s

कहाँ छन् मुक्त कम्लरीहरू ?

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङका बेपत्ता कम्लरीहरूको कथा

चन्द्रशमशेरले दास प्रथाको उन्मूलन गरेको शताब्दीयौं पछि, कमैया मुक्ति भएको झन्डै १३ वर्षपछि कम्लरीलाई मुक्त घोषणा गरियो । तर अझै कतिपयको अवस्था अज्ञात छ । उनीहरू कहाँ छन् ? अभिभावकहरूको प्रश्नमा काम दिलाउन लैजानेहरू, सरकार र उनीहरूको हितमा काम गर्नेहरू सबै मौन छन् । विशेष गरेर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका अवोध बालिकालाई अर्काको घरमा काम गर्न पठाउने कम्लरी प्रथा ९ महिना अघि अवैध घोषणा गरियो । घोषणासँगै कम्लरी बसेकाहरू मुक्त गरिए । तर कतिपय काममा लगेको ठाउँमा छैनन् । बिचौलियाले विभिन्न ठाउँमा पुर्‍याउने हुँदा अभिभावकलाई काम गर्ने ठाउँ थाहा छैन । कतिपय अभिभावक धेरै वर्षदेखि आफ्ना छोरीको खोजीमा भौँतारिइरहेका छन् ।

यसै विषयमा कान्तिपुरका सहकर्मी टीकापुरका गणेश चौधरी, दाङका दुर्गालाल केसी, बाँकेका ठाकुरसिं थारु र बर्दियाबाट कमल पन्थीले गरेको रिपोर्ट:

कैलालीको चौमाला ७ का लौघर चौधरीका दुई छोरी हेमा र सूर्या ८ वर्षदेखि उनको सम्पर्कमा छैनन् । कैलालीकै भजनी गाविसका पूर्वअध्यक्ष प्रमोद उप्रेतीमार्फत अर्काको काम गर्न काठमाडौं लगिएका छोरीहरू कहा छन् लौघरलाई थाहा छैन । आठ वर्ष पुग्यो भेट र फोन सम्पर्क समेत नभएको ।

'छोरीहरूलाई ल्याइदिनु पर्‍यो भनेर प्रमोदलाई ३ पटक अनुरोध गरिसकें,' उनले भने, 'वास्तै गर्दैनन्, मरे कि बाँचे केही थाहा छैन ।' छोरी खोज्न जाउँ भने न त उनले छोरीले काम गर्ने ठाउँ देखेका छन्, न जानका लागि खर्च नै छ । उनी आफैं मुक्त कमैया हुन् । मुक्त कमैया शिविरमै बस्छन् । त्यसो त कैलालीमा यो समस्या भोग्ने लौघर एक्ला होइनन् । चौमाला ७ की आशा चौधरीसँग उनको आफन्तको सम्पर्क नभएको ११ वर्ष भएको छ । माइजू लक्ष्मी चौधरीका अनुसार आशालाई उनकै दिदी पर्ने सरिता चौधरीले काठमाडौं लगेकी थिइन् ।

बेपत्ता कम्लरीका अभिभावकको एउटा साझा समस्या भनेको उनीहरू काम गर्ने घरका मान्छे चिन्दैनन् । लैजाने मान्छे मात्र चिन्छन् । सम्पर्क हुन छाडेपछि त्यही बीचको व्यक्तिसँग उनीहरू हारगुहार गर्छन् । तर त्यस्तो अवस्थामा कहाँ छन् र कहाँ खोज्ने भन्ने समस्या उत्पन्न हुन्छ । धनगढी नगरपालिका १२, मनहरा शिविरकी मंगरी चौधरीले छोरी सम्पर्कमा नआएपछि प्रहरीमा निवेदन दिइन् । त्यसपछि उनलाई छोरी लैजानेले नेपालगन्ज लगे । उनीहरूले सात दिनसम्म नेपालगन्जका सम्भावित घरमा खोजी गरे । पत्ता लागेन । 'म आफैं चिन्ता र थकाइले बिरामी भएँ, त्यसपछि उपचार गरेर फर्कें,' उनले भने ।

कतिपय सम्पर्क विहीनहरू फर्केपछि अरू अभिभावकमा पनि आशा बढ्छ । त्यसैले उनीहरू माया मार्न पनि सक्दैनन् । शिविरकै बेपत्ता भनिएका लक्ष्मी र सुष्मा फर्केर आएकाले मंगरीलाई पनि छोरी र्फकने आशा छ । छोरी गीतालाई मासिक सय रुपैयाँ दिने भनेर धनगढीस्थित मल्ल आयल स्टोरका मालिकले लगेको मंगरी बताउँछिन् । उनले भनिन्, 'पैसा त दिएनन् दिएनन्, छोरी नै बेपत्ता बनाइदिए ।'

