s

कहाँ होलान् आफन्त ?

बाढीपहिरोको प्रकोपमा तहसनहस बनेको बद्रीनाथ- केदारनाथ क्षेत्रमा मानवीय उद्धारका काम सकिएको उत्तराखण्ड सरकारले घोषणा गरे पनि सयौं नेपाली तीर्थालुको अझै अत्तोपत्तो हुन सकेको छैन । दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कहीन रहेका नेपालीको खोजी तथा उद्धार प्रयासमा तयार गरेको सूचीमै एक सयभन्दा बढी तीर्थयात्रु र स्थानीय श्रमिकको नाम छ । उनीहरू असार २ यता हराइरहेका छन् । उत्तराखण्ड सरकारले सम्पर्कहीन र बेपत्ता भनिएका व्यक्तिहरू असार ३१ -जुलाई १५) सम्म नभेटिएको खण्डमा तिनको मृत्यु घोषणा गर्ने तथा सम्बद्ध परिवारलाई राहतस्वरूप आर्थिक सहायता दिने घोषणा गरेको छ । बाढीपहिरो सुरु भएको २१ दिन भइसकेका बेला राज्य सरकारले १० हजारभन्दा बढी निधन भएको र ३ हजार ६४ जना अझै सम्पर्कहीन रहेको जनाइसकेको छ । 'सम्पर्कहीन नाम दर्ता र खोजीको अनुरोध आधारमा दूतावासमै झन्डै एक सय नेपाली तीर्थयात्रु र बद्री-केदारमा रहेका श्रमिकको नाम यहाँ संकलित छ,' दूतावास अधिकारी भन्छन्, 'तर उत्तराखण्ड राज्य सरकारले मृत्युको औपचारिक घोषणा नगरी हामी केही भन्न सक्ने अवस्थामा छैनौं ।

' तीर्थयात्रुको खोजी र सम्पर्कमा उत्तराखण्डका देहरादून, हरिद्वार, ऋषिकेश आएका नेपालीहरू अब आफन्तजन भेट्न असम्भव मान्दै स्थानीय प्रहरी चौकीहरूमा प्रथम सूचना -एफआईआर) दर्ता गर्दै घर फिर्ने क्रम बढेको छ । अमेरिकाको नेब्रास्का बस्ने कम्प्युटर इन्जिनियर रोशन प्रसाइँ आफ्नी दिदी रोशनी तथा भिनाजु समीर राणासहित केदारनाथ यात्रामा निस्किएका थिए । उत्तरकाशी तथा रामबाणा क्षेत्रमा पुगेपछि असार पहिलो साता बेहोर्नुपरेको विपत्तिका कारण आफन्त-नातेदार नभनी भागेर ज्यान जोगाउनेमध्येमा रोशन पनि एक जना परे । 'को कता पुग्यो, कसरी भागियो, यतिखेर अनुमान लगाउन पनि मुस्किल छ,' उत्तरकाशीबाट हवाई उद्धारमा परेर देहरादून हुँदै बिहीबार दिल्लीस्थित दूतावासमा सहयोग खोज्दै आइपुगेका २७ वर्षे रोशनले भने, 'देहरादूनबाट निःशुल्क बस चढेर यहाँसम्म आएको हुँ । मेरा दिदी-भिनाजु हराएको एफआईआर असार १७ मा ऋषिकेशमा गराएको छु ।' दूतावासले दिएको २ हजार रुपैयाँको सहयोगमा रोशन यतिखेर काठमाडौं घर पुगेका छन् ।

दूतावासका अनुसार सल्यान, रुकुम, रोल्पा, दाङ, जाजरकोट सहितका सुदूरपश्चिम जिल्लाबाट अहिले पनि आफन्तहरूको फोन आइरहेको छ । तर यी क्षेत्रबाट बद्री-केदार जानेमा बढीजसो भरिया, डोले र बाटो खन्ने श्रमिकहरू रहेका छन् । 

उनीहरूको कुनै अत्तोपत्तो छैन । खुला सिमाना र सहज आवतजावतको व्यवस्थाका कारण कति नेपाली तीर्थालु यता आएका थिए, कति घर फिरे र को-को बेपत्ता छन् भन्ने अध्यावधिक सूचना कहींकतै छैन । बिहीबार मात्रै प्रकाशित एक समाचारमा श्रमपसिना बेच्न उत्तराखण्डको बद्री-केदार पुगेका रुकुम, झुलाका ३१ वर्षे डिल्लीबहादुर ओलीको बाढीपहिरो विपत्तिमा परेर ज्यान गएको खबर आएपछि गाउँमा उनको किरियाकर्म गरिँदै थियो । तर किरियाकर्म चौथो दिनमा चलिरहेका बेला डिल्लीबहादुर टुप्लुक्क घर आएपछि उल्टै खसी काटेर गाउँमा खुसियाली मनाएका थिए । डिल्लीबहादुरले आफूसँगै केदारनाथमा भरिया काम गर्ने चार साथीभाइलाई बाढीले बगाएको गाउँमा जानकारी दिएका थिए ।  

