s

कामका लागि विदेश जाने घटे

गत साउन र भदौ महिनामा ६० हजार ७७२ जनाले वैदेशिक रोजगारीमा जान श्रम अनुमतिपत्र लिएका छन्। श्रम तथा रोजगार मन्त्रालयका अनुसार उक्त सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २६.७९ प्रतिशतले कम हो।

अनुमति पत्र लिने मध्ये दुई हजार ७७० महिला र ५८ हजार दुई पुरुष भएको श्र मन्त्रालयले जनाएको छ।

सोही अवधिमा वैदेशिक रोजगारीमा एक पटक गएर आएका २२ हजार ९४२ जनाले पुनः श्रम स्वीकृति लिएको बताइएको छ।

यसैगरी, साउन र भदौ महिनामा ठगीविरुद्ध कुल ४४८ उजुरीबाट रु २४ करोड ४९ लाख ६६ हजार रकम दाबी भएकोमध्ये ६७ उजुरी फरक भई रु एक करोड ८१ हजार असुली भएको सो मन्त्रालयका उपसचिव दिवस आचार्यले बताए।

उनका अनुसार सोही अवधिमा ३१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पेस गरिएको र सो विभागबाट सातवटा मुद्दामा निर्णय भई रु आठ लाख ५० हजार असुली भएको छ।

यस्तै उक्त अवधिमा वैदेशिक रोजगारमा रहेका तीन कामदारको मृत्यु भएकाले तीनका परिवारलाई रु एक लाखका दरले रु तीन लाख दिइएको, गम्भीर प्रकृतिका अङ्गभङ्ग भएका आठजनालाई जनही रु ८० हजारका दरले आर्थिक सहायता प्रदान गरिएको र विदेशमा मृत्यु भएका तीस जनाको शव काठमाडौँदेखि निजको घर ठेगानामा पुर्‍याउन रु १० हजारका दरले रु तीन लाख आर्थिक सहायता दिइएको पनि उनले बताए।

वैदेशिक रोजगारीमा जानेले वैदेशिक रोजगारी कल्याण कोषमा प्रतिव्यक्ति रु एक हजार जम्मा गर्नुपर्दछ र सोही कोषबाट उनीहरूलाई आर्थिक सहायता प्रदान गर्ने गरिन्छ।

विसं २०६४ भन्दा अघिको ऐनले विदेशमा कामका लागि गएकाहरूको मृत्यु भएमा प्रतिव्यक्ति रु एक लाख २०६४ भन्दा पछिको ऐनअनुसार प्रतिव्यक्ति रु एक लाख ५० हजार आर्थिक सहयोग दिने प्रावधान रही आएको छ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर करार अवधि समाप्त भएका १७ जना मृतकका परिवारलाई प्रतिपरिवार रु १० हजारका दरले रु एक लाख ७० हजार आर्थिक सहायता प्रदान गरिएको पनि उपसचिव आचार्यले बताए।

श्रम कार्यालयहरूबाट २०६९ साउन र भदौ महिनामा ७९ जना विदेशीलाई श्रमि स्वीकृति र ४६ जनाको श्रम नवीकरण, १३६ वटा प्रतिष्ठान निरीक्षण र ११ वटा श्रम विवाद समाधान गरिएको पनि उनले बताए।

नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ ११ गतेको निर्णयअनुसार कुबेत, कतार, साउदी अरब, र युएइमा व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी मापदण्ड स्वीकृति गरी लागु भएको बताइएको छ।

Published on: 26 September 2012 | Nagarik

Back to list

;