s

कामदारलाई कुस्त राहत

होम कार्की

श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई सरकारले अब ७ लाख रुपैयाँ राहत दिने भएको छ। यसअघि मृत्यु हुने कामदारका परिवारले ३ लाख रुपैयाँ मात्र राहत पाउँथे। वैदेशिक रोजगारी नियमावली २०७४ संशोधन भई सोमबार नेपाल राजपत्रमा प्रकाशित भएपछि वैदेशिक रोजगारीका क्रममा पीडित र उनका परिवारलाई दिइने राहत तथा नयाँ सेवासुविधा थपिएको हो। 

वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूका परिवारको यस्तो कल्याणकारी काम वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गर्नेछ। बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार श्रमस्वीकृतिको म्याद सकिएको एक वर्षसम्म पनि विदेश वा स्वदेशमा मृत्यु भएमा कामदारका परिवारले सुविधा पाउनेछन्। यसअघि श्रमस्वीकृति मिति सकिएलगत्तै मृत्यु, बिरामी वा अंगभंग भएका कामदार बोर्डको सुविधा लिनबाट वञ्चित थिए। ‘श्रमस्वीकृतिको म्याद सकिएको एक वर्षसम्मको समय थप गर्दा करार अवधि सकिनेबित्तिकै स्वदेश फिर्न नपाएका र नफर्केका झन्डै १० लाख कामदारको हितमा हुन्छ,’ उनले भने। 

नयाँ नियमअनुसार मृतक कामदारका परिवारले १५ लाख बिमा (२०७३ वैशाख १ मा श्रमस्वीकृति) सहित २२ लाख रुपैयाँ पाउने भएका छन्। त्यसबाहेक सरकारले तोकेको १५ प्रकृतिका गम्भीर रोगबाट मृत्यु भएमा थप ५ लाख रुपैयाँ (२०७३ माघ १५ श्रमस्वीकृति) पाउने काफ्लेले बताए। 

नियमावली संशोधन भएपछि बोर्डको कार्यक्षेत्रसमेत फराकिलो भएको छ। बोर्डले विदेशी जेलमा रहेका नेपाली कामदारका पक्षमा वकिल राख्न सक्ने भएको छ। ‘जो नेपाली विदेशी जेलमा छन्, सरकारले वकिल राखेर प्रतिरक्षा गर्न सकेको छैन। अब मुद्दा लड्न आवश्यक रकम बोर्डले उपलब्ध गराउँछ,’ काफ्लेले भने, ‘यसले निर्दोष वा अन्जानमा जेल परेका नेपालीका पक्षमा कानुनी पैरवी हुन्छ।’ विदेशी जेलमा झन्डै ३ सय २० नेपाली छन्।

उनले स्वदेशमा रहेको अवधिमा मृत्यु, बिरामी वा अंगभंग भएका कामदारलाई पनि बोर्डले नियमानुसार सुविधा दिने बताए। ‘बिरामी भएर आएका कामदारलाई स्वदेशको अस्पतालमा उपचार गर्दा ७ लाख रुपैयाँसम्म बेहोर्छ,’ उनले भने, ‘कामदारका परिवारलाई सरकारले गम्भीर भनी तोकेका रोग लागेमा ५० हजार रुपैयाँसम्म उपचार खर्च दिइनेछ।’

बोर्डले मृतक परिवारका सन्तानलाई उच्च शिक्षासम्मको खर्चसमेत बेहोर्ने भएको छ। ‘निजी र सरकारी दुवै खालका विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ,’ उनले भने, ‘महिला कामदारका बालबच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना गर्नेछौं।’ बोर्डले आफ्नो दायित्व बढेको भन्दै कल्याणकारी शुल्कसमेत सोमबारबाटै बढाएको छ। ‘खाडी देशमा जाने कामदारका लागि १५ सय र मलेसिया जाने कामदारका लागि २५ सय रुपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ,’ उनले भने। 

वैदेशिक रोजगारी
रोजगारीकै क्रममा मृत्यु भए ७ लाख दिइने 
बिमाको १५ लाखसहित २२ लाख रुपैयाँ पाउने
गम्भीर प्रकृतिका रोगबाट मृत्यु भएमा थप ५ लाख दिइने
विदेशी जेलमा रहेका नेपालीका लागि सरकारले नै वकिल राख्ने


Published on: 1 August 2017 | Kantipur

Back to list

;