s

काबुल विस्फोट : विमानस्थलछेउमै स्वदेश फर्कने पालो पर्खंदै ४० नेपाली

काबुल — अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल छेउमा बिहीबार साँझ भएको दुई विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको छ ।तालिवान अधिकारीले विस्फोटमा मारिनेमा बालबालिकासमेत रहेको जनाएको छ । घटनामा ६० जना घाइते छन् । तालिवानले सत्ता हातमा लिएपछि काबुलस्थित हामिद कारजाई विमानस्थल परिसरमा अफगानिस्तान छाड्न चाहनेको ठूलो भीड जम्मा भइरहेका बेला विस्फोट भएको हो । 

अफगानिस्तान छाड्न चाहने नागरिकको सुरक्षित उद्धारका लागि अमेरिकालगायत पश्चिमा देशका सेना विमानस्थलमा तैनाथ छन् । तालिवानी नेतृत्वले अमेरिका र उसका साझेदार मुलुकलाई आफ्ना नागरिकको उद्धार गर्न अगस्ट ३१ सम्मको समयसीमा तोकेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विमानस्थलबाहिर आत्मघाती विस्फोट भएको पुष्टि गर्दै आफ्ना सुरक्षाकर्मी घाइते भएका जनाएको छ । ‘तीमध्ये एक जनाको अवस्था गम्भीर छ,’ एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । विमानस्थलको मुख्य प्रवेशद्वारको दायाँतर्फ भएका दुई विस्फोटमध्ये एक आत्मघाती भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीको संख्याबारे स्पष्ट भइनसकेको सीएनएनले जनाएको छ । अमेरिकाले भने विस्फोटमा इस्लामिक स्टेटको संलग्नता हुन सक्ने बताएको छ ।

विस्फोटमा आफ्ना थुप्रै सुरक्षा गार्ड घाइते भएको तालिवानले जनाएको छ । काबुलस्थित अमेरिकी दूतावासले विस्फोटको निकै ठूलो आवाज आएको र त्यसलगत्तै विमानस्थल बाहिर गोली हानाहान भएको जनाएको छ । बेलायती रक्षा मन्त्रालयले विस्फोटमा आफ्नो देशका सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतलगायत मुलुकले काबुलमा थप आक्रमण हुन सक्ने भन्दै विमानस्थलबाट उद्धार रोकेकै दिन विस्फोट भएको हो । ती देशले बिहीबार एक सूचना जारी गर्दै ‘सुरक्षा जोखिम रहेकाले आफ्ना नागरिकलाई तत्काल विमानस्थल वरपर नजान’ आग्रह गरेका थिए । अमेरिका र उसका साझेदार देशले गएको अगस्ट १४ यता ९७ हजारको उद्धार गरिसकेको जनाएका छन् ।

रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका सयौं नेपालीको पनि पछिल्ला दिनहरूमा अन्य देशको सहयोगमा उद्धार भइरहेको छ । अमेरिकी, बेलायती, जर्मन तथा क्यानाडेली दूतावासमा काम गर्न काबुल पुगेकामध्ये केही स्वदेश फर्किसकेका छन् भने कपितय उद्धारको पर्खाइमा छन् । अफगानिस्तानसमेत हेर्दै आएको भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले पखाईमा रहेका नेपालीको उद्धारका लागि भारतलगायत देशका अधिकारीसँग समन्वय भइरहेको जनाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासले भने स्वदेश फर्कने आशमा रहेका नेपालीहरू सुरक्षित रहेका जनाएको छ । दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले काबुलस्थित नेपालीहरू भने सुरक्षित रहेका जनाएका छन् । यसअघि, राजदूत नीलाम्बर आचार्यले ट्वीट गर्दै विमानस्थलबाट फर्केका नेपाली सुरक्षित स्थानमा रहेका जनाएका थिए ।

‘दलाल क्याम्प’ का नेपाली विमानस्थल छेउमा

अफगानिस्तानको राजधानी काबुलस्थित ‘दलाल क्याम्प’ मा बस्दै आएका ४० जना नेपालीलाई एकत्रित गरी सुरक्षित ढंगले काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल छेउमा पुर्‍याइएको छ । बिहीबार ११ जना नेपाली काबुलबाट दिल्ली आइपुगेका छन् । काबुलको विभिन्न समूहमा छरिएका नेपालीलाई एकत्रित गरी विमानस्थल छेउमा लगिएको हो । ‘रोजगार र कम्पनीविहीन भएका नेपालीलाई सुक्षित ढंगले कसरी एकै स्थानमा संगठित गर्ने भन्ने ठूलो चुनौती थियो । त्यसमा हामी सफल भएका छौं,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘उहाँहरू सबै होटलमा ल्याएर राखिएको छ ।’

ती अधिकारीका अनुसार विमानस्थल प्रवेश गराउन मित्र राष्ट्रसँग समन्वय भइरहेको छ । होटलमा रहेका एक नेपालीले स्वदेश फर्कन पाउने आशा रहेको बताए । ‘जोखिम मोलेर भए पनि हामी एक ठाउँमा भेला भयौं । अब विमानस्थल छिर्न मात्रै पाए नेपाल जाने ढोका खुल्थ्यो,’ ती नेपालीले भने ।

बिहीबार साँझ विमानस्थलबाहिर बम विस्फोट भएपछि आफूहरू त्रस्त भएको ती नेपालीले भने । ‘बाहिर बम विस्फोट कसले र किन गरायो ? त्यो केही थाहा हुन सकेको छैन । यसले हामीलाई तनाब सिर्जना गरिदिएको छ । विमानस्थल छिर्ने ढोकामा रहने भीडलाई कसरी छिचोल्न सकिन्छ ?’ उनले भने ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालीलाई सुरक्षित ढंगले बिहीबार राति नै विमानस्थल प्रवेश गराउने तयारी भइरहेको छ । ‘उद्धारमा खटिएका मित्र राष्ट्रहरूलाई ४० जनालाई विमानस्थल प्रवेश गराउन र काबुलबाट बाहिर निकाल्न समन्वय भइरहेको छ,’ ती अधिकारीले भने ।

ती नेपालीहरू ६ देखि १८ महिनाअघि काबुल पुगेका हुन् । दलालले रोजगारी दिन नसकेपछि उनीहरू दलाल क्याम्पमा बस्दै आएका थिए । ‘आठ लाख रुपैयाँसम्म खर्च गरेर रोजगारीको खोजीमा काबुल आयौं । कहिले कुन कम्पनीमा अन्तर्वार्ता दिन लगायो ? कहिले कुन कम्पनीमा पुर्‍यायो ? भोलिभोलि भन्दाभन्दै महिना बित्यो’, उनले भने, ‘स्थिति यस्तो बन्यो रोजगारी होइन कि जीवन नै जोगाएर स्वदेश फिर्न पनि कठिन भयो ।’ अफगानिस्तानबाट स्वदेश फिर्न चाहेका नेपाली सुरक्षागार्डहरू भने लगभग काबुल छोडिसकेको परराष्ट्रको अनुमान छ । संयुक्तराष्ट्रअन्तर्गतका नियोगमा काम गर्ने केही नेपाली सुरक्षा गार्डहरू भने तत्काल फिर्ने पक्षमा छैन ।

Published on: 27 August 2021 | Kantipur

Link

Back to list

;