s

काखबाटै चोरेर विदेश

आकाश क्षेत्री

धर्म–सन्तानका नाममा अमेरिका र युरोपमा बालबालिका तस्करी

काठमाडौं : सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए। खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसीसाथ पठाइदिए।

घटना १० वर्षअघिको हो। उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो। बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन। उल्टै ज्यानको धम्की आउन थाल्यो। बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए। आयोगले ती बालकको खोजी गर्‍यो। पत्ता लाग्यो– नेपालबाट हराएका ती बालक इटाली पुर्‍याइएका रहेछन्।

घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पुर्‍याइएको पाइयो। सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो।’

घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो। आयोगको निर्णयमा भनिएको छ, ‘ती बालकलाई बाल संगठन नक्सालमार्फत धर्मपुत्रका रूपमा पठाएको भन्ने देखिँदा धर्मपुत्रसम्बन्धी कानुनी व्यवस्था, नीतिसमेत आवश्यक संशोधन गर्न, जनचेतना र सचेतना वृद्धि गर्न÷गराउन र आफ्ना बालबालिकाको संरक्षण गर्ने दायित्व अभिभावक बाबुआमा स्वयंको हुने भएकाले त्यसतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न÷गराउन सरकारलाई नीतिगत सिफारिस गर्ने।’

विदेश पुर्‍याउन चोर बाटो

सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र÷पुत्री बनाएर विदेश पुर्‍याइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ। तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ (एचसीसीएच) लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ।

अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको प्रस्टै छ।

नेपालबाट बालबालिका सजिलै धर्म सन्तानका रूपमा लैजान सकिन्न। नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने सर्त तथा प्रक्रिया–२०६५ ले रोजेर धर्म सन्तान ग्रहण गर्न नपाइने व्यवस्था छ। त्यसैगरी धर्मसन्तान ग्रहण गर्न चाहने विदेशी नागरिकले सूचीकृत विदेशी संस्था र एजेन्सी वा नेपालस्थित आफ्नो देशको दूतावासमा निवेदन दिनुपर्ने हुन्छ। त्यसो नभए नेपालका निम्ति तोकिएको दूतावासमार्फत धर्म सन्तान ग्रहण गर्न चाहने बालबालिकाको उमेर, लिंग र अन्य विवरण खुलाई तोकेबमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्ने हुन्छ।

निवेदकले पेस गरेको विवरणअनुसार बालबालिका छनोट गर्ने जिम्मा सहसचिव नेतृत्वको ‘परिवार छनोट समिति’ को हुने व्यवस्था सर्त र प्रक्रियाको दफा १४ मा उल्लेख छ। सर्त र प्रक्रियाको दफा १४ (३) अनुसार प्राप्त निवेदकको विवरणका आधारमा पहिला निवेदन दिने र परिवार छनोट समितिमा पहिला दर्ता भएको निवेदनलाई पहिलो प्राथमिकतामा राखेर बालबालिका छनोट गर्नुपर्ने व्यवस्था छ। जब कि एचसीसीएचको वेबपेजबाट प्राप्त विवरणले ठूलो संख्यामा यो प्रक्रिया छलेर बालबालिका विदेश पुगेको देखिन्छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार नेपाल सरकारले हाल १८ देशमा धर्मपुत्र–धर्मपुत्री लैजान अनुमति दिने गरेको छ। तर, अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र एचसीसीएचमा ९ देशको मात्रै विवरण फेला पारेपछि तुलनात्मक अध्ययन १० देशमा सीमित छ। बाँकीको अवस्था भने अज्ञात छ।

नमिल्दो विवरण

अब नेपाल सरकारले धर्म–सन्तान लैजान दिएको विवरण र सम्बन्धित देशले एचसीसीएचमा आफ्नो देशमा नेपालबाट ल्याइएका धर्म–सन्तानबारे दिएको विवरण तुलना गरौं।डेनमार्कले एचसीसीएचलाई बुझाएको सूचीअनुसार यो अवधिमा नेपालबाट धर्म सन्तानका रूपमा २० बालबालिका त्यहाँ लगिएको देखिन्छ। जब कि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार नेपालबाट पछिल्लो ९ वर्षमा दुई बालबालिका मात्रै डेनमार्क लैजान अनुमति दिइएको छ। १८ बालबालिका कसरी डेनमार्क पुगे चासोको विषय छ।

