s

काबुलमा १२ नेपालीको हत्या

आतंकवादी आक्रमणको सर्वत्र निन्दा
 
सन्तोष घिमिरे
 
काठमाडौं: अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तलिवानले सोमबार बिहान आत्मघाती बम आक्रमण गरी १२ जना नेपालीसहित १४ जनाको हत्या गरेको छ। आक्रमणमा ७ जना नेपाली कामदार गम्भीर घाइते भएका छन्।
 
काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत १२ नेपाली आतंकवादीको बम आक्रमणमा मारिएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त घटनाको सर्वत्र निन्दा भएको छ। यसअघि २०५८ सालमा इराकमा आतंकवादी समूहले १२ जना नेपालीको क्रूरतापूर्वक हत्या गरेको थियो।
 
काबुलमा मारिएका नेपाली बेलायती साब्र इन्टरनेसनल नामको सुरक्षा गार्ड भर्ती गर्ने कम्पनीमा आबद्ध रही क्यानेडेली दूतावासमा काम गर्दै आएका थिए। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले आतंकवादी बम हमलामा मारिएका १४ मध्ये १२ जना नेपाली भएको पुष्टि भएको बताए।
 
मारिएका अन्य दुईजना भारतीय नागरिक छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले ट्विटमा जनाएअनुसार देहरादूनका गणेश थापा र गोविन्द सिंह मारिएका हुन्।
 
परराष्ट्रमन्त्री कमल थापाले व्यवस्थापिका संसद्मा सोमबार नै काबुलमा नेपाली मारिएको सम्बन्धमा जानकारी गराए। उनले आतंकवादी बम हमलाको नेपालले भत्र्सना गरिसकेको र आक्रमणकारीमाथि कारबाहीका लागि अफगान सरकारलाई आग्रह गरिएको बताए।
 
परराष्ट्र प्रवक्ता पौड्यालले भने, 'नेपाल सरकार यो बर्बरतापूर्ण आतंकवादी हमलाको निन्दा र कडा रूपमा भत्र्सना गर्छ।' नेपाली नागरिक आफूले काम गर्दै आएको क्यानेडियन दूतावासमा ड्युटी अदलीबदली गर्ने क्रममा मिनिबसमा यात्रा गरिरहेका थिए। त्यही बेला जलालाबाद रोडमा बिहान ५ बजेर ४० मिनेटमा एक तालिवानी बन्दुकधारीले अन्धाधुन्ध आत्मघाती बम आक्रमण गरेका थिए।
 
घटनामा परी घाइते भएका सातजना नेपालीको उपचार भइरहेको परराष्ट्रले जनाएको छ। घटनाको यथार्थ विवरण लिन तथा मृतकको शव नेपाल ल्याउन आवश्यक समन्वयका लागि पाकिस्तानस्थित नेपालका कार्यवाहक राजदूत तीर्थराज अर्याललाई तत्काल त्यसतर्फ जान परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको पौड्यालले बताए।
 
परराष्ट्रले घटनाका सम्बन्धमा आवश्यक सूचना प्रवाह गर्न तथा समन्वयका लागि सम्पर्क अधिकृतका रूपमा परराष्ट्रका सहायक प्रवक्ता सुधीर भट्टराईलाई तोकेको छ। भट्टराईलाई टोल फ्री नम्बर १६६००१००१८६ र मोबाइल नम्बर ९८०६४५०३७१ मा सम्पर्क गरी आवश्यक जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ।
 
मुसलमानको पवित्र पर्व रमादान सुरु भएलगत्तै अफगानिस्तानमा भएको यो नै सबैभन्दा ठूलो आतंकवादी बम हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तालिवानले बम हमला आफूले गरेको भन्दै घटनाको जिम्मेवारी लिएको छ।
 
घटनाको जानकारी पाएलगत्तै परराष्ट्रमन्त्री थापाले अफगानिस्तानका परराष्ट्र उपमन्त्रीसँग टेलिफोनमा कुरा गरी मारिएका नेपालीको शव नेपाल पठाउन र घाइतेहरूको उच्च उपचार सुनिश्चित गर्न आग्रह गरेका थिए। 'अफगानी मन्त्रीले हामीलाई सहयोग गर्ने वचन दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्रालय कम्पनीसँग निरन्तर सम्पर्कमा छ। इस्लामाबादस्थित राजदूत निरन्तर सम्पर्कमा छन्', प्रवक्ता पौड्यालले भने।
 
घटनामा परी निधन भएकाहरूका नेपालस्थित आफन्तजनमध्ये अधिकांशसँग सम्पर्क भएको मन्त्रालयले जनाएको छ। 'केहीको मोबाइल अफ रहेका कारण सम्पर्क हुन सकिरहेको छैन। केही आफन्तसँग सम्पर्कका लागि प्रयास जारी छ। अधिकांश आफन्तले आफैं सम्पर्क गरी आफन्तबारे जानकारी लिएको पाएका छौं', पौड्यालले भने।
 
प्रवक्ता पौड्यालले आतंकवादीले नेपाललाई नै निशाना बनाएर उक्त घटना गराएको भन्ने पुष्टि हुने आधार नभेटिएको बताए। 'आतंककारी आक्रमण भएको छ। तर हामीले पाएको सूचनाका आधारमा आतंकवादीले नेपाली नागरिकमाथि नै निशाना लगाएर उक्त घटना गराएको भन्ने पुष्टि हुनसकेको छैन', प्रवक्ता पौड्यालले भने।
 
नेपाल सरकारले साधारण नेपाली कामदारलाई अफगानिस्तानमा रोजागरीका लागि जान प्रतिबन्ध लगाएको बर्सौं भए पनि गैरकानुनी रूपमा दलालका माध्यमबाट भारतको नयाँदिल्ली हुँदै अफगानिस्तानमा काम गर्न जाने नेपालीको संख्यामा भने हालैका वर्षमा कमी नआएको सरकारी अधिकारी बताउँछन्। अफगानिस्तानमा कति नेपाली गैरकानुनी रूपमा काम गर्छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन।
 
प्रवक्ता पौड्यालले अनौपचारिक रूपमा अफगानिस्तानमा रोजगारीका लागि पुगेका नेपालीको संख्या १५ सयजति रहेको बताए। वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानस्थित राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय एजेन्सीमा काम गर्न औपचारिक श्रम स्वीकृति लिने नेपालीको संख्या भने ५ सय ५२ छ।
 
Published on: 21 June 2016 | Annapurna Post

Back to list

;