छोरी खोज्दाखोज्दै निधन

छोरी खोज्ने क्रममा बिरामी परेकी मंगरीमात्र होइन, छोरीकै खोजीमा भौंतारिरहेका दाङका चतुरवीर थारूले चिन्ता र हैरानीले चार वर्षअघि ज्यानै गयो । वाषिर्क ४ हजार ५ सय ज्याला कबोलेर काठमाडौं लगिएकी शर्मिला हराएको खबर दाङ, घोराही २, क्वाडीका चतुरवीर थारूले ११ वर्षअघि पाएका थिए ।

काममा लगिएको ६ महिनापछि नै छोरी हराएको खबर आयो । उनी खोजीमा निरन्तर लागिरहे तर कतै भेटाएनन् । उनको निधनपछि बहिनीको खोजी दाजु धरमबहादुरले गरिरहेका छन् । 'बहिनी खोज्दाखोज्दै बुवाको मृत्यु भयो । धेरै ठाउँ पुग्नुभयो तर पत्तो लागेन,' उनले भने, 'अहिले पनि र्फकन्छिन् कि जस्तो लाग्छ ।' २०५९ माघ १० गते स्थानीय चिनेजानेका मानिसले १२ वषर्ीया शर्मिलालाई ६/६ महिनामा ज्याला पठाइदिने सर्तमा काठमाडौंस्थित शिलु अधिकारीको घरमा पठाएका थिए ।

'बहिनीको चिन्तैचिन्ताले बुवाको ज्यान गयो, भेटाएर मर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो,' दिदी जितमानीले भनिन्, 'उनलाई दलालले कतै बेचे कि ? कतै मारेर पो फाले  कि ? हामीलाई न्याय कसले देला ? उनको खोजी कसले गरिदेला ?' शर्मिला मात्रै होइन दाङबाट कम्लरी गएका बालिका हराउने क्रम बर्सेनि बढ्दै गएको छ । अधिकांश घटना गुपचुपमा छन् । मुक्त कम्लरी विकास मञ्चका अनुसार पश्चिम तराईका कैलालीमा १२, बाँकेमा ६, दाङमा ५ र बर्दियामा ४ गरी २७ कम्लरी बेपत्ता छन् । तर यो तथ्यांकलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने गाह्रो छ । कतिपय बिहे गरेर बसेको पनि भेटिएका छन् ।

चिन्दैनन् कम्लरी राख्नेलाई

बेपत्ता कम्लरीको खोजीमा सबैभन्दा समस्या भनेकै उनीहरू कसका घरमा काम गरिरहेका छन् भन्ने हो । बाँके, बिनौना ८, चाचाफर्काका बद्रीनारायण चौधरी कम्लरी बस्न गएकी बहिनीको अवस्था पत्ता लगाउन १० वर्षदेखि लागिपरेका छन् । काठमाडौं लैजाने बेला बहिनी जुगमानीे १० वर्षकी थिइन् । 'अहिले २० वर्षकी जवान भइन् होली,' उनी कल्पिन्छन् । तर १० वर्षदेखि बहिनीको कुनै खबर छैन ।

स्थानीय कालुराम विकले साथीको घरमा कम्लरी राख्न भनेर जुगमानीे काठमाडौं लगेका थिए । परिवारलाई विक प्रहरीमा जागिरे भएको थाहा छ । उनले बहिनीलाई कसको घरमा लगेको भन्ने थाहा छैन । 'कालुराम घर आएका बेला बहिनीलाई जसरी भए पनि ल्याइदिनुपर्‍यो भन्छांै । काठमाडौं गएपछि जुगमानीलाई ल्याउँछु भन्छ तर, १० वर्ष बितिसक्यो अहिलेसम्म बहिनी घर आएको छैन,' दाजु बद्रीनारायणले भने । जुगमानीका बुबा मिथु र आमा ललदैयाको पनि मृत्यु भइसक्यो ।

कम्लरी गएकी बिनौना २ जुरपानीकी शिवकुमारी चौधरी -रामकली) १२ वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । उनलाई नेपालगन्ज ७ फुल्टेक्राका बिज्जु ठकुरीको घरमा कम्लरी राखिएको थियो । त्यसबेला उनी ८ वर्षकी थिइन् । '२०५९ पुस १४ गतेपछि आफन्तसँग भेट भएको छैन,' लगरु चौधरीले भने, 'कम्लरी राखेको घरमा गएर सोधपुछ गर्दा काठमाडौंमा छ भन्छन् ।'

