s

काबुलबाट फर्कंदै नेपाली कामदार

होम कार्की, जगदीश्वर पाण्डे 

काठमाडौँ — तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारको उद्धार थालेका छन् । उद्धार गर्नुअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ ।

अफगानिस्तानको काबुल ।

सबैभन्दा बढी नेपाली सुरक्षा गार्ड सप्लाई गर्ने गार्डा वर्ल्ड सुरक्षा कम्पनीले स्वदेश फर्कने सूचीमा राखिएका नेपालीलाई आइतबार दिनभरि पीसीआर परीक्षण गराएको थियो । उद्धार गरिएका नेपालीलाई दुबई, दोहा र लन्डन पुर्‍याउन थालिएको छ । अमेरिकी दूतावासको सुरक्षामा खटिएका ३ सय ८५ जना नेपाली सुरक्षा गार्डलाई जतिखेर पनि उड्नुपर्ने गरी तयारी अवस्थामा राखिएको छ । ‘हामीलाई सुरक्षाको त्यस्तो ठूलो चुनौती छ जस्तो लाग्दैन, हामीमाथि कत्तिको थ्रेट छ, त्यसको सबै अन्दाज गरिएको छ,’ माथिल्लो तहबाट जारी गरिएको निर्देशनको हवाला दिँदै गार्डा वर्ल्डमार्फत अमेरिकी दूतावासमा खटिएका एक नेपालीले भने, ‘खतरा आउनेबित्तिकै चार्टरमार्फत सुरक्षित क्षेत्रमा लैजाने बताइएको छ ।’ आईडी, इकोलोजी इन्ट्रिग्रेटेड, ओलिभ ग्रुप, जिफोरएसजस्ता कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डसँग भने सम्पर्क स्थापित हुन सकेको छैन ।

काबुलस्थित बेलायती दूतावासमा कार्यरत ८७ जना नेपाली सुरक्षा गार्डलाई आइतबार राति नै बेलायत लैजाने गरी तयारी अवस्थामा राखिएको थियो । ‘हामीलाई काबुल विमानस्थल लैजान तयारी अवस्थामा राखिएको छ, चार्टर विमानमार्फत लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गर्ने भनिएको छ,’ ती सुरक्षा गार्डले भने, ‘बेलायतबाट नियमित विमानमार्फत काठमाडौं पठाउने तयारी छ ।’ बेलायत उड्ने भएपछि उनीहरू सबैले सुरक्षा गार्ड सप्लाई गर्ने कम्पनीलाई आ–आफ्नो हतियार आइतबार दिउँसो बुझाएका थिए । उनीहरू सबैको पीसीआर परीक्षणसमेत गरिएको थियो ।

त्यस्तै जापानको दूतावासमा कार्यरत ८७ जना नेपाली सुरक्षा गार्ड र युरोपियन युनियन डेलिगेसनमा खटिएका ७४ जनालाई दुबई लगेर राखिएको छ । क्यानडेली दूतावासमा कार्यरत १ सय ११ जना नेपालीलाई स्वदेश पठाउनका लागि काबुलस्थित एक होटलमा लगेर राखिएको छ । क्यानडेली दूतावासमा हार्ट इन्टरनेसनलले नेपाली सुरक्षा गार्ड सप्लाई गरेको हो । त्यस्तै, अमेरिकी दूतावास परिसरमा खटिएका गैरसैनिक नेपालीमध्ये १० जनालाई अन्य विदेशीसहित आइतबारै दोहा पठाइएको छ । ‘हामी १० जनालाई काबुलबाट दोहा पठाइयो, सोमबार बिहान नेपाल जाने छौं,’ कुकको काम गर्ने एक नेपालीले भने, ‘नियमित उडानमा सिट नभएकाले जुन उडानमा टिकट पाइन्छ, त्यसैबाट पठाउने भनिएको छ ।’

२००९ देखि नेटो क्याम्प किचनमा कार्यरत मोरङ–८ रतुवामाईका सन्तोषले नेपाली सुरक्षा गार्डबाहेकका नेपालीलाई पठाइएको बताए । ‘नेटो क्याम्प टुटेपछि अमेरिकी दूतावासले कभर गरेको थियो, काबुल विमानस्थल र अमेरिकी दूतावासमा रहेकामध्ये १० जना नेपालीसहित अन्य देशका नागरिकलाई आइतबार दोहास्थित अमेरिकी बेस क्याम्पमा ल्याएर राखिएको छ,’ उनले कान्तिपुरसँग भने, ‘हामीलाई काबुलबाटै दुबई हुँदै नेपाल पठाउने कुरा थियो । पीसीआर परीक्षण गर्न ढिलो भएकाले अन्य दस्तासँगै दोहा ल्याइएको हो ।’ उनले दोहाबाट नेपाल पठाउने तयारी भइरहेको बताए ।

करिब ११ वर्ष काबुलमा बिताएका सन्तोषका अनुसार उनीहरूलाई बोकेको जहाज आइतबार दिउँसो १२ बजे दोहास्थित अमेरिकी सैन्य बेस क्याम्पमा अवतरण भएको थियो । दोहामा अमेरिकी सेनाको आफ्नै विमानस्थल छ ।

