s

काबुल विमानस्थलमा उद्धार पर्खिरहेका नेपाली भन्छन्– ‘मकै भुटेजसरी गोलीको आवाज आइरहन्छ’

होम कार्की

काठमाडौँ — अफगानिस्तानको बदलिँदो राजनीतिक परिस्थितिसँगै सुरक्षा चुनौती थपिएपछि त्यहाँ कार्यरत थुप्रै नेपाली स्वदेश फर्कन चाहिरहेका छन् । तर उनीहरू त्यहाँबाट निस्कन पाइरहेका छैनन् ।

काबुल विमानस्थलमा उद्धारको पर्खाइमा रहेका दोलखाका सुमन मोक्तान ।

अमेरिका–बेलायतलगायत देशका कूटनीतिक नियोगमा कार्यरत केही नेपाली दोहा, कुवेत हुँदै नेपाल फर्किए पनि अझै थुप्रै व्यक्ति त्यहीँ अड्किएका छन् । उनीहरूलाई विमानस्थलसम्म आइपुग्नै सकस परेको छ । राजधानी काबुलस्थित जर्मन दूतावासमा कार्यरत दोलखाका सुमन मोक्तान र इटालियन दूतावासमा कार्यरत इलामका सन्तोषकुमार झन्डै ७२ घण्टाको प्रयासपछि शुक्रबार बिहान ७ बजे विमानस्थल पस्न सकेका छन् । ब्रिटिस सेनाको मद्दतमा उनीहरू र भारतीय मूलका नेपालीसहित ८७ जनाले प्रवेश पाएका हुन । विमानस्थल पस्दाको सकस र त्यहाँको स्थितिबारे सुमनले फोनमा यसरी सुनाए :

हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा काबुल छोड्न चाहनेको ठुलो भिड छ । भिड भएकैले नेटो सेनाले गेट खोलिदिने गर्दैन । बाहिर तालिवानहरू त्यत्तिकै छन् । हुलदंगा मच्चिँदा छिनछिनमा गोली चलिरहन्छ । मकै भुटेजसरी गोलीको आवाज आइराख्छ । हामी विमानस्थल छिर्ने भनेर खासमा बुधबार बिहानै तालिवानको एस्कर्टिङमा आएका थियौं । बुधबार विमानस्थलको मुख्य स्थानमा छिर्न दिनभर प्रयास गर्‍यौं । सम्भव नभएपछि विमानस्थलको छेउकै होटल परिसरमा आएर बस्यौं । त्यस होटललाई ब्रिटिस सेनाले सुरक्षा दिएर राखेको थियो । होटलमा कोठा पाइएन । बाहिरै बस्नुपर्‍यो । ३५ डिग्रीको चर्को घाममा दिनभर तातियौं । मौका मिल्नासाथ विमानस्थल छिर्न पाइन्छ भनेर होटलमा रहेका सबै बाहिरै आएर बस्थे । ब्रिटिस सेनाले बिमानस्थल छिर्ने ग्यारेन्टी नभएसम्म होटलबाट बाहिर ननिस्कन भन्थ्यो । बाहिर निस्किए सुरक्षा दिन नसक्ने बताउँथ्यो । बिहीबार हुलदंगामा परेर मरेका तीन जनाको लास मेरै अगाडिबाट लिएर गएका थिए ।

होटलमा खानेकुरा केही थिएन । साथीहरूले कहिलेकाहीँ बिस्कुट दिन्थे । नत्र पानी पिएर बस्नुपर्‍यो । मंगलबार बिहानदेखि खाना खाएका थिएनौं । भारतीयको साथमा भएकाले हामीलाई दिल्लीस्थित नेपाली दूतावासले भारतबाट आउने विमानमा ल्याउने पहल भइरहेको खबर दिएको थियो । यताको अवस्था नाजुक भएकाले भारतबाट विमान आउन पनि सकेन । उडान नै रद्द भएको खबर आयो ।

ब्रिटिस सेनाले समन्वय गरेर शुक्रबार बिहान ७ बजे विमानस्थलभित्रको अमेरिकी सेनाको क्याम्पभित्र ल्याएको छ । अबचाहिँ बाँचिएला कि भन्ने आस बढेको छ । उनीहरूले खाना खान दिए । हामीलाई विशेष स्थानमा ल्याएर राखेको छ । यहाँबाट पालैपालो अमेरिकी सेनाले लिएर जाने कुरा छ । तर, कता लैजाने हो, थाहा छैन । कसैले दोहा लैजान्छ भनेको छ, कसैले दुबई । यहाँबाट निस्केर जता पुगे पनि नेपाल त पुगिहालिन्छ । खालि काबुलबाट बाहिरिन पाउनु पर्‍यो ।

Published on: 22 August 2021 | Kantipur

Link

Back to list

;