s

कलिला बालिकामाथि मानव तस्करहरूको नजर

 आकाश क्षेत्री

 

घटना–१ : १५ वर्षीया शान्ति (नाम परिवर्तन) २६ साउन ०७७ राति १० बजे पश्चिम नवलपरासीस्थित बेलाटारी नाकामा भेटिइन् । शान्तिलाई सीमापार गराउन खोज्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय बेलाटारीले पक्राउ गर्‍यो । प्रहरीले काउन्सिलिङका लागि माइती नेपालमा आबद्ध उद्धारकर्मीलाई बोलाएपछि थाहा भयो शान्ति तस्करको जालोमा फसेकी रहिछन् । पूर्वी नवलपरासी घर भएकी शान्तिका बाबु वैदेशिक रोजगारीमा छन् । आमा घरकै काममा व्यस्त ।

नाचगानमा साह्रै रुचि भएका कारण उनी नृत्य सिक्न बुटवल गइन् । यही मौकाको फाइदा उठाएर भारतीय तस्करले शान्तिलाई बुटवलबाट उत्तर प्रदेश पुर्‍याए । त्यहाँ उनलाई आर्केस्ट्रामा नचाउन थाले । देहव्यापारका लागि करकाप पनि गर्न थाले । साह्रै भएपछि शान्तिले आफूलाई घर फर्काउन भनिन् । तस्करहरूले उनीबाट सजिलै काम लिन एउटा योजना बनाए । योजनाअनुसार उनलाई नवलपरासी ल्याइयो र घर नभेटिएको भन्दै फेरि भारततिरै पुर्‍याउन खोजियो । यहीक्रममा बेलाटारी नाकाबाट तस्करलाई प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानपछि प्रहरीले भारतीय नागरिक र ती तस्करलाई सहयोग गर्ने नेपाली नागरिकलाई मानव बेचबिखचको मुद्दा चलाएको छ । उक्त मुद्दा अहिले परासी जिल्ला अदालतमा चलिरहेको छ ।

घटना–२ : १६ वर्षीया सुशीला (नाम परिवर्तन) लकडाउनपछि काम खोजिरहेकी थिइन् । तर, काम भेटिएको थिएन । त्यही समय उनको फेसबुकमा एउटा म्यासेज आयो । म्यासेज सुशीलाले चिनेजानेकै एक नातेदार महिलाको थियो । काठमाडौंमा बस्ने ती महिलाले सुशीलालाई राम्रो कमाइ हुने काम भेट्टाएको बताइन् ।

केही समयपछि सुशीलालाई ती महिलाले कोटेश्वरको दिपलक्ष्मी गेस्ट हाउसमा बोलाइन् । गेस्ट हाउस सञ्चालक दिप श्रेष्ठ भेटिए । सुरुमा सुशीलालाई वेटरको काम गर्नेगरी त्यहाँ राखियो । सञ्चालकले बिस्तारै उनलाई ग्राहकसँगै बसेर खाना खाने र धेरै बिल उठाउने काममा लगाउन थाले । पछि गेस्ट हाउस सञ्चालक श्रेष्ठले सुशीलालाई ग्राहकसँग शारीरिक सम्पर्क राख्नसमेत दबाब दिन थाले । अचाक्ली भएपछि सुशीला मानव बेचबिखन अनुसन्धान ब्युरो पुगिन् र गेस्ट हाउस सञ्चालकविरुद्ध जाहेरी दिइन् । २२ चैत ०७७ मा ब्युरोले दिपलक्ष्मी गेस्ट हाउसमा छापा मार्‍यो र श्रेष्ठलाई पक्राउ गर्‍यो । ग्राहकसँग दुई हजारदेखि ३५ सयसम्म लिएर विभिन्न ठाउँबाट ल्याइएका बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा श्रेष्ठ संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

घटना–३ : १५ वर्षीया रेश्मा (नाम परिवर्तन) अभिनयमा विशेष रुचि राख्छिन् । त्यहीकारण उनीमाथि मानव तस्करको नजर पर्‍यो । ०७७ चैतमा रेश्मालाई मुम्बईको कुर्ला रेल्वे स्टेसनबाट भारतीय रेल्वे प्रोटेक्सन फोर्स (आरपिएफ) र माइती नेपालको टोलीले उद्धार गर्‍यो । उनी टिकटक (मोबाइल एप)मा सक्रिय थिइन् । उनका लागि टिकटक आफ्नो कला देखाउने माध्यम थियो । तर, यहाँ गलत मनसाय बोकेका मान्छे पनि हुन्छन् भन्ने रेश्माले बुझिनन् । किनकि उनी अबोध बालिका थिइन् ।