यता, नेपाल सरकारले अफगानिस्तानमा बढ्दो द्वन्द्वलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उद्धार गरेर ल्याउन एक कार्यदल बनाएको छ । रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार कार्य गर्न परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा अर्थ, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका सहसचिव सदस्य छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानको अवस्था थप जटिल भएपछि मुख्यसचिव शंकरदास बैरागीले आइतबार दिउँसो अन्तरमन्त्रालय बैठक गरेका थिए । उक्त बैठकपछि कार्यदल बनाउने निर्णय गरिएको हो । उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपालीको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन रजिस्ट्रेसन पोर्टलको पनि व्यवस्था गरिएको छ । परराष्ट्रले अफगानिस्तानमा भएका नेपालीलाई तत्कालै आफ्नो व्यक्तिगत विवरण उक्त पोर्टलमा दर्ता गराउन आग्रह गरेको छ ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरूले त्यहाँ कार्यरत नेपालीहरूको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि सरकारले आग्रह गरेको छ । यसैबीच सरकारले काबुलमा नेपाली कामदारको सहयोग लिने विदेशी मुलुक र संस्थालाई औपचारिक रूपमै पत्राचार गर्दै उनीहरूलाई सुरक्षित स्थानमा राख्न र नेपाल फर्काउनका लागि अनुरोध गरेको छ । ‘काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा कार्यरत नेपालीलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको छ,’ विज्ञप्तिमा छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सुरक्षित घर फर्कनका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ । अफगानिस्तानसमेत हेर्ने जिम्मेवारी पाएको दिल्लीस्थित दूतावासले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर नेपालीलाई लक्षित गरी ट्राभल एडभाइजरी जारी गर्दै उक्त आग्रह गरेको हो । एडभाइजरीमा अफगानिस्तानमा रहेका नेपालीका लागि सुरक्षा सतर्कता अपनाउनेसम्बन्धी जरुरी सूचना भएको दूतावासले जनाएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल फर्काउन निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले अफगानिस्तानको अवस्था बिग्रँदै गएको उल्लेख गर्दै नेपालीलाई तुरुन्तै उद्धार गर्न निर्देशन दिएको हो । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले अफगानिस्तानमा करिब १ हजार ५ सय नेपाली रहेको र उद्धारका लागि सरकारले गृहकार्य गरिरहेको बताएका थिए ।

श्रम स्वीकृतिबिना भारतको बाटो हुँदै काबुल पुगेका नेपालीहरूको उद्धारका सम्बन्धमा भने अन्योल छ । राजधानी काबुलभित्रको एउटा बस्ती गुजरागाँहामा तीन कोठाको एकतले पुरानो घर छ । कम्पाउन्ड छैन । रोजगारीका लागि काबुल पुगेदेखि पोखराका राजेश पोखरेलले यो घर छाडेका छैनन् । वैदेशिक रोजगार विभागबाट श्रम अनुमति नलिई १९ महिनाअघि उनीसहित १८ जनाको टोली भारतीय बाटो हुँदै काबुल पुगेका थिए । उनलाई अफगानी एजेन्टले नै त्यो घरमा लगेर राखेको थियो । ‘काबुल आएदेखि नै सुत्ने र बस्ने मात्रै भएको छ, एक दिन पनि काम गर्न पाइएको छैन,’ काबुलबाट टेलिफोन सम्पर्कमा आएका उनले भने । जति–जति तालिवान विद्रोही राजधानी काबुलतर्फ लम्किँदै छ, त्यति नै पोखरेल त्रसित हुन थालेका छन् । ‘कम्पनीमा काम गर्ने नेपाली सकुशल छन्, उनीहरूलाई कम्पनीले नै नेपाल पठाइरहेको छ, सुरक्षाका लागि आवश्यक प्रबन्ध पनि गरेको देखिन्छ,’ उनले भने, ‘हामी जस्तो रोजगारविहीन भएर कोठामै धन्काएर राखिएकाहरूले भने स्वदेश फिर्ने माध्यम भेटेको छैन ।’

काम नपाएका, भिसा नभएका, २ देखि १० जनासम्म समूह–समूहमा भएका नेपाली भने बढी जोखिममा परेको उनले बताए । ‘यस्तो खालका नेपालीको संख्या १ सय ५० देखि २ सय जनासम्म छ,’ उनले भने । उनीहरू कोठाबाट बाहिर निस्किएका छैनन् । स्थानीय एजेन्टले नै खाना र पानीको प्रबन्ध गर्दै आएका छन् । ‘हामी तीन तहको च्यानलबाट काबुल आइपुगेका हौं, स्थानीय एजेन्टले हामीलाई संकलन गरी दिल्लीको एजेन्टलाई पठायो, दिल्लीको एजेन्टले काबुलको एजेन्टलाई जिम्मा लगायो,’ उनले भने, ‘यसरी काबुलको रोजगारी हात पार्न ९ लाख रुपैयाँसम्म खर्च भयो ।’ 

भारतको बाटो हुँदै अफगानिस्तान जाने नेपालीको तथ्यांक सरकारसँग छैन । त्यसरी जानेमध्ये अधिकांश भिसाविहीन र सानातिना कम्पनीमा काम गर्ने छन् । वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर कम्पनी र व्यक्तिगत श्रम स्वीकृति लिई अफगानिस्तान पुगेका नेपालीको मात्रै विवरण छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले श्रम स्वीकृति लिई गएका विवरण मात्रै विभागसँग रहेको बताए । विभागका अनुसार श्रावण २८ सम्म १४ हजार ८ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ८ हजार जनाले पहिला अफगानिस्तानमा काम गरी फर्केर श्रम स्वीकृतिको अनुमति लिई पुनः गएको रेकर्ड छ ।

Published on: 16 August 2021 | Kantipur

Link

Back to list

;