s

काबुल दुर्घटनामा नुवाकोटका ३ को मृत्यु

कृष्ण थापा
  
अफगानिस्तानको काबुलमा बम हमलामा परेर जिल्लाका तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कल्याणपुर १ ढाँडेका ४६ वर्षीय मधुसुधन कोइराला, कल्याणपुर २ का ४५ वर्षीय डम्बरबहादुर तामाङ र किंताङ ४ का ४९ वर्षीय लीलबहादुर गुरुङ छन् । बर्सुन्चेत ६ का ५० वर्षीय च्याङवा तामाङ घाइते छन् । 
 
काममा जाने क्रममा सोमबार बिहान ५:४० मा कोइराला दुर्घटनामा परेको उनका ज्वाइँ नारायण खनालले जानकारी दिए । मृतक कोइरालाकी छोरी कविता बुबाको दुखद घटना सुनेर स्तब्ध छिन् । गत वर्षको भूकम्पमा परी कोइरालका एक छोरा र एक छोरीको मृत्यु भएको थियो । उनी तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा अफगानिस्तान पुगेका थिए । डम्बरबहादुर, लीलबहादुर र च्याङवाका परिवार भने सम्पर्कमा आएका छैनन् । प्रजिअ विष्णुप्रसाद पोखरेलले परराष्ट्र मन्त्रालयबाट नामावली आएपछि मात्रै कुन गाविसका हुन् थाहा हुने बताए । यसै गरी लमजुङ अर्चलबोट ९ का अृतबहादुर थापाको पनि सोही घटनामा मृत्यु भएको छ ।
 
सुर्खेतका युवा घाइते
 
सुर्खेत– तालीबानी आतंकवादीले गरेको आत्मघाती बम विस्फोटमा सुर्खेतका अमृत रोकाया क्षेत्री घाइते भएका छन् । पारिवारिक सूत्रका अनुसार त्यहाँको क्यानेडियन दूतावासमा सुरक्षा गार्डका रूपमा क्षेत्री कार्यरत थिए । संयुक्त अरब इमिरेट्समा रहेका अमृतका साथी लोकेन्द्रराज शाहीले उनी खतरामुक्त छन् । उनको टाउको, अनुहारमा चोट लागेको छ । घटनामा १२ नेपालीको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।
 
Published on: 21 June 2016 | Kantipur

Back to list

;