फ्रान्सको उदाहरण पनि त्यस्तै छ। फ्रान्सले सन् २०१० यता २१ नेपाली बालबालिका धर्म सन्तानका रूपमा आफ्नो मुलुकमा रहेको सूची एचसीसीएचलाई बुझाएको छ। तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार यस अवधिमा नेपालबाट एक बालिका मात्रै त्यहाँ लगेको देखिन्छ। २० बालबालिका कसरी फ्रान्स पुगे कसैले भन्न सक्दैन।

धर्म सन्तानका रूपमा अमेरिकामा भएका नेपाली बालबालिकाको विवरण अझ झस्काउने खालको छ। पछिल्लो ९ वर्षमा १०२ नेपाली बालबालिका धर्म सन्तानका रूपमा आफ्नो मुलुकमा रहेको विवरण स्टेट डिपार्टमेन्टको अभिलेखमा देखिन्छ। यस अवधिमा नेपालबाट ११ बालबालिका मात्रै धर्मपुत्र–धर्मपुत्रीका रूपमा अमेरिका गएको सूची मन्त्रालयसँग छ। ९१ बालबालिका कसरी अमेरिका पुगे थप अनुसन्धानको विषय छ।

अमेरिकाको विदेश मामिला हेर्ने ‘स्टेट डिपार्टमेन्ट’ को ‘ब्युरो अफ कन्सुलर अफेयर्स’ का अनुसार अमेरिकी संघीय कानुनअनुसार, धर्मपुत्र–धर्मपुत्री राख्न अमेरिकी नागरिक हुनुपर्ने, अविवाहित भए कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने, विवाहित भए पतिपत्नी दुवैको सहमति चाहिने, आपराधिक पृष्ठभूमिको हुनु नहुने र अरू देशबाट धर्मपुत्र–धर्मपुत्री ग्रहण गर्दा ‘सम्बन्धित देशको मापदण्ड पूरा गरेको हुनुपर्ने’ व्यवस्था छ। तर सरकारी अभिलेखअनुसार स्वीकृतिबिनै यी ९१ बालबालिका अमेरिका लगेको देखिँदा यसमा नेपालको कानुनी प्रक्रिया पूरा नगरेको स्पष्ट हुन्छ।

एचसीसीएचलाई नर्वेले दिएको जानकारीअनुसार सन् २०१० यता धर्म–सन्तानका रूपमा १० बालबालिका नर्वे पुगेका छन्। तर नेपाल सरकारको अभिलेखअनुसार नेपालबाट कानुनी प्रक्रिया पूरा गरेर सो अवधिमा तीन बालबालिका मात्रै त्यहाँ लगिएको छ।

क्यानडाले नेपालबाट पाँच बालबालिका धर्म–सन्तानका रूपमा आफ्नो मुलुकमा आएको सूची एचसीसीएचलाई बुझाएको छ। तर मन्त्रालयसँग रहेको सूचीमा त्यो अवधिमा दुई बालबालिका मात्रै क्यानडा लगिएको छ।

स्विट्जरल्यान्डले नेपालबाट तीन बालबालिका आएको सूची एचसीसीएचलाई बुझाएको छ। नेपालबाट एक जना मात्रै बालिका लगिएको विवरणबाट देखिन्छ।

यसैगरी बेल्जियमले १२ नेपाली बालबालिका धर्म सन्तान बनाएर लगेको विवरण एचसीसीएचलाई बुझाएको छ। जब कि नेपालको विवरणमा चार बालबालिका मात्रै त्यहाँ गएका छन्।

इटालीले एचसीसीएचलाई दिएको विवरणअनुसार सन् २०१० मा मात्रै ५९ बालबालिका धर्म सन्तानका रूपमा इटाली पुगेको देखिन्छ। नेपाल सरकारको विवरणमा भने ३५ बालबालिका मात्रै धर्म सन्तानका रूपमा इटाली गएको देखिन्छ। सन् २०१० पछिको विवरण प्राप्त हुन सकेन।

स्विडेनले पनि ८ नेपाली बालबालिका आफ्नो देशमा रहेको विवरण एचसीसीएचलाई दिएको छ। नेपाल सरकारको विवरणमा भने एक जना मात्रै स्विडेन गएको देखिन्छ।