'कोही उत्तराखण्डको विपतपछि ज्यान जोगाएर मुम्बई पुगेको खबर छ, कोही हिमाञ्चल पुगेका रहेछन्,' हरिद्वारस्थित नेपाली समुदायका सहयोगी पुष्पराज पाण्डेयले भने, 'तर अहिलेसम्म जेजति नेपालीहरू धामयात्रामा बेपत्ता र सम्पर्कहीन भनिएको छ, यो संख्या दोब्बर बन्न सक्ने देखिन्छ ।' दूतावासका कार्यवाहक राजदूत तीर्थराज वाग्लेका अनुसार बद्री-केदारको विपत्तिबाट उम्केर आएका र घर फिर्न आर्थिक सहायता चाहिने केही नेपालीलाई २ हजार रुपैयाँका दरमा बाटो-खर्च दिइएको छ । तर यो रकम दूतावासमा सञ्चित रहेको 'अनुदान' शीर्षकबाट सहयोग प्रदान गरिएको छ । बद्री-केदार धाममा बिचल्ली तीर्थयात्रुको उद्धार तथा खोजीमा नेपाल सरकारले एक पैसा पनि विनियोजन गरेको छैन ।       

ँउपचारलाई ३० हजार पनि छैन’ नयाँदिल्ली- नेपाल सरकारले टाउका र मेरुदण्डमा चोट लागेर थला परेकाहरूको उपचारमा एक लाख रुपैयाँसम्मको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिरहेका बेला देहरादूनस्थित अस्पतालमा एक नेपाली श्रमिक ३० हजार भारु जुटाउन नसकेर उपचारबाट वञ्चित बनेका छन् । 

शनिबार मात्रै हवाई उद्धारमा परेर फाटाबाट देहरादूनस्थित जोलिग्रान्ट -हिमालय) अस्पतालमा ल्याइएका रुकुमका राजु रानाको टाउकाको पछिल्लो भाग भाँचिएको छ । उनका अनुसार गौरीकुण्डदेखि केदारनाथ जाँदाको बीचमा पर्ने मुर्कट्या भीरमा आएको पहिरोमा फँसेर पुरिएको अवस्थामा उनी थिए । चौरजहारी, विजेश्वरी-६ का बासिन्दा राना बद्री-केदार क्षेत्रमा डोली बोक्ने काम गर्दै आएका थिए । उनका अनुसार आफूसँगै डोली बोक्ने र भरियाको काम गर्ने बझाङ, सल्यान, दैलेख, रोल्पाका १५ जना त्यही भीरको पहिरोमा बेपत्ता बनिरहेका छन् । 'मेरो आधा जीउ पहिरोमा थियो, अरूहरूले फाटासम्म लगेपछि मलाई भारतीय सेनाको विमानले हवाई उद्धार गरेर शनिबार यहाँ ल्याएको हो,'जोलिग्रान्ट हस्पिटलको बेडबाट रानाले कान्तिपुरसँग फोनमा भने । अस्पतालका सहयोगी चिकित्सक डा.अशोक अग्रवालका अनुसार राना स्पाइनल-कर्ड सहितको समस्याले ग्रस्त छन् । उनको भाँचिएको घाँटीमा स्टिलको पाता लगाउन मात्रै सुरुमा ३० हजार रुपैयाँ चाहिने भए पनि यो जुटाउन नसकेको अवस्थामा राना अस्पतालमा छन् । दिल्लीस्थित दूतावासले अस्पताललाई आग्रह गर्दै निःशुल्क उपचारको पहल गरिरहेको छ । 'घाँटी पछाडिको भागमा स्टिलको पाता लगाएर पनि केही समय आईसीयुमा राख्नुपर्ने भएकाले अझै बढी पैसाको जोहो गर्नुपर्ने देखिन्छ,' दूतावासका एक अधिकारीले भने, 'हामी यसरी पैसा उपलब्ध गराउने स्थितिमा छैनौं ।' उपचारपछि रानालाई हवाई एम्बुलेन्समा नेपाल लैजानुपर्ने स्थानीय चिकित्सकले बताए पनि अहिले एम्बुलेन्समै पनि रानालाई रुकुमसम्म पुर्‍याउन मुस्किल रहेको दूतावासले बताएको छ ।

अहिले जोलिग्रान्ट अस्पतालमा बाजुराका भरतबहादुर बम र सल्यानका चेतन खत्री पनि बद्री-केदारको विपतिबाट हवाई उद्धारमा परेर उपचाररत छन् ।

Published on: 6 July 2013 | Kantipur

Back to list

;