s

कामदारलाई ऋण नबोकाऊ : कतार

- होम कार्की, दोहा (कतार)
 कतार सरकारले ऋण बोकाएर कामदार नपठाउन नेपाललाई आग्रह गरेको छ । परराष्ट्र सचिव शंकरदास वैरागी नेतृत्वको नेपाली प्रमण्डललाई कतारी श्रम तथा सामाजिक मन्त्री डा. अब्दुल्लाह बिन सलेह मुबारक अल खुलाइफीले सबै कुरा नि:शुल्क हुँदाहुँदै किन ऋण बोकाएर पठाइएको भन्दै गुनासो गरे ।
 
‘कामदार ऋणसँग गासिनु हुँदैन भन्ने हाम्रो कुरो हो,’ मन्त्री मुबारकले वैरागीलाई भने, ‘भिसा नि:शुल्क छ । हवाई टिकट नि:शुल्क छ । तैपनि कामदारहरू गाउँमा यति ऋण लाग्यो, उति ऋण लाग्यो भन्ने सुनाइरहेका छन् ।’
 
जवाफमा वैरागीले कामदारलाई नि:शुल्क पठाउने काम अगाडि बढिरहेको जानकारी दिए । मन्त्रीले पछिल्लो समय कामदारको हितका लागि कतार सरकारबाट चालिएको सुधारबारे बताएका थिए ।
 
‘कामदारको तलब सुरक्षा गर्न बैंकबाट तलब दिन थालिएको छ । स्पोन्सरसिप कानुनलाई परिवर्तन गरिसकेका छौं,’ मन्त्रीले भने, ‘श्रम निरीक्षक कम्पनी कम्पनीमा खटाइएको छ । नेपालीमै उजुरी लिने व्यवस्था गरिएको छ । उजुरी कल सेन्टर बनाइएको छ ।’
कतार र नेपालबीच सम्बन्ध सुदृढ बनाउन अहिलेसम्म बनेका सबै संयन्त्रलाई सक्रिय बनाउने सहमति पनि बैठकमा भएको छ । नेपाल र कतारको परराष्ट्र सचिवस्तरीय बैठकमा यस्तो सहमति भएको हो ।
 
‘नेपाल र कतारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय सम्बन्धका सबै विषयलाई समीक्षा, छलफल र अपडेट गर्ने एउटा संयन्त्र सन् २००५ मा बनेको थियो । विविध कारणले हुन नसकेको यसको बैठक गर्ने सहमति भयो,’ वैरागीले कान्तिपुरसँग भने, ‘हाम्रा विभिन्न संयन्त्रहरू छन् । संस्थागत रूपमा अगाडि बढ्न संयन्त्रको बैठक गर्ने सहमति भयो ।’
 
दुई मुलुकबीच परराष्ट्र सचिवस्तरीय बैठक पहिलोपटक भएको हो । सचिव वैरागीका अनुसार सन् २००५ मा भएको श्रम सम्झौतालाई समय अनुसार परिमार्जन गर्न दुवै देश सहमत भएको छ । त्यसका लागि दुई देशका अधिकारीहरूको ‘टेक्निकल कमिटी’ को बैठक छिट्टै बसेर टुंग्याउने भएको छ ।
 
बैठकमा अर्को वर्ष हुने दौत्य सम्बन्धको ४० औं वर्षगाँठलाई विशेष रूपमा मनाउने, दुई देशबीच उच्च स्तरमा कूटनीतिक सम्पर्क कायम गर्ने, लगानी, पर्यटन र व्यापारका सम्बन्धलाई फराकिलो बनाउने सहमति भएको छ ।
 
नेपालले खाडीमा कार्यरत नेपालीको पक्षमा काम गर्न गल्फ कोअपरेसन काउन्सिलको ‘डाइलग पार्टनर’ को रूपमा सदस्य बन्न चाहेको विषय पनि कतारी अधिकारीसमक्ष राखेको थियो । ‘त्यसको सम्भावनाको विषयमा छलफल गरेका छौं,’ वैरागीले भने, ‘यो भइदिए हामीले हाम्रा चासोका विषय ती फोरम राख्न सहज हुन्थ्यो ।’
 
यस प्रस्तावमा कतार सकारात्मक देखिएको छ । ‘कतारसँग श्रमसँगको सम्बन्ध विशेष थियो । अब योसँगै नयाँ क्षेत्रमा पनि लैजान सकिन्छ भन्ने सन्देश हामीले पाएका छौं,’ उनले भने, ‘कतारले नेपाललाई निकै महत्त्वको साथै प्राथमिकतामा राखेको पाएँ ।’
 
टोलीले पराराष्ट्रमन्त्री डा. खालिद बिन मोहमद अल आत्तियाह, कतार फाउन्डेसनका समूह कार्यकारी निर्देशक इन्जिनियर जस्सिम मोहमद ए टेलिफाट, सहायक परराष्ट्रमन्त्री मोहम्मद बिन अब्दुल्लाह बिन मुतिब अल रुमाइही, अन्तर्राष्ट्रिय सम्बन्ध उप–परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुल्लाह बिन जासिम अल थानीसँग छुट्टाछुट्टै कूटनीतिक भेट गरेको थियो ।
 
Published on: 27 January 2016 | Kantipur

Back to list

;