जर्मनीले एचसीसीएचलाई बुझाएको विवरणमा भने नेपालको अभिलेखभन्दा कम देखिएको छ। सन् २०११ मा जर्मनीमा दुई जना धर्म सन्तान लगिएको एचसीसीएचको विवरणबाट देखिन्छ। तर नेपालबाट चार बालिका धर्म सन्तानका रूपमा त्यहाँ पुगेको मन्त्रालयको विवरण छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भने, ‘मन्त्रालयको विवरणमा देखिएको तथ्यांक नै नेपालको आधिकारिक तथ्यांक हो। विदेशी विवरणमा कसरी बढी देखियो मन्त्रालयलाई जानकारी छैन।’

राष्ट्रिय मानवअधिकार आयोगकी उपनिर्देशक खतिवडा बालबालिका तस्करी भएर विदेश पुगेका कारण तथ्यांक फरक देखिएको बताउँछिन्। उनी भन्छिन्, ‘तस्करहरूले फर्जी कागजात बनाएर, सरकारी कर्मचारी र अभिभावकलाई समेत विभिन्न प्रलोभनमा पारेर नेपाली बालबालिका विदेश पुर्‍याइरहेका छन्।’

संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि अनुकूल हुने गरी नेपालले पनि मुलुकी देवानी संहिता ऐन २०७४ को पारिवारिक कानुनअन्तर्गतको परिच्छेद ८ मा धर्म सन्तानसम्बन्धी र परिच्छेद ९ मा अन्तरदेशीय धर्म सन्तानसम्बन्धी व्यवस्था छ।

यसका साथै बालबालिकासम्बन्धी राष्ट्रिय नीति २०६९, आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९, नेपाली बालबालिका विदेशी नागरिकलाई धर्म सन्तान ग्रहण गर्न दिने सम्बन्धी सर्त तथा प्रक्रिया २०६५ र अन्तरदेशीय धर्म सन्तान व्यवस्थापन विकास समिति गठन आदेश २०६७ मा बालबालिकालाई धर्म सन्तानका रूपमा दिने लिने सम्बन्धी व्यवस्था छन्। यी सबै व्यवस्थाको सार सरकारले तोकेको मापदण्ड र प्रक्रिया पूरा गरेर मात्रै कसैलाई पनि धर्म–सन्तानका रूपमा विदेशमा लैजान पाइन्छ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ अनुसार आमाबुवा नभएका वा भएर पनि हेरचाह गर्न शारीरिक वा मानसिक अवस्थामा नरहेका बालबालिकाको हेरचाह सकेसम्म उनीहरूकै नातेदारले गर्नुपर्ने र नसके राज्यले सघाउनुपर्ने व्यवस्था छ। अनाथ बालबालिकाको हकमा पनि सकेसम्म नातेदार परिवारमा राख्ने र त्यो सम्भव नभए नातेदार नपर्ने परिवारमा उनीहरूलाई राख्ने, त्यो पनि सम्भव नभए देशभित्रै धर्म सन्तान दिने र त्यसको विकल्पमा मात्रै विदेशमा धर्म सन्तानक्ँ रूपमा पठाउन पाउने व्यवस्था छ।

यी व्यवस्थाअनुसार सरकारको जानकारीबेगर कुनै पनि बालबालिका धर्म सन्तानका रूपमा विदेश जान सम्भव छैन। तर विभिन्न देशले एचसीसीएचमा बुझाएको विवरण र सरकारको अभिलेखले सरकारको जानकारी विना ठूलो संख्यामा नेपाली बालबालिका धर्म सन्तानका रूपमा विदेश पुगेका छन् भन्ने देखिन्छ। बालबालिकालाई धर्म सन्तानका नाममा कसरी विदेश लगिन्छ त ?

नरेश बने चानोराङ किम

मजदुरी गरेर जीवन निर्वाह गर्ने घर्ती दम्पतीका कान्छा सन्तान थिए दुई वर्षका नरेश। पुख्र्यौली घर रुकुमपूर्व भए पनि परिवार पोखरामा मजदुरी गथ्र्यो। दुई जनाको मजदुरीबाट भएको आर्थिक उपार्जनले पाँच जनाको परिवार चल्थ्यो। तीन सन्तान हुर्काउन घर्ती दम्पतीलाई हम्मेहम्मे थियो।

