गरेको छ।
 
नेपालगन्ज १३ मा रहेको अमन इँटा उद्योगमा २० बाल मजदुर छन् । तीमध्ये अधिकांश भारतीय हुन् । उनीहरू आमाबुबासँगै आएका हुन् । उदयपुरस्थित इँटा उद्योगमा पनि थुप्रै बाल मजदुर रहेको अनुगमनकर्ताले बताएका छन् । १२ घण्टाभन्दा बढी समय काममा खटाइएकाले बालबालिकाको शारीरिक अवस्था कमजोर रहेको उनीहरुले जनाए। जिल्लाभरि सञ्चालित इँटा उद्योगमा बाल मजदुर छन् ।
 
कानुनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । कामदारका ठेकेदार रहमद अलीले नेपालमा काम खोज्दै आएका भारतीयले उद्योगमा काम गर्दै आएको बताए । उनका अनुसार अभिभावकसँग रहेका बालबालिका पनि उनीहरूसँगै काममा लाग्ने गरेका छन् । बुग्गी चलाउने र इँटा बोक्नेको पारिश्रमिक फरकफरक हुने गरेको अलीको भनाइ छ । महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाहले नेपालगन्ज उपमहानगरले बालश्रमिकको अवस्था अनुगमन गरिरहेको जानकारी दिइन् । उनका अनुसार अनुगमनपछि बालबालिकाको उद्धार गरिनेछ । ‘नेपाली बालबालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाउँछौं । भारतीय बालबालिका छन् भने त्यहाँका सरकारी अधिकारीलाई बुझाउँछौं,’ उनले भनिन्, ‘अभिभावक नभएका बालबालिकालाई बालगृहमा राख्ने व्यवस्था मिलाउँछौं ।’
 
नेपालगन्ज–१३ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले जनशक्ति अभाव भएकाले उद्योग सञ्चालकले बालबालिकालाई प्रयोग गरेको बताए । बढीजसो आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका उद्योग ल्याइन्छन् । ‘बाल मजदुरको प्रयोग बढी नै भइरहेकाले न्यूनीकरण गर्न लागेका छौं,’ उनले भने ।
 
Published on: 28 February 2018 | Kantipur

Back to list

;