शिवकुमारीलाई कम्लरी राख्न स्थानीय कुन बिहारी चौधरीले सहयोग गरेका हुन् । नेपालगन्जमा मजदुरी गर्न आउँदा ठकुरीसँग चिनजान भएपछि उनलाई कम्लरी राखिदिएको उनले बताए । कम्लरी राखेको दोष उनको थाप्लोमा परेको छ । 'घरकाले छोरी फिर्ता चाहियो भन्छन् । ठकुरीसँग सोध्दा काठमाडौं घरमा रहेको बताउँछन्,' कम्लरी राख्न मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कुनबिहारीले भने, 'अहिले निकै समस्यामा परेको छु ।' उनले भने कम्लरी राखेको घरपरिवारलाई चिनाइदिएका छन् ।

मुक्तकम्लरी विकास मञ्चको तथ्यांकअनुसार नौवस्ता ३ की १५ वषर्ीया ममता, नौवस्ता २ की १६ वषर्ीया रजिता, फत्तेपुर ९ दलैयाकी १३ वषर्ीया विपती र रझेना ८ की १३ वषर्ीया मिच्छु चौधरी सम्पर्कविहीन छन् ।

बर्दिया नेउलापुर ७ का पहाडिया थारूकी छोरी कृष्णी थारूकी सात वषर्ीय छोरी कृष्णीलाई पाल्पाका 'पप्पु राजा' भन्ने व्यक्तिले कम्लरीका लागि लागेको १५ वर्ष बित्यो । परिवारलाई आफ्नी छोरी कसकोमा छिन् भन्ने मात्र होइन, लैजाने 'पप्पु राजा' भन्ने व्यक्तिको अत्तोपत्तोसमेत पाउन सकेका छैनन् ।

मासिक तीन सय रुपैयाँ पाउने भन्दै 'दिपेश राजा' भन्ने व्यक्तिसँग छोरी चिजमानी पठाउने बर्दियाकै बगनाहा ६ टकियाका हुर्दुलाल थारूको पनि हालत उस्तै छ । हुर्दुलालले छोरी त के लैजाने 'दिपेश राजा' लाई समेत पत्तो पाएका छैनन् । साहुको ठेगाना र फोन नम्बरसमेत थाहा छैन उनले भने, 'कहाँ खोजौं ।'

गुलरिया ६ सुहेलवाका ठग्गा थारूका छोरी रीता पनि ५ वर्ष बेपत्ता छिन् । १२ वर्षको कलिलो उमेरमा स्थानीयले मासिक ८ सय तलब दिने भन्दै काठमाडौंस्थित सैनिक अधिकारीको घरमा काम गराउन भन्दै लगेका थिए । चार महिनासम्म भनेअनुसारको रकम आए पनि त्यसपछि बन्द भयो । थारू भन्छन्, 'छोरी बसेको घरका मालिकको नाम पनि थाहा छैन ।' यही अवस्था बगनाहा ६ बनकट्टीका कनकराम चौधरीको पनि छ । छोरी आशरानी सम्पर्कमा नआएको सात वर्ष बित्यो ।

गुपचुप र मुद्दा फिर्ता

सुरुमा सानी बालिकाका रूपमा घरेलु काम गर्न कसको घरमा लगेको र कहाँ छन् भन्ने नै पत्ता लाग्दैन । मालिकको सम्पर्क नै नहुने भएपछि खोजीको कार्य जटिल बन्दै जान्छ । अर्कोतिर कम्लरीका रूपमा प्रायः कमैया रहेका गरिब किसानका छोरी नै लग्ने गरिन्छ । यस्तो अवस्थामा कम्लरी राख्नेको सामाजिक, राजनीतिक तथा आर्थिक हैसियतका अगाडि सम्पर्क विहीन कम्लरीका अभिभावक निरीह हुन्छन् । काम गर्ने घर पत्ता नै लाग्यो, मालिकलाई चिन्यो नै भने पनि घटनालाई गुपचुप बनाउने प्रयास हुन्छ ।

कैलालीको चौमाला ७, राजीपुरकी आशा चौधरी हराएपछि माइजू लक्ष्मीले खोजी जारी राखेकी छन् । उनका अनुसार पढाइदिनेसमेत सर्तमा सद्भावना पार्टीकी स्थानीय नेत्री सरिता चौधरीले आशालाई काठमाडौं पठाएकी हुन् । लक्ष्मीका अनुसार अहिले आशा खोजी सुरु भएपछि सरिताले चुप लाग्न भनेकी छन् ।

कैलालीकै नारायणपुर ४ की कम्लरी मञ्जु चौधरी सम्पर्कविहीन भएपछि आमा राजकुमारी चौधरीले गैरसरकारी संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा हालिन् । मानव बेचबिखन अन्तर्गत परेको उजुरीपछि मिलापत्र भएको भन्दै फिर्ता लिइयो । उक्त मुद्दामा बेपत्ता कम्लरीका परिवारलाई १ लाख ३० हजार दिएर मिलाइएको थियो । राजकुमारी भन्छिन्, 'मुद्दा फिर्ता लिन दबाब दिएर गाउँमै बस्न नसकिने भो, त्यसैले पैसा लिएर मुद्दा फिर्ता लिएको ।' मञ्जुलाई गाउँकै स्थानीय जमिन्दार मालिक हर्क रावलमार्फत हेटौंडा पठाइएका थिए ।