२०७५ तिरको कुरा हो। आर्थिक संकटमा गुज्रिरहेको यो परिवारको सम्पर्कमा आइन्, नारा किम (राहदानी नम्बर एम २९८१९८३५)। दक्षिण कोरियाली यी महिला पर्यटक भिसामा नेपाल आएकी थिइन्। पटकपटक नेपाल आइसकेकी किमले पोखरा घुम्ने क्रममा घर्ती परिवारलाई भेट्टाएकी थिइन्।

किम र घर्ती परिवारबीच निकटता बढ्यो। उनी फेरि अर्कोपटक नेपाल आइन्। उनले घर्ती परिवारलाई आर्थिक सहयोग गरिन्। अनि घर्ती दम्पतीको कान्छो सन्तान नरेशलाई आफ्नो देश लैजान चाहिन्। घर्ती दम्पतीले पनि सानो छोरा नरेशलाई किमसँग पठाउन मन गरे।

त्यसपछि सुरु भयो नेपालको कानुन छल्ने अनेक तिकडम। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नरेशलाई आफैंले जन्माएको प्रमाणित गर्ने कागजपत्र बनाउनतिर लागिन् किम। पोखरा महानगरपालिकाबाट किम र नरेश आमाछोरा भएको नाता प्रमाणित गर्ने सिफारिस निकालियो। नरेशलाई कोरियाली महिलाले नै जन्माएको भनेर पोखराको हरिचोकस्थित एउटा अस्पतालबाट ‘जन्म प्रमाणपत्र’ बनाएर किम काठमाडौं लागिन्।

रविभवनस्थित दक्षिण कोरियाली दूतावास पुगिन्। पोखराबाट बनाएर ल्याएका सबै कागजपत्र पेस गरिन्। कागजात हेरेर कोरियाली दूतावासले नरेशलाई किमले नै जन्माएको राहदानी उपलब्ध गरायो। राहदानीमा नरेशको नाम थियो– चानोराङ किम र राहदानी नम्बर एम ७२५०४५६८।

नरेशको कोरिया यात्राका लागि चाहिने लगभग सबै काम सकियो। नरेशको भिसा लागनउ किम कालिकास्थानस्थित अध्यागमन विभाग पुगिन्। अध्यागमनले नरेश किमकै सन्तान हुन् भनेर पत्याएन। छानबिन सुरु भयो। छानबिन टोली पोखरासम्मै पुग्यो।

पोखरा पुगेपछि खुल्यो, नरेश किमका सन्तान थिएनन्। छानबिन टोलीले किमको नेपाल प्रवेश मिति र बच्चा जन्माएको मितिका बीचमा मेल नखाने थुप्रै विवरण फेला पार्‍यो। १८ वैशाख २०७६ मा किम पक्राउ परिन्।

प्रहरी अनुसन्धानबाट घर्ती दम्पतीलाई ललाई–फकाई उनीहरूको कान्छो सन्तान विदेश लैजान खोजेको रहस्य खुल्यो। अदालतमा मुद्दा पर्‍यो। २३ जेठ २०७६ मा किमलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।

संरक्षकको आवरणमा तस्करी

नेपालमा सञ्चालनमा रहेका बालगृह र धर्म सन्तान लिने विदेशी नागरिकबीच स्वार्थपूर्ण संलग्नता देखिएको राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०७६ मा उल्लेख छ। प्रतिवेदनअनुसार नेपालमा सञ्ंचालित ५३३ बालगृहमा १४ हजार ८६४ बालबालिका छन् र तीमध्ये ८० प्रतिशत बालबालिकाका एक वा दुवै अभिभावक छन्।

बेसहारा बालबालिकाका लागि सरकारी स्तरबाट सञ्चालित एक मात्र आ श्रयस्थल हो– बालमन्दिर। नेपाल बाल संगठनद्वारा सञ्चालित यस संस्थाले देशभरका अनाथ बालबालिकालाई आ श्रय दिएर हेरचाह, पालनपोषणलगायतका काम गर्छ। बालमन्दिरका निर्देशकको नेतृत्वमा देशभरका शाखा सञ्चालन हुन्छन्।

अनाथ बालबालिकाको संरक्षण गर्ने जिम्मा पाएका तिनै निर्देशकसँग बालबालिका तस्करसँग मिलेमतो पर्दाफास भएको छ। अझ उनकै सक्रियतामा नवजात शिशुलाई गैरकानुनी ढंगबाट विदेश लैजान फर्जी कागजात बनाएको पनि भेटियो।

