s

कच्चा तेलको मूल्य घट्नाले वैदेशिक रोजगारीमा के असर पार्ला?

सुधिर भण्डारी

कोरोना भाइरसले निम्त्याएको लकडाउनको कारणले तेलको मूल्य नाटकिय तरिकाले घटिरहेको छ।

तेलको अन्तर्राष्ट्रिय मानक मानिने ब्रेन्टको भाउ ८.९ प्रतिशतले घटेर २६ डलर प्रतिब्यारेल भएको छ।

संसारभर तेलको खपत घटेपछि तेल उत्पादक देशहरूले केही दिन अगाडि कच्चा तेलको उत्पादन १० प्रतिशतले कम गर्ने सहमति समेत गरेका थिए। त्यस्तै अहिले अमेरिकामा कच्चा तेलको मूल्य इतिहासकै सस्तो भएको छ।

तेलको सुचाङ्क भनिने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिएम) अनुसार अमेरिकामा कच्चा तेलको मूल्य –३७.६३ सम्म ऋणात्मक भयो।
यसअघी कोरोना भाइरसको कारण संकटमा परेको नेपालको वैदेशिक रोजगारी, तेलको मूल्य घट्दा के पर्ला त असर?

अहिलेको हेर्दा तेलको मूल्य घट्दा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई असर पर्ने देखिएपनि खासै ठूलो असर नपर्ने अर्थशास्त्री विशाल कुमार चालिसेले जानकारी दिए।

‘तेलको उत्पादन र खपत घटेको छ। त्यसले गर्दा तेलमा आधारित अर्थतन्त्र भएका मुलुकको आगामी वर्षको केही योजना रोकिन सक्छ र श्रमिकको मागमा पनि केही कमी आउला तर वैदेशिक रोजगारीको स्थिती भयावह भने हुँदैन,’ चालिसेले भने।

नेपाली श्रमिकले गर्ने कामको प्रकृतीको कारण पनि वैदेशिक रोजगारीलाई धक्का नलाग्ने चालिसेको तर्क छ।
‘नेपालीहरुले धेरै गर्ने सेक्युरीटी, सफाई, घरेलु मजदुरी, हस्पिटालिटी लगायतको काममा तेलको मूल्य घट्नाले केही असर पर्दैन। समग्र श्रमिकको माग थोरै चाही घट्छ,’ उनले भने।

त्यस्तै, नेपालीहरु रोजगारीमा जाने तेलमा आधारित अर्थतन्त्र भएका मुलकहरु धनी भएको कारणले उनीहरुलाई आफ्नो देशको अर्थतन्त्र उकास्न गाह्रो नपर्ने भएकोले पनि नेपाली श्रमिकलाई समस्या नपर्ने चालिसेले बताए।

‘अहिले अमेरिकामा घटेको तेलको मूल्य कमोडिटी मात्र हो पछि ह्वात्तै बढ्न पनि सक्छ,’ उनले भने ‘ अहिले संसारको धेरै देशमा लकडाउन छ।

इन्धन खपत हुन सकेको छैन। लकडाउन खुल्ने बित्तिकै क्रमिक रुपमा तेलको खपत बढ्छ,’ उनले सेतोपाटीसगँ भने।
मध्य पुर्वका देशमा नयाँ रोजगारी भने यसअघी भन्दा कमी आउने उनले बताए।

‘लकडाउन अघि नै अन्तिम श्रम स्विकृतीको संङ्ख्या घटेको थियो। लकडाउन खुलेपछि पनि नयाँ रोजगारीका कमी आउँछ तर नेपालीहरुले गरिरहेको रोजगारी नै गुमाउने स्थितीको सम्भावना कम छ,’ उनले भने।

Published on: 21 April 2020 | Setopati

Link

Back to list

;