कम्लरी हराएका केही फाटफुट घटना बाहिर आए पनि अधिकांश घटनाहरू भित्रभित्रै सेलाउने गरेको यस सम्बन्धमा काम गर्नेहरू बताउँछन् । कतिपयको यौन शोषण गरी हत्या गरिएको वा बेचिएको पनि हुन सक्ने मुक्त कम्लरी अभियन्ताहरूको आशंका छ । मुक्त कम्लरी विकास मञ्च, कैलालीकी उर्मिला चौधरी भन्छिन्, 'बेपत्ताको अवस्थाबारे कोही गम्भीर छैनन् । सरकारले खोजी गरेर यथार्थ तथ्यांक र अवस्था बाहिर ल्याउनुपर्छ ।'

कम्लरी सम्पर्क विहीन हुनुमा धेरै कारण हुन सक्ने भए पनि उनीहरू तिनीहरूको अवस्था जोखिमपूर्ण हुन सक्ने आशंका गर्छन् । 'सानो उमेरका घरमै हुन सक्छन्, अधिकांश कम्लरीलाई मालिकहरू बसाइँसराइ गरी जहाँ गयो त्यहीं लैजान्छन्,' चौधरी भन्छिन्, 'कति त विदेशसम्म लगिएको भेटिएका छन् । कति मारिएका पनि होलान् ।'

आन्दोलन र मुक्ति

कम्लरीले राजधानीमा समेत निरन्तर आन्दोलन गरेपछि सरकारसँग २०७० साल साउन ३ गते १० बुँदे सहमति सहित मुक्ति घोषणा गरियो । सरकारी तवरमा कम्लरीको समस्या समाधानका लागि कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकको संयोजकत्वमा सेती अञ्चल एसएसपी लव विष्ट र महिला कार्यालयका गोमा प्रसाईं सदस्य रहेको एक बेपत्ता कम्लरी छानबिन समिति गठन भएको छ ।

त्यो समितिलाई मृत कम्लरी र बेपत्ता कम्लरीको सत्य तथ्य सूचना संकलन गरी प्रतिवेदन बुझाउने कार्याधिकार पाएको थियो । समितिले चार जना कम्लरीको मृत्यु भएको सूचना संकलन गरेको छ । उनीहरूका सम्बन्धमा मुद्दा चलिरहेको छ । बेपत्ता कम्लरीको सूचना संकलन कार्य भइरहेको कैलाली जिल्ला प्रशासन प्रमुख तथा संयोजक वेदप्रकाश लेखकले बताए । उनका अनुसार ५ जिल्लामा २७ जना कम्लरी बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएकोमा केहीले विवाह गरेर अन्यत्रै बसेकाले परिवारसँग सम्पर्कविहीन रहेको भन्ने खबर पनि आएको छ । यद्यपि यस विषयमा अध्ययन जारी नै रहेको उनले बताए ।

कानुन व्यवसायी अधिवक्ता बालाराम भट्टराई बेपत्ता कम्लरीका विषयमा मानव बेचबिखन अपराध अभियोगमा कम्लरी लानेविरुद्ध मुद्दा चलाउन सकिने बताउँछन् । मानव बेचबिखन अपराध गरेको प्रमाणित भएमा मानव बेचबिखन सजाय ऐन अन्तर्गत कारबाही हुने उनले बताए ।

कैलालीको टीकापुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक मीनबहादुर शाही बेपत्ताको पीडा बेपत्ता भएका परिवारलाई मात्र थाहा हुने भन्छन् । उनले भने, 'कि मरे कि बाँचेको भनेर उनीहरूले थाहा पाउनुपर्छ । पर्खाइको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । राज्य जिम्मेवार नभएसम्म बेपत्ता कम्लरी आफन्तको पर्खाइको पीडा रहि रहनेछ ।'

कम्लरी विकास मञ्चका अनुसार काठमाडौं लगायत विभिन्न जिल्लामा १ सय १९ कम्लरी अझै रहेका छन् । ०६४ सालयता हालसम्म मुलुकभरि बाट बर्दियाका मात्र १ हजार ७ सय कम्लरी उद्धार गरिएको छ । तीमध्ये १ हजार ४ सय ९१ जना विद्यालयमा अध्ययन गरिरहेका छन् ।

Published on: 4 April 2014 | Kantipur

Back to list

;