s

‘काबुल विमानस्थलमा भोकै छौं, जहाज कहिले चढ्न पाइन्छ टुंगो छैन’

कान्तिपुर संवाददाता

काठमाडौँ — म दुई वर्षदेखि अफगानिस्तानको काबुलस्थित जर्मन दूतावासको भिसा सेक्सनमा काम गर्थे । घरबिदाबाट फर्केको तीन महिनामात्रै हुँदै थियो, काबुल छोड्नुपर्‍यो । हामीलाई जर्मन दूतावासका कर्मचारीले छोडेर गएपछि बिचल्ली भयो । अहिले म र इटाली दूतावासमा कार्यरत इलामका सन्तोषकुमार राई काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा विमान कुरेर बसिरहेका छौं । हामी दुई जना एउटै भवनमा बस्ने सय जना भारतीय नेपालीसँग मिसिएका छौं । हामी सबै एउटै ‘सलादिन कम्पनी’ का कर्मचारी भएपनि ड्युटी भने विभिन्न दूतावासमा हुन्थ्यो । जर्मनी, इटाली, डेनमार्क, कोरिया लगायतका दूतावासमा काम गर्ने भएपनि हाम्रो बस्ने, खाने ठाँउ एउटै भवनमा हुन्थ्यो ।

ड्युटीमा भएका सबैजना भागिदिए । जर्मनीका कर्मचारी जाने बेला मलाई थाहा नै दिएनन् । म भित्र बसिरहेको थिए । बाहिर स्थानीय सुरक्षाकर्मी तैनाथ नै थिए । बाहिर के भइरहेको छ भन्ने सूचना भित्र हुँदैनथ्यो । म ढुक्क नै थिए । पछि पो सबै हिँडिसकेको थाहा पाए । जर्मन दूतावासको सुरक्षामै खटिने अन्य नेपाली साथीहरू बेलायत पुगिसकेको खबर छ । हामी दुई जना भने बिचल्लीमा परेका छौं ।

म हिजोदेखि भौकै छु । केही खाना पाएको छैन । हिजो (मंगलबार) पनि विमानस्थलमा प्रवेश गर्न पटक–पटक प्रयास भयो, सम्भव भएन । शरणार्थी बनेर जान खोज्ने स्थानीय अफगानी नागरिकहरू विमानस्थलमा प्रवेश गर्नेहरूको तँछाडमँछाड छ । हुलदंगा, भौगदौड चलिरहन्छ । त्यही भएर तालिवानबाट फायरिङ भइरहन्छ । छिन–छिनमा गोली चलिरहन्छ ।

हिजो विमानस्थल प्रवेश गर्ने प्रयास असफल भएपछि फर्केर दूतावास परिसरमै गएर बास बस्यौं । त्यहाँभित्र कसैले खाना दिइए । बुधबार बिहानै फेरि विमानस्थल आयौं । दूतावास आउने बेला तलिवानले नै स्कर्टिङ गरिदियो । लामो प्रयासपछि स्थानीय समय एक बजेतिर मात्रै विमानस्थलभित्र छिर्न सफल भइयो । त्यतिखेर पनि गोली चलेको थियो । स्थिति एकदमै तनावपूर्ण भयो । त्यस्तो बेला बाँचिन्छ जस्तो लागेको थिएन ।

विमानस्थलभित्र प्रवेश पाएपछि अहिले सुरक्षित भएको महसुस गरेका छौं । विमानस्थलमा जो जहाँ पायो त्यहीँ नै बसिरहेका छन् । हामी चउरमै छौं । ब्रिटिस सेनाले पानीसम्म ल्याएर दिएको छ । यहाँ भीड छ । अन्य नेपालीहरू छन् कि छैनन् थाहा छैन । हामी शीतल ठाँउमा आएर बसेका छौं । 

हाम्रो साथमा करिब एक सयजना भारतीय र नेपालीहरू छौ । उनीहरू बढीजसो दार्जिलिङ, देहारादुनतिरका छन् । उनीहरूलाई लिन भारतबाट विमान आउने भनिएको छ । कतिखेर आउने हो, केही थाहा छैन । हामीलाई पनि साथमै लिएर जाने कुरा छ । हामी जान पाउने आशामा बसेका छौं ।

अमेरिकी दूतावासमा काम गर्नेले केही झन्झट बोक्नुपरेन । उनीहरूलाई दूतावासले नै हेलिकप्टरमार्फत विमानस्थल ल्याइदियो । उनीहरू उद्धारको पहिलो प्राथमिकतामा पनि परिहाले ।

हाम्रो दूतावासका कर्मचारीहरूले हामीलाई बिचल्ली बनाएर छोडेर गए । हाम्रो दूतावासका कोही साथीहरूसँग सम्पर्क छैन । हामीभन्दा सिनियरहरूले सबै प्रोसेसहरू भइरहेको बताएका छन् ।

जहाजमा नचढेसम्म ढुक्क छैन । काबुलबाट उद्धार गर्नको लागि भारतबाट जहाज आउने कुरा यहाँ सिनियर सरहरूले भनि राख्नुभएको छ । त्यो जहाज कहिले आउने हो थाहा छैन । कमसेकम भारतसम्म पुग्न पाए पनि नेपालबाट पैसा वा टिकट मगाएर भए पनि नेपाल आउनुहुन्थ्यो ।

Published on: 19 August 2021 | Kantipur

Link

Back to list

;