s

कालीगण्डकी करिडोरका ११ सय मजदुर अलपत्र

रामकुमार श्रेष्ठ

कोरोना भाइरसको त्रास र जोखिमको बेला सरकारले जारी गरेको लकडाउनमा परी पूर्वी नवलपरासीस्थित निर्माणाधिन कालीगण्डकी करिडोरमा कार्यरत ११ सय मजदुर ६ दिनदेखि अलपत्र परेका छन् । बुलिंटार गाउँपालिका वडा नम्बर ६ को गौडामा कार्यरत सल्यानका मजदुर सन्तोष राउतले आफुसहित १५० मजदुर अलपत्र परेको जानकारी दिए । २ महिनादेखि काम गर्दै आएको र हाल अलपत्र परेको उनले बताए । उनले २ महिनादेखि तलब समेत नपाएको सुनाए । उनको टोली ४० नम्बर खण्डमा कार्यरत छ । त्यहाँ कामदारलाई हरेक एक किलोमिटरभित्र दुरीकालाई एउटा नम्बर दिने चलन छ । 

आफूहरु जस्तै सल्यान, प्यूठान, रोल्पा, रुकुम, जाजरकोट, भोजपुर, दैलेख, इलाम र संखुवासभाका मजदुर अलपत्र परेको उनले जानकारी दिए । त्यस खण्डका कल्सल्टेन्ट इन्जिनियर रोहित भट्टराइले धेरै कामदार अलपत्र परेको बताए । शनिवार एक सय ४८ मजदुरलाई पठाइएको र अन्यलाई ठेकेदारले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर पठाउने प्रयास भइरहेको जानकारी बताए । 

नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मजदुरहरु अलपत्र परेको र खानपिनसमेत अभाव हुन लागेको जानकारी पाएको र उद्दारको काम थालिएको टेलिफोनमार्फत जानकारी दिए । ठेकेदार कम्पनीले उनीहरुलाई कम्तिमा पनि घरसम्म पुग्न र खानाबापत लाग्ने रकम दिन आदेश दिएको बताए । उनीहरुलाई केहि रकम बुझाउनासाथ गाडी पठाउने र सडक खुलाउने जानकारी दिए । उनीहरुलाई त्यहाँ बसुन्जेल पनि ठेकेदारले नै खानबस्न ब्यवस्था गर्न आग्रह गरिएको घिमिरेले बताए । ‘सकेसम्म आजसम्मको भुक्तानी पुरै दिनु भनेको छु,’ उनले भने, ‘यदी त्यसमा समस्या छ भने उनीहरुलाई घरसम्म पुग्ने पैसा दिनुपर्छ ।’ 

कालिगण्डकी करिडोरको गैंडाकोट डेढगाउँ खण्ड (पूर्वी नवलपरासीमा पर्ने) मा ७५ किलोमिटर लम्बाइ पर्छ । सडक खण्डको ठेक्का पाएको भारतीय इकेके इन्फ्रा स्ट्रक्चार लिमिटेडले नेपाली धेरै पेटि ठेकेदारलाई फरक-फरक खण्डमा काममा लगाएको हो ।

Published on: 29 March 2020 | Nayapatrika

 

Link

Back to list

;