s

कामदारमाथिको अतिरिक्त शुल्क रोक्न आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना मलेसियन समकक्षी दातो सैफुद्दिन अबदुल्लाहसँग टेलिफोन–वार्ता गरेका छन् । सोक्रममा मन्त्री ज्ञवालीले मलेसियाका नवनियुक्त परराष्ट्रमन्त्री अबदुल्लाहसँग नेपाली कामदारबाट अवैध रूपमा भइरहेको असुली रोक्ने कार्यमा सहयोगको आग्रह गरेका हुन् । मन्त्री अब्दुल्लाहले पनि कामदारमाथि भइरहेको अतिरिक्त असुलीको विषयमा आफूले गम्भीरताका साथ लिएको प्रतिक्रिया दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
 
राहदानी संकलन, भिसा प्रोसेसिङ, इमिग्रेसन सेक्युरिटी क्लिरियन्स, बायोमेट्रिक, माइग्राम्सलगायतका नाममा मलेसिया जाने हरेक कामदारबाट अवैध रूपमा १८ हजार रुपैयाँभन्दा बढी असुली हुँदै आएको थियो । नेपाल सरकारले त्यस किसिमको अवैध असुलीामा संलग्न संस्था खारेजीको निर्णय गरिसकेको छ । कामदार ठगी कार्यमा संलग्न विभिन्न संस्थाविरुद्धको मुद्दा यतिखेर अदालतमा विचाराधीन अवस्थामा छ ।
 
कामदारमाथि ठगी गर्ने संस्था खारेजीको निर्णयसँगै नेपाली कामदारको मलेसिया रोजगारी बन्द भएको छ । यो विषयमा मलेसियाली सरकारको आधिकारिक प्रतिक्रिया नआउँदा मलेसियाको रोजगारी अनिश्चित बनेको हो । मन्त्री ज्ञवालीले मलेसियाली समकक्षी अबदुल्लाहलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् । जवाफमा अब्दुल्लाहले कूटनीतिक माध्यमबाट विस्तृतमा कुराकानी गर्ने प्रतिक्रिया व्यक्त गरेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
 
Published on: 6 July 2018 | Naya Patrika

Back to list

;