s

काबुलमा तीन नेपाली अलपत्र

रोजगारीका लागि २ वर्षअघि अफगानिस्तान पुगेका ३ नेपाली युवा त्यहाँ अलपत्र परेका छन् । अलपत्र पर्नेमा कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री छन् । १५ महिनादेखि काबुलमा अलपत्र उनीहरूले नेपाल फर्कन आवश्यक पहलका लागि आग्रह गर्दै परराष्ट्र्र मन्त्रालयमा केही समय पहिले निवेदन दिए पनि कानुनी जटिलताका कारण अझै फर्कन पाएका छैनन् ।
 
निवेदनमा अब्दुल अजिजका नाममा रहेको क्यामिलट इन्टरनेसनल बिजनेस कम्पनीमा उनीहरू सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । तर कम्पनीले कानुनी तथा अन्य प्रक्रिया पूरा नगरी केही महिनाअघि निकालिदियो ।
 
अफगानिस्तान गएको १० महिनामै उनीहरूलाई निकालिएको थियो । हाल आफूहरू बेरोजगार र बेतलबी भई अलपत्र अवस्थामा रहेको टेलिफोनमा कान्तिपुरलाई बताए । नेपाल फर्कन उनीहरूलाई एक्जिट भिसा र उनीहरूले बढी समय बसेको शुल्क बुझाउनुपर्ने कानुनी प्रावधान आवश्यक छ, जुन त्यति सहज छैन । एक वर्षयता अफगानिस्तान सरकारले तीनै जनाको पासपोर्ट नेपाल फर्काउने प्रक्रियाका लागि भन्दै लगेकामा अहिलेसम्म फिर्ता दिएको छैन । 
 
अफगानिस्तानबाट टेलिफोनमा गोविन्द पौडेलले भने, ‘हामी १५ महिनादेखि बेरोजगार अवस्थामा छौं र खान, बस्नकै समस्या हुन थालेको छ । अत्यधिक तापक्रममा घरको छतमा सुत्न बाध्य छौं ।’
 
प्रक्रियाविपरीत निकालेपछि अन्य स्थानमा काम दिने भनेर कम्पनीले झुलाइरहेको उनले बताए । कम्पनीका कारक रहेकाले आफूहरूले ‘ओभर स्टे’ शुल्क नतिर्ने उनको भनाइ छ । ‘कम्पनीले हाम्रो भिसा, वर्क परमिटलगायत सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिदिने आश्वासन दिए पनि त्यो पूरा नगरी हामीलाई कामबाटै निकाल्ने काम गरेको छ,’ पौडेलले भने । 
 
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दिल्लीस्थित अफगानिस्तानका राजदूत सैद मोहमद अब्दलीलाई मंगलबार भेटेर उनीहरूको फिर्तीका लागि आवश्यक प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
 
जवाफमा राजदूतले कानुनअनुसार नै शुल्क लिने गरेको, त्यसलाई हटाउन विशेष निर्णय गर्नुपर्ने र त्यसका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन् । ‘हामीले अफगानी राजदूतको ध्यानाकर्षण गराएका छौं । उहाँले पहल गरिदिने आश्वासन दिनुभएको छ,’ दिल्लीस्थित नेपाली दूतावासका राजनीतिक मामिला हेर्ने अधिकारी हरि ओडारीले उपाध्यायलाई उद्धृत गर्दै भने ।
 
Published on: 14 June 2017 | Kantipur

Back to list

;