s

कामदारको खर्च रोजगारदाताले बेहोर्ने

होम कार्की

मलेसियाले कामदारको खर्च रोजगारदाता कम्पनीबाटै बेहोर्ने सहमति नेपालसँग गरेको छ । फागुन ९ र १० गते काठमाडौंमा भएको नेपाल र मलेसियाबीचको श्रम सम्झौताको प्रारम्भिक उच्चस्तरीय बैठकमा मलेसियाका अधिकारीहरूले भिसा प्रक्रिया, वान स्टेप सेन्टर (ओएससी), मिग्राम्स, इमिग्रेन्स सेक्युरिटी क्लिअरेन्स (आईएससी) गर्न लागेको खर्च कम्पनीले बेहोर्ने सहमति गरेको हो । 

बैठकमा नेपाली पक्षले कामदारलाई भार पर्ने गरी अवैध रूपमा रकम संकलन गर्ने काम भएकोप्रति आपत्ति जनाएपछि मलेसिया पक्षले यसको खर्च कम्पनीबाटै दिलाउन तयार भएको हो । ‘स्वास्थ्य परीक्षण गर्नबाहेक अरू शीर्षकमा लागेको खर्च कामदार मलेसिया पुगेपछि कम्पनीबाट दिने सहमति भयो,’ बैठकको नेतृत्व गरेका श्रम मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेलले कान्तिपुरसँग भने । 

मलेसिया जाने कामदारले बायोमेडिकल (स्वास्थ्य परीक्षण) सहित १७ हजार ७ सय रुपैयाँ बुझाउनुपर्छ । बायोमेडिकलको ४५ सय रुपैयाँ शुल्क छ । भुर्तेलका अनुसार श्रम सम्झौताको मस्यौदामा भएको छलफल सकारात्मक रूपमा अगाडि बढेको छ । वैदेशिक रोजगार व्यवसायी संघले भने नेपालमा कामदारसँग लिने शुल्क नै खारेज गर्नुपर्ने भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराइएको जनाएको छ । ‘कामदार मलेसिया गएपछि कम्पनीले रकम फिर्ता दिन्छ भन्ने ग्यारेन्टी कसले गर्छ ?’ संघका महासचिव रोहण गुरुङले भने, ‘यसलाई खारेजी नभए चैतबाट आन्दोलन गर्छौं ।’ 

श्रम मन्त्रालयका अनुसार मलेसियासमक्ष कामदारलाई दुईतर्फी टिकट दिन, २४ घण्टा नै बिमाको व्यवस्था गर्न, कामदारलाई नि:शुल्क बसोबास दिन र लेबी पूर्ण रूपमा हटाउनुपर्ने विषयलाई बैठकमा राखेको थियो । त्यसमा मलेसियाले कामदार आउने बेलामात्रै टिकट दिने अडान राखेपछि यो विषय टुंगो लागेको छैन । ‘दुवै पक्षले राखेका आआफ्ना एजेन्डामाथि छलफल भयो,’ उनले भने, ‘केही विषयमा दुवै पक