एकदिन रेश्मालाई अपरिचित व्यक्तिले इन्टरनेटबाटै सम्पर्क गरे । टिकटकमा देखिएको उनको कलाबारे खुलेर प्रशंसा गरे । पछि ती व्यक्तिले रेश्मालाई बलिउडमा काम लगाइदिने लोभसमेत देखाए । त्यसैले इन्टरनेटमा भेटिएको अपरिचित व्यक्तिले दिएको प्रलोभनमा परिहालिन् । अन्ततः ती व्यक्तिले रेश्मालाई मुम्बई पुर्‍याए । तर, उनलाई रेल्वे स्टेसनबाट उद्धार गरियो । उद्धारमा संलग्न माइती नेपालको निष्कर्ष छ, ‘रेश्मालाई बेच्नकै लागि रेल्वे स्टेसनमा राखिएको थियो, किन्ने मान्छे नआउँदै उद्धार गरियो ।’ उनलाई ३ साउन ०७८ मा नेपाल ल्याएर परिवारको जिम्मा लगाइयो ।

घटना–४ : १४ वर्षीया सीता (नाम परिवर्तन) बाँकेको जमुनाहा नाकामा भेटिइन् । ११ चैत ०७७ मा जाजरकोटकी यी बालिका एक महिलासँग भारत जाँदै थिइन् । सीमानाकामा खटिएका सुरक्षाकर्मी र माइती नेपालका कर्मचारीले सोधपुछ गर्दा सीता हडबडाउन थालिन् । सोधपुछ तीव्र पारिएपछि उनले सबै कुरा खोलिन् ।

३० वर्षकी एक महिलासँग सीताको भेट एक विवाहमा भएको थियो । ती महिलाले पहिलो भेटमै सीताका लागि भारतमा राम्रो श्रीमान् खोजिदिने बताइन् । कुरा हुँदै जाँदा ती महिलाले भारतमा विवाह गरिदिने र सुरुमै एक लाख दिने भनेपछि सीता भारत जान राजी भइन् । जाजरकोटबाट कसैलाई थाहै नदिएर ती महिलाले सीतालाई नेपालगन्जसम्म ल्याइन् । आमा र दाइसँग कुरा गर्छु भन्दा पनि गर्न दिइनन् । सीमानाकामा आफूहरूलाई आमाछोरी बताउन उनले दबाब दिएकी थिइन् । तर, सोधपुछपछि सबै रहस्य खुल्यो । जिल्ला प्रहरी कार्यालय बाँकेले ती महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा चलाइसकेको छ । मुद्दा जिल्ला अदालत बाँकेमा विचाराधीन छ ।

०००

माथि उल्लिखित चार प्रतिनिधिमूलक घटना मात्र हुन् । यसले कोरोना महामारीका वेला पनि बालिका तस्करी तथा ओसारपसार नरोकिएको पुष्टि हुन्छ । खासगरी महामारीले आर्थिक समस्यामा परेका किशोरीलाई अनेक प्रलोभनमा वेश्यावृत्तिमा लगाउनेदेखि विदेश लगेर बिक्री गर्नेसम्मका घटना हुने देखिएको प्रहरी तथा संघसंस्थाले जनाएका छन् ।

इन्टरनेट र सामाजिक सञ्जालले  तस्करीको दायरा बढायो : विश्व खड्का, कार्यकारी निर्देशक, माइती नेपाल

तस्करहरूका लागि यो विनालगानी शतप्रतिशत मुनाफा कमाउने व्यवसाय भयो । देहव्यापारमा स–साना बालिकाको खोजी धेरै भएको भेटिएको छ । इन्टरनेट र सामाजिक सञ्जालका कारण यसको दायरा व्यापक भएको देखिन्छ । देशभित्रै बसेका नेपालीले फकाउने काम गरेका छन् । त्यसैले यो सञ्जाल बढेर विश्वव्यापी भएको छ । यहीकारण भारतमा बसेर पनि मानिसहरूले नेपाली बालिका तस्करीमा लगाएका हुन् ।

