s

काबुलमा तीन सय १७ नेपाली उद्धारको पर्खाइमा

अफगानिस्तानको काबुलमा स्वदेश फिर्तीका लागि उद्धारको माग गर्दै शनिबार साँझसम्म तीन सय १७ नेपालीले परराष्ट्र मन्त्रालयमा नाम टिपाएका छन् । परराष्ट्रको कन्सुलर विभागको वेबसाइटमा उनीहरूले विवरण पठाएका हुन् । यीमध्ये कतिपयको नाम दोहोरिएको भन्दै यकिन विवरण तयार भएपछि उद्धारको प्रयास गर्ने सरकारी तयारी छ । 

परराष्ट्रको मध्यएसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरे नेतृत्वको कार्यदलका अनुसार उद्धारका लागि नाम टिपाएकामध्ये कतिपय स्वदेश आइसकेका छन् भने कतिपयले काबुल छाडिसकेका छन् । ‘उद्धारका लागि सूचीकृत हुनुभएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकैजनाको धेरै ठाउँबाट विवरण भरिएको र कोही उद्धार भई सुरक्षित गन्तव्यसम्म पुगिसक्नुभएको पनि छ,’ परराष्ट्रद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूको विवरण रुजु गरी उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा समेत अद्यावधिक गरिँदै छ । उद्धार गर्न हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको छ ।’ 

काबुलमा हाल नागरिक जहाजको उडान बन्द छ । अमेरिका, बेलायत, जर्मनी र भारतले आफ्ना वायुसेनाका जहाज पठाएर उद्धार गरिरहेका छन् । ‘यी चार मुलुकबाहेक अरू मुलुकले जहाज पठाएर अहिले नै आफ्ना नागरिक उद्धार गर्न सक्ने अवस्था छैन, त्यसकारण हामीले यी मुलुकलाई नै कूटनीतिक रूपमा आग्रह गरेर बाँकी रहेका हाम्रा नागरिकलाई क्रमैसँग काबुलबाहिर लैजाने विकल्पबारे छलफल गरिरहेका छौँ, उनीहरूबाट राम्रो जवाफ आएको छ,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने । 

काबुलमा नागरिक एयर स्पेस सञ्चालन भएपछि मात्रै नेपालले जहाज पठाउन सक्ने अवस्था हुन्छ । ‘नागरिक एयर स्पेस बन्द छ, हामीसँग तीन सयको संख्यामा नेपाली ल्याउन सक्ने गरी सैन्य जहाज पनि छैन, अफगानिस्तानमा सरकार पनि छैन,’ परराष्ट्रका ती अधिकारीले भने, ‘हामीले अहिले क्षमताले भ्याएसम्म गरेको कूटनीतिक प्रयासका कारण एक हजार नागरिक उद्धार गर्न सफल भएका छौँ ।’ 

छिमेकी भारत, बेलायत, जर्मनी, अमेरिकाले नै अहिलेसम्म आफ्ना सबै नागरिक उद्धार गर्न सकेका छैनन् । अमेरिकाले १५ भदौमा सैनिक फिर्ता गर्ने समयसीमा तय गरेकोमा अमेरिकी र अफगानिस्तानका नागरिक उद्धारका लागि धेरै समय लाग्ने भन्दै ६ हजार सैनिक थप समय काबुल बस्ने बताएको छ । ‘साधन–स्रोत भएका, काबुलमा कूटनीतिक उपस्थिति भएका र हामीभन्दा शक्तिशाली मुलुकले नै आफ्ना सबै नागरिक उद्धार गर्न सकिरहेका छैनन्, हामीले ठूलो कूटनीतिक प्रयासका बाबजुत उद्धार गर्न सफल भएका छौँ,’ परराष्ट्रका अधिकारीले भने, ‘तालिवान काबुलवरपर आउँदा नै ठूला मुलुकलाई हाम्रा मानिसको उद्धार गरिदिनुपर्छ भनेर कूटनीतिक प्रयास गरेका थियौँ, त्यसको प्रतिफलस्वरूप एक हजार मानिसको उद्धार भएको छ र बाँकीको पनि हुने क्रममा छ ।’ 

५०४ जना फर्किए

हालसम्म अफगानिस्तानबाट पाँच सय चार नेपाली स्वदेश फर्किएका छन् । शनिबार मात्रै टर्किस र जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौजना गरी ३५ जना फर्किए । करिब पाँच सयजना स्वदेश फर्किने क्रममा विभिन्न मुलुकमा पारगमन (ट्रान्जिट)मा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उद्धारका लागि माग भएका व्यक्तिहरूसँग परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा दिल्लीस्थित नेपाली राजदूतावासबाट सम्पर्क भइरहेको परराष्ट्रले जनाएको छ । काबुलस्थित सम्पर्क व्यक्तिका रूपमा सहयोग गरिरहेका सुरेशचन्द्र शर्माले पनि उद्धारको पर्खाइमा रहेका नेपालीसँग समन्वय र सहजीकरण गरेको परराष्ट्रले जनाएको छ ।

Published on: 23 August 2021 | Nayapatrika

Link

Back to list

;