s

कफिनमा रेमिट्यान्स

प्रदीप नेपाल

मैले अमेरिका र युरोपमा नेपालीहरू भेटेको छु राम्रैसँग बसेको । त्यताका प्रवासी नेपालीहरू यतै लेखपढ गरेर गएका मध्यमवर्गीय बुद्धिजीवी हुन् अपवादबाहेक । त्यसैले उनीहरू नेपालको राजनीतिमा बहस चलाउँछन् र उपदेश दिन्छन, अहिले समस्यामा परेको सम्पन्न पुँजीवादी मुलुकमा बसेर । हामीजस्ता सेकिएका नेपालीले यसमा गुनासो पनि गर्नुहुँदैन । किनभने नेपाली मध्यमवर्गीय बुद्धिजीवी जम्माजम्मी दुइटा काम मात्र गर्न जान्दछ । एउटा मेरो गोरुको बाह्रै टक्का अनि अर्को उपदेशको भारी । नेपालभित्रका राजनीतिक नेताहरूमा यही चरित्र देखिएको छ भने उनीहरूको सिको गरिरहेका प्रवासी बुद्धिजीवीका बारेमा किन गुनासो गर्ने !

अरबका दुई मुलुकमा मैले नेपालका गरिब नेपालीसँग भेट्ने अवसर पाएँ । थोरै थिए तिनीहरू । तिनले नै मरुभूमिका कामदार नेपालीको प्रतिनिधित्व गर्छन् भन्ने दाबी म गर्दिनँ । तर तिनीहरू श्रमिक नेपाली थिए ।

२००६ मा लन्डनबाट फर्किंदा दोहा विमानस्थलमा एकजना दुब्ला भाइ भेटिए । तिनले गह्रौं स्वरमा भने, 'सर, म तपाईंसँग कुरा गर्न सक्छु ?'

'सक्नुहुन्छ, किन नसक्नु ?'

हाम्रो ट्रान्जिट तीन घन्टाको थियो । ती भाइका जिज्ञासा र गन्थनका पोकाहरू सुनें । सारमा उनले भनेका थिए, 'सर, कतारमा पैसा मात्रै छैन,  अपमान, शोषण र अकाल मृत्यु पनि छ । के देशले हामीलाई उतै काम दिन सक्दैन ?'

बहराइनमा पनि मैले विमानस्थलमै यस्तो गुनासो सुनेको थिएँ २००७ सालमा । तर दुवै स्थानमा निरीहता प्रकट गरेर वक्ताहरूको चहर्‍याइरहेको घाउमा थोरै मलम लगाउनुबाहेक अरू केही गर्न सक्ने हालतमा म थिइनँ । तर, मलाई मुटु चिमोट्ने गरी छोयो मलेसियामा सुनेको र देखेको दुर्दशाले । २०१३ सालको फेब्रुअरी महिनामा म पुगेको थिएँ मलेसिया । सस्तो श्रमिकको रूपमा काम गर्न सबैभन्दा बढी नेपाली त्यहीं पुगेका रहेछन् । छ लाख जति नेपाली श्रमिक पुगेका  रहेछन्- मैले सुनेको संख्या हो यो ।

चेतमा मलेसिया सामन्तवादबाट निर्देशत रहेछ । यद्यपि सिङ्गो मलेसियामा निरङ्कुश राजतन्त्रदेखि नागरिक सार्वभौम भइसकेका गणतन्त्रसम्मका भूखण्डहरू छन् । त्यहाँका केही प्रदेशमा राजतन्त्र छ, केही प्रदेशमा गभर्नर र संसद्को चुनाव हुन्छ । नेपालको हालको लोकतान्त्रिक गणतन्त्र र त्यहाँको संघीय गणतन्त्रलाई 'सिस्टर सिस्टम'को नाममा मितेरी लाइदिए हुन्छ । तर नेपालको भन्दा मलेसियामा एउटा अत्यन्तै भिन्न प्रकृतिको प्रणाली छ । त्यहाँ सामन्तवाद र हुर्किसकेको पुँजीवादका बीचमा सहमतीय प्रणालीमा दुई दशकभन्दा लामो समयदेखि सहकार्य चलिरहेको छ भने नेपालमा चाहिँ समाजवादलाई गन्तव्य मान्ने राजनीतिक पार्टीहरूका बीचमा पनि लामो समयदेखि सहकार्य हुन सकिरहेको छैन ।