लकडाउनमा विगतमा भन्दा यस्ता घटना बढेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि ०७६ चैतदेखि देशव्यापी लकडाउन भयो । लकडाउनमा सबै ठप्प भए, तर मानव ओसारपसारमा संलग्नलाई लकडाउनले पनि रोक्न सकेन । मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी अनुरागकुमार द्विवेदी महामारीमा बालबालिका बेचबिखन झनै बढेको बताउँछन् । उनका अनुसार यसको मुख्य कारण खुला सीमा र गरिबी हो । ‘लकडाउन भएर के गर्नु यो वेला मानिसका समस्या झन् बढेका छन्, त्यसैले मानिसहरू भारत गएर तस्कारको जालोमा फस्ने गरेको देखिन्छ’, एसपी द्विवेदी भन्छन्, ‘खुला सीमा भएकाले पनि मानव बेचबिखन नरोकिएको हो । यसमा गरिबी पनि कारण देखिन्छ ।’

सीमापार पुर्‍याइएका बालिकाको तथ्यांक आउन बाँकी

कोरोना महामारीमा बालबालिका बेचबिखन तथा ओसारपसारको यकिन तथ्यांक आउन अझै समय लाग्ने माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्का बताउँछन् । उनका अनुसार अहिले देशभित्रैको तथ्यांक आए पनि सीमापार पुर्‍याइएका बालिकाको तथ्यांक अझै आउन बाँकी छ । ‘पछिल्लो समय कोभिडका कारणले भएको काम पनि बन्द भयो, भएको आम्दानी पनि बन्द भयो, त्यसैले बाँच्नका लागि अवसर खोज्ने क्रममा उनीहरू तस्करहरूको फन्दामा पर्ने गरेको देखिन्छ,’ खड्का भन्छन्, ‘अझै कोभिडको असर देखिएको छैन । यसको असर देखिन अझै एक डेढ वर्ष लाग्छ । हामीले एकाध घटना देखेका हौँ । खुला सीमा छ, कहाँबाट कति गए भन्ने पछि थाहा हुन्छ ।’

कोभिडपछि रोजगारी गुमाएका महिलाले जसलाई पनि विश्वास गर्नुपर्ने बाध्यता आइपरेकाले उनीहरू बेचबिखनमा परिरहेको राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल बताउँछन् । ‘परिवारका सदस्यहरू र आफ्नै पनि औपचारिक रोजगारी गुमेपछि महिला तथा बालिका कामको खोजीमा भौँतारिए, रोजगारी गुमिसकेका कारण उनीहरूले जसलाई पनि विश्वास गर्नुपर्ने अवस्था आयो । यही मौकाको फाइदा उठाएर तस्करहरूले प्रलोभन देखाएर फसाए,’ उनले भने । महामारीका वेला तस्करले अनलाइनबाटै फसाउने गरेको धरेल बताउँछन् ।

बालिका तस्करीका विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भने न्यूनीकरणका लागि कुनै ठोस काम गरेको छैन । मन्त्रालयअन्तर्गतको मानव बेचबिखन नियन्त्रण शाखा र महिला सशक्तीकरण महाशाखा रहे पनि महामारीमा भइरहेको तस्करीका विषयमा मन्त्रालय निष्क्रिय नै देखिन्छ । मन्त्रालयका प्रवक्ता उमेश ढुंगाना भने आफूहरूको काम समन्वयात्मक मात्र हुने बताउँछन् । उनी भन्छन्, ‘यो मन्त्रालयले मानव तस्करी नै रोक्न सक्दैन, हामीले समन्वय मात्र गर्ने हो, हामीले कोरोनाका वेला पनि समन्वयात्मक काम गरिरहेका छौँ ।’

बालिकालाई मनोरञ्जनका वस्तुका रूपमा लिइएको छ : भारती सिलवाल गिरी, अनुसन्धानकर्ता 

यसको प्रमुख कारण लैंगिक असमानता हो । महिला र बालिकाप्रति देखिने भेदभावले नै कोभिड महामारीमा पनि उनीहरू बेचिन रोकिएका छैनन् । जसले महिला र बालिकालाई वस्तुकरण गरेको छ । उनीहरूलाई मान्छेको रूपमा नहेरेर एउटा मनोरञ्जनको वस्तुका रूपमा हेरिएको छ । मुख्य फ्याक्टर गरिबी नै हो । यो सामान्य अवस्थामा भइरहेको छ, झन् यस्तो क्राइसिसको वेला त यो बढ्दै जान्छ ।

