s

कहिल्यै नसिकिएको पाठ

शुक्रबार दिउँसो माथिल्लो मुस्ताङको सडक विस्तारमा खटिएका २० मजदुरको टिपर दुर्घटनामा परेर मृत्यु भएको छ। उनीहरू खाना खाएर कार्यस्थल फर्कंदै गर्दै टिपर दुर्घटना भएको थियो। अन्य १२ जना घाइते भए । उसै त पछिल्लो समय टिपर ‘नयाँ काल’ का रूपमा परिचय बनाइरहेका बेला मुस्ताङको यो घटनाले यही परिचयलाई स्थापित गर्न थप बल पु-याएको छ।
 
नेपालमा सडक दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको संख्या बर्सेनि वृद्धि हुँदो छ। सडकको खराब अवस्था, सवारीचालक अनुमतिपत्र वितरणमा लापरबाही, ‘डेट एक्सपायर’ साधन, जीर्ण मानसिकता र फितलो तथा प्रभावकारी कार्यान्वयन नभएका नियम/कानुन, दण्डहीनता यसका मुख्य कारण रहँदै आएका छन् । त्यसमाथि पनि टिपर, माइक्रोबस, पानी ओसार्ने ट्यांकर चालकले पछिल्लो समय नेपालका सडकमा मच्चाएका ‘दादागिरी’ पनि सञ्चारमाध्यमले बारम्बार उठाउँदै आएका हुन् । यही परिवेशमा शुक्रबारको दुर्घटनाले फेरि तिनै पाठप्रति घच्घच्याएको छ, जुन हामीले कहिल्यै अनुशरण गरेनौँ।
 
पहिलो प्रश्न त यो हो कि टिपर मानिस ओसारपसार गर्न बनाइएको साधन हो कि होइन?, दोस्रो प्रश्न– आफैं ओहोरदोहोर गरिरहनुपर्ने थोरै दूरीको सडक पनि किन भरपर्दो बनाउन सकिएन अर्थात् यसमा लापरबाही किन गरियो ?, तेस्रो प्रश्न– काम गर्ने स्थान (फिल्ड) बाट खाना खाने ठाउँ नै यति टाढा बनाइनुको कारण के हो र यसको बाध्यता के थियो ? चौथो प्रश्न– टिपरमा ३२ जना चढेको देखिन्छ, के टिपर यति धेरैजना चढ्नका लागि उपयुक्त थियो वा हिँड्नको गाह्रोले तथा काम गर्न चाँडो पुर्याउने हिसाबले जबर्जस्ती चढाइएको थियो ? यी यस्ता प्रश्न हुन् जुन दुर्घटनाको कारण हुन सक्छन् । र, यी यस्ता अविस्मरणीय पाठ पनि हुन सक्छन् जसबाट पछिल्ला समय यस्ता दुर्घटना न्यून गराउन सकिन्छ।
 
‘हिमालपारिको’ उपमा पाएको मुस्ताङ आफैंमा दुर्गम जिल्ला हो । सडकबाट करिब ६० मिटर तल खसेको यो टिपरमा चढेकामध्ये १२ जना जीवितै रहनु ठूलो संयोग मान्नुपर्छ । तर विडम्बना, नजिकै उपचारस्थल नहुनुमात्र हैन, उनीहरूलाई स्वास्थ्य केन्द्रसम्म लैजान सक्ने सवारीसाधनको व्यवस्थासमेत नहुनुले तिनीहरूको हालत पनि कस्तो होला भन्ने थाहा पाउन थप घोत्लिनै पर्दैन । जिल्ला सदरमुकाम जोमसोमबाट करिब ४६ किलोमिटर टाढाको दुर्घटनास्थल आफैंमा अप्ठेरो त छ नै, सँगै लगातार चलिरहने हावाहुरीका कारण पनि घाइते ओसारपसार प्रभावित हुनु स्वाभाविकै हो । एक त धेरै कामदार यसैमा पर्नु अर्कोतिर स्थानीयको उपस्थिति पनि निकै पातलो भएकाले पनि उनीहरूको उपचार प्रभावित हुनु नौलो कुरा भएन । २० किलोमिटर टाढाको प्रहरी चौकी पनि यस्तो आपत्का बेला केही गर्न सक्ने अवस्थामा हुँदैन । जसले गर्दा बाँच्न सक्ने सम्भावना भएकाहरू पनि मृत्यु वरण गर्न बाध्य भएको देखिन्छ।
 
हाम्रो सन्दर्भमा योखाले दुर्घटना न पहिलो हो न त नौलो नै । सडक दुर्घटना त्यस्तो हो जसलाई इच्छाशक्ति भयो र इमानदार पहल गरियो भने निकै हदसम्म घटाउन सकिन्छ। सोझो अर्थमा भन्दा सरकारले यो क्षेत्रमा थोरैमात्र विवेक खर्चने र त्यहीअनुसार काम गर्ने हो भने पनि बर्सेनि सयौं मानिसको ज्यान जोगिन सक्छ । विडम्बना नै भन्नुपर्छ, हाम्रा सरकारहरू यो विवेक त्यतातर्फ खर्चन चाहन्नन् । परिणाम– यस्तै दुर्घटनाले निरन्तरता पाइरहेका छन्। कुनै पनि ठाउँमा बाटो, अस्पताल, विमानस्थल आदि निर्माण कार्य भइरहेको छ भने त्यहाँ ठूलै जनशक्ति चाहिने हुन्छ। यस्तो बेला कुनै दुर्घटना हुन सक्छ भनेर उद्धारटोली खडा गर्नुपर्ने हो। कामदारलाई सुरक्षा कवचहरू पहिरिने व्यवस्था अनिवार्य गर्न सकिन्छ । खाना खाने, आराम गर्ने, प्राथमिक उपचार कक्ष, सफासुग्घर व्यवस्था मिलाउने र सकभर यस्ता क्षेत्र नजिकै राख्न पहल गर्न सकिन्थ्यो। यस्ता सर्त काम ठेक्कामा दिनुअघि नै ठेकेदारलाई गराउने व्यवस्था मिलाउन सकिन्थ्यो। तर यसतर्फ आँखा चिम्लने प्रवृत्तिले दुर्घटनालाई नै साथ दिइरहेको देखिन्छ। त्यसैले अब पनि यस्ता पाठ सिकेर तिनलाई कडाइका साथ लागु नगर्ने हो भने हामी सवारी दुर्घटनामा कमी आउँदैन।
 
Published on: 8 July 2018 | Nagarik

Back to list

;