बालकृष्ण डंगोल बालगृहका निर्देशक हुन्, जो अहिले बालबालिका बेचबिखन तथा ओसारपसार आरोपमा डिल्लीबजार कारागारमा छन्। संरक्षकको आवरणमा बसेका बालबालिका तस्करको मुकुन्डो उत्रिएको कथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन्छ।

२९ साउन २०७६ मा बेलायती महिला डोना स्मिथ (राहदानी नम्बर ५६०७९३४०२) स्वदेश फर्कन त्रिभुवन विमानस्थल पुगिन्। उनका साथमा थिइन्– एक नवजात बालिका। जसलाई स्मिथ आफैंले जन्माएको भनिरहेकी थिइन्। कागजपत्रले पनि त्यही भनिरहेका थिए।

ललितपुरको महालक्ष्मी नगरपालिकाले ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता प्रमाणपत्र दिएको थियो। कागजमा शिशुको जन्म १२ साउन २०७६ र नाम ‘आन्ना बेला लक्ष्मी श्रेष्ठ स्मिथ’ उल्लेख थियो। विमानस्थलस्थित अध्यागमनका कर्मचारीको नजर सुरुमै स्मिथ र शिशुको कपालमा गयो। ११ साउनमा पर्यटक भिसामा नेपाल आएकी स्मिथसँग अध्यागमन कर्मचारीले लामो सोधपुछ गरे।

उनले महालक्ष्मी नगरपालिकाका रामप्रसाद श्रेष्ठको घरमा छोरी शिशु जन्माएको र उनी जन्मिएकै दिन राजधानीको एक अस्पतालमा गएर शिशुसहितको स्वास्थ्य परीक्षण गराएको बताइन्। रामप्रसाद श्रेष्ठ नै शिशुको बाबु भएको स्मिथले दाबी गरेकी थिइन्। नेपालस्थित बेलायती दूतावासले पनि शिशुलाई स्मिथले नै जन्म दिएको भनेर ७९२१५९३१४ नम्बरको राहदानी उपलब्ध गराएको थियो। ललितपुर महालक्ष्मी नगरपालिका–६ ले शिशुको जन्मदर्ता पनि गरेको थियो।

अध्यागमनले स्मिथको स्वास्थ्य परीक्षण गरायो। परीक्षणले स्मिथ शिशुको आमा नभएको पुष्टि भयो। बलात्कार पीडित तराईकी एक किशोरीले थापाथलीस्थित परोपकार प्रसूतिगृहमा ती बालिकालाई जन्म दिएको प्रहरी अनुसन्धानबाट देखियो। अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार कागजपत्र बनाएर बालिका तस्करी गर्ने यो अपराधमा बाल मन्दिरका निर्देशक पनि संलग्न रहेको पाइयो।

स्मिथले नवजात शिशु प्राप्त गर्न डंगोललाई ४ लाख ५० हजार नेपाली रुपैयाँ बुझाएको बयान प्रहरीसमक्ष दिइन्। उनी पक्राउ परेको भोलिपल्टै परिसरले डंगोलसहित उनका अरू सहयोगी पक्राउ गर्‍यो। स्मिथले ती शिशु प्राप्त गर्न २० लाखभन्दा बढी नेपाली रुपैयाँ खर्च गरेको अनुसन्धानबाट खुलेको छ।

उनले बालमन्दिरका निर्देशक डंगोललाई र अरू विभिन्न कागजपत्र बनाउनेलाई पैसा खर्च गरेको डीएसपी बोगटी बताउँछन्। काठमाडौं जिल्ला अदालतले २९ भदौ २०७६ मा स्मिथ र बाल मन्दिरका निर्देशक डंगोललाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

उजुरी पर्दैन/खोजी हुन्न

नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षमा एक हजारभन्दा बढी नेपाली बालबालिका बेचबिखन तथा ओसारपसारबाट पीडित छन्। मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेका डीएसपी राजकुमार सिलवालका अनुसार अभिभावकलाई नै फकाएर तस्करहरूले बालबालिकालाई विदेश पुर्‍याउने गरेका कारण धेरै घटना बाहिर आएका छैनन्।