मैले त्यहाँ चार खालका नेपालीहरू भेटें । पहिला ती गरिब नेपालीहरू, जो वास्तविक श्रमिक हुन् र जसको आँखामा हरदम उदासी तैरिइरहेको हुन्छ । यदि मलेसियामा छ लाख नेपाली छन् भने पाँच लाख नब्बे हजारचाहिँ यस्तै नेपाली छन् । दोस्रोमा बस्ताबस्तै पौरख गरेर, व्यवसायमा आफूलाई स्थापित गराउने नेपाली पनि त्यहाँ छन् । तिनको परिश्रमले फल पाएछ भनेर खुसी व्यक्त गर्दा हुन्छ हामीले । तेस्रा नेपाली थोरै छन् । औंलामा गन्न सकिने भन्दा पनि हुन्छ । तिनलाई दलाल भनिदिँदा हुँदो रहेछ । नेपालको नक्कली नागरिकता बनाउने, आफ्नै नेपाली भाइबैनालाई ठगेर आफूलाई ठालू बनाउने काममा अब्बल भइसकेका नेपालीका बारेमा पनि सुनें मैले । चौथा नेपालीचाहिँ अलि भिन्न खालका रहेछन् । दोस्रो विश्वयुद्धमा बि्रटिस गोर्खाका बेलायती हाकिमबाट बेवास्ता गरेर छोडिएका, गोर्खा आर्मीका सन्तान यतिबेला 'मले नेपाली' भएर बाँचिरहेका रहेछन् । संयोगले त्यस्ता नेपालीसँग पनि कुरा गर्न पाएँ मैले नेपाली भाकामा । हाम्रा पौरखी नेपालीले ती मले नेपालीलाई भाषा र संस्कृतिको जानकारी गराउने कुनै आवधिक अभियान चलाउने हो भने मलेसियामा नेपालीहरूको एउटा राम्रो समुदाय बन्ने थियो । मान्छेको मुखले जे जे भने पनि पौरख गरेर सपरिवार बसिरहेका नेपाली खुरुक्क फर्किएर नेपाल आइहाल्छन् भनेर हामी कसैले नचिताए पनि हुन्छ ।

 'मलेसियाबाट वर्षमा सरदर दुई सय नेपालीका लास नेपाल पठाउनुपर्छ' यो सोध्दै नसोधी पाएको जानकारी हो । नेपालमा रेमिट्यान्सको ठूलो हल्ला छ । रेमिट्यान्सले नेपालको बजेट धानेको छ जस्ता गफ हामी सबैले पढिरहेका छौं, सुनिरहेका छौं । तर ती कसैले पनि हामीलाई त्यो रेमिट्यान्स कफिनमा बेरिएर आउँछ भन्ने जानकारीचाहिँ दिन सकेका रहेनछन् । जीवनको मूल्य तिरेर प्राप्त हुने रेमिट्यान्समा गर्व होइन, शोक मनाउनुपर्ने हुन्छ ।

अकालमा मरेका सबै लासहरू नेपाल ल्याइँदैनन् । यो मेरो अनुमान हो । ती नल्याइएका लासहरू कुन माटोमुनि पुरिएका होलान, कसैले भन्न सक्दैन । बेवारिस मृत्युले पठाएको रेमिट्यान्सले नेपालको बजेट धानेको छ । तपाईं सुन्न सक्नुहुन्छ ? तपाईं त्यो रेमिट्यान्सको आमदानी खान सक्नुहुन्छ ?

किन सत्य बोल्दैन श्रम मन्त्रालय ? किन सत्य बोल्दैनन् म्यानपावर कम्पनीका सञ्चालकहरू ? उनीहरू त नागरिक कोटामै पर्ने हुन् ।

नेपाल उँभो नलाग्ने नै भयो अब ? प्राकृतिक सम्पदाको हिसाबले नेपाल सबैभन्दा धनी राष्ट्र हो भन्छन् अमेरिकी र युरोपेली नागरिकहरू । हामीले जानेकै पनि अर्बौंको आम्दानी गर्ने आधार छन् नेपालमा । पशुपालन, जडीबुटी खेती त अब नेपालमै नि सम्पन्नताको परिचय बोकेर बसिरहेका छन् । तर किन नेपाल सरकार हिम्मतका साथ यो गीत गाउन सक्दैन- र्फक हे र्फक नेपाली, तिमीलाई डाक्छ हिमाल ।

Published on: 16 March 2013 | Kantipur

Back to list

;