s

कहाँ छन् मेरा छोरा ?

अवधेशकुमार झा

खर्साल टोल, राजविराज नगरपालिकाकी ६० वर्षीया मुगिंयादेवी राम (चमार) को बिहानी आँसुबाट सुरु हुन्छ । राति आँखा नलागुन्जेल उनी आँसुमै डुबिरहन्छिन् । जीवनको उत्तरार्धमा मुगिंयादेवी आँसुमा डुब्नुको पछाडिको कारण हो, वैदेशिक रोजगारीमा गएका उनका जेठा छोरा इन्द्रदेव राम ८ वर्षदेखि सम्पर्कविहीन हुनु ।

इन्द्रदेव सन् २००९ मा रोजगारीका लागि कतार गएका थिए । तर उनी गएको एक वर्षपछि सम्पर्कविहीन भए । बुढेसकालको सहारा यसरी हराएपछि मुगिंयादेवी निकै चिन्तित देखिन्छिन् । २ छोरा र १ छोरीका बुबा इन्द्रदेव घर चलाउने एक्ला व्यक्ति थिए ।
 
‘एकपटक ५० हजार त्यसपछि क्रमश: २५, ३० र ६ हजार रुपैयाँ पठायो,’ आमा मुगिंयादेवीले भनिन्, ‘गएको एक वर्षसम्म छोरासँग सातामा टेलिफोनमा कुरा हुन्थ्यो ।’ उनका अनुसार अन्तिम पल्ट कुरा हुँदा इन्द्रले केही दिनभित्रै घर फर्किने बताएका थिए । उनले भनिन्, ‘तर त्यसपछि उनको फोनै लाग्दैन, कहिलेकाहीं लागे पनि अर्कै मानिसले उठाउँछ, उल्टै हप्काउँछ ।’ छोराले ८ वर्षअघि फोनमा घर आउने कुरा गरेको सम्झिएर भक्कानिएकी मुगिंयादेवीले भनिन्, ‘छोरो घर त के आउनु फोन सम्पर्क पनि ८ वर्षदेखि छैन ।’
 
घरमा आमा मात्रै होइन, श्रीमती र तीन नाबालक सन्तानले उनको फोनको प्रतीक्षामा ८ वर्ष बिताए । इन्द्रदेव भिसा नम्बर ०३२००९१६०९७६ बाट कतारको बिन अब्दुल रहमान ट्रेडिङ कम्पनीमा रोजगारीका लागि गएका थिए । पाँच वर्षका लागि रहेको राहदानीको म्यादसमेत समाप्त भइसकेको छ भने काम गर्न गएको कम्पनीमा पनि उनको कन्ट्रयाक्ट सकिएको छ । ८ वर्षदेखि छोरा सम्पर्कविहीन भएपछि वृद्ध आमा मुगिंयादेवीले पटक–पटक जिल्ला प्रशासन कार्यालय सप्तरीमा छोराको खोजखबरका लागि निवेदन दिइन् । उनले राजधानी गएर दूतावाससमेत चहारिन् । तर कहींकतैबाट पनि उनको छोरालाई खोजिदिने काम भएन । ‘सीडीओ अफिसदेखि दूतावाससम्म सबैले हप्काएर पठाए,’ दलित चमार जातिकी मुगिंयादेवीले भनिन्, ‘हामी गरिब दलितका कुरा सुनिदिने कोही भएनन् ।’
 
जिल्ला प्रशासन कार्यालय सप्तरीस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना केन्द्र पुगेकी उनले भनिन्, ‘कहींकतैबाट मेरो छोरा खोजिदिने काम भएन, मेरो बिन्ती सरकार समक्ष पुर्‍याइदिनुस्, उनको खोजी गरिदिओस् ।’ ‘सरकार, मेरो छोरा कहाँ छन्, कुन अवस्थामा छन्, खोजिदिनुपर्‍यो,’ वृद्ध मुगिंयादेवीले भावुक हुँदै भनिन्।
 
Published on: 15 June 2018 | Kantipur

Back to list

;