महामारीमा रोकिएन मानव तस्करी

महामारीमा पनि मानव तस्करी नरोकिएको तथ्यांक प्रहरीसँग छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकअनुसार ०७७/७८ मा मानव बेचबिखन तथा ओसारपसारका एक सय ८७ पीडित प्रहरीसामु आएका छन् । जसमा चार पुरुष र एक सय ८३ महिला छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या धेरै हो । ०७६/७७ मा एक सय ३३ पीडित प्रहरीसामु आएका थिए ।

महामारीमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको संख्यामा पनि धेरै अन्तर छैन । ०७७/७८ मा यससम्बन्धी एक सय ३४ वटा मुद्दा दर्ता भएका छन् । ०७६/७७ मा एक सय ३६ र ०७५/७६ मा दुई सय ५८ मुद्दा दर्ता भएका थिए । कोरोना महामारी सुरु भएयता लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ३० जना पीडित भेटिएका छन् ।

त्यसपछि प्रदेश–१ मा ३८, सुदूरपश्चिममा ३५ र २४ जना पीडितले सीधै ब्युरोमा सम्पर्क गरेका थिए । प्रदेश–२ मा १५, गण्डकीमा नौ, बागमतीमा आठ, कर्णालीमा चार र उपत्यकामा १४ जना पीडित भेटिएका हुन् । 

वर्षेनी बढ्दो छ बालिका उद्धार हुनेको संख्या

पछिल्लो एक वर्षको अवधि अर्थात् आर्थिक वर्ष ०७७/७८ मा बेचबिखन तथा ओसारपसारमा परेका एक सय सातजनालाई स्वदेश तथा विदेशबाट उद्धार गरियो । जसमा ७९ जना बालिका थिए । ब्युरोका अनुसार उद्धार गरेका ८० बालबालिकामध्ये एकजना मात्र बालक छन् ।

कोरोना महामारी सुरु भएसँगै मुलुकभित्रबाट उद्धार हुने बालिकाको संख्या भने बढेको देखिन्छ । प्रहरी तथ्यांकअनुसार ०७७/७८ मा देशैभरबाट ३९ बालिकाको उद्धार गरिएको छ । अघिल्लो आव ०७६/७७ मा भने उद्धार गरिएका बालिकाको संख्या २९ थियो । ०७५/७६ मा देशभित्रबाट २८ बालिकालाई मानव तस्करको पञ्जाबाट उम्काइएको थियो । महामारी सुरु भएपछि नेपाल प्रहरीसँगै माइती नेपाललगायतका संघसंस्थाको संलग्नतामा विभिन्न जिल्लाबाट बालबालिकाको उद्धार गरिएको ब्युरोका एसपी द्विवेदी बताउँछन् ।

ब्युरोको तथ्यांकअनुसार ०७७ साउनमा चितवन, पश्चिम नवपरासी र कैलालीबाट चार बालिकाको उद्धार गरिएको हो । भदौमा सर्लाही, सप्तरी र कैलालीबाट तीन बालिकाको उद्धार गरियो ।

असोजमा मोरङ, सुनसरी, सप्तरी, चितवन, बाँके, दाङ, नवलपरासी र कञ्चनपुरबाट १०, सप्तरीबाट एकजना, मंसिरमा झापा, मोरङ, बैतडी र कैलालीबाट पाँचजना, पुसमा बाँकेबाट दुईजना, माघमा मोरङबाट दुईजना, फागुनमा सिरहा, रूपन्देही, कैलाली, झापाबाट ६ जना, चैतमा सुनसरी र कपिलवस्तुबाट तीनजना उद्धार गरिएको थियो । वैशाखमा जुम्ला र बाग्लुङबाट दुई । असारमा बाँकेबाट एक बालिका उद्धार गरिएको प्रहरीको तथ्यांकमा देखिन्छ ।

Published on: 8 August 2021 | Nayapatrika

Link

Back to list

;