‘शिक्षित तथा सम्पन्न परिवारका बालबालिका तस्करी हुने होइनन्, तस्करको प्रभावमा पर्ने भनेका गरिब, निमुखा र सडक बालबालिका हुन्। उनीहरू र उनीहरूका अभिभावकलाई फकाउन सजिलो हुन्छ’, डीएसपी सिलवाल भन्छन्, ‘प्रहरीमा उजुरी नपर्ने हुँदा यस्ता बालबालिकाको खोजी हुँदैन। अनि तस्करले जे पनि गर्न सक्ने भए।’

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी शिक्षा बाध्यकारी नबनाई यस्तो तस्करी रोक्न नसकिने बताउँछिन्। ‘समाजमा गरिबी र अशिक्षा मौलाएको छ। अभिभावक नै सन्तान विदेश गएर राम्रो पालनपोषण र शिक्षा पाएको हेर्न चाहन्छन्’, अन्सारी भन्छिन्, ‘हामीले शिक्षालाई बाध्यकारी बनाउनुपर्छ तब मात्र सन्तान अरूसँग पठाउने कुरा अभिभावकले सोच्न पनि सक्दैनन्।’

‘छोराहरूको मुख हेर्ने इच्छा छ’

मञ्जु खड्का, हराएका दुई छोराकी आमा

सिन्धुपाल्चोक कठरीबाट काठमाडौं आएपछि म एउटा घरमा काम गर्थें। तीनवटा छोरा थिए। जेठो रामकुमार ८ वर्षको थियो। माइलो बालकृष्ण ६ वर्षको। म काम गर्ने घरकै साहुले उनीहरूलाई भैरवनाथ स्कुलमा भर्ना गरिदिए।

म काम गर्ने घरछेवैमा सरिता श्रेष्ठ भन्ने महिला बस्थिन्। उनी र उनका पतिले छोराहरूलाई बाल मन्दिरमा राखेर राम्रोसँग पढाइदिन्छौं भने। हामीले खुसी भएर दुवै छोरा पठायौं ।त्यसपछि हामीले पटकपटक छोराहरू भेट्न कोसिस गर्‍यौं, भेट्न पाएनांै। तीन वर्ष बित्यो तर पनि छोराहरूसँग भेट भएन। ‘छोराहरू तपाईं नै राख्नुस् तर मलाई भेट्न त दिनुस्’ भनेर धेरै पटक मैले उनीहरूलाई भनें। उनीहरूले ‘छोराहरू ठूलो भए, अब भाग खान खोजी गरेकी ? ’ भने।

मैले जन्म दिएँ, हुर्काएँ, मैले हजुरहरूलाई बालखमा दिएकी पनि होइन, छोराहरू ठूला बनाएर दिएकी छु मलाई भेट्न मात्र दिनुस् भन्दा ‘भोलि आइज, पर्सि आइज’ भने। छोरा देख्न पाऊँ भनेर जिद्दी गरेपछि उनीहरूले मलाई धम्की दिन थाले। मार्छु, काट्छु पनि भने। अनि चाहिँ मैले अब मेरो छोरो मसँग छैन भन्ने सम्झिएँ।

त्यसपछि मैले कमलपोखरीको प्रहरी कार्यालयमा उजुरी दिएँ। प्रहरीले सोधपुछ गर्दा उनीहरूले उल्टै मलाई आरोप लगाए। कमलपोखरीको सईले मलाई ‘१२ लाख रुपैयाँ पनि खाने, तँलाई छोरा पनि भेट्नुपर्ने’ भन्नुभयो। म छाँगाबाट खसेजस्तै भएँ। अर्काको घरमा काम गरेर, सडकमा बसेर मकै पोलेर बेच्ने मैले कहाँबाट १२ लाख रुपैयाँ खान पाउनु। त्यो पनि छोरा बेचेर।

राम्रोसँग पढाइदेलान् भनेर मैले पानी ल्याउन, भात पकाएर खुवाउन सक्ने भएका छोरा उनीसँग पठाएकी हुँ। उनीहरूले त्यस्तो गरे। मेरो इच्छा भनेको छोरा भेट्न पाए हुन्थ्यो भन्ने छ।अहिले आएर दुइटै छोरा इटालीमा छन् भन्छन्। मलाई थाहा छैन। जेठो छोरा अलिअलि बोल्ने भएको थियो। अहिले केही थाहै छैन। माइलो छोराको त झन् कहिल्यै केही थाहै भएन।

Published on: 20 February 2020 | Annapurna Post

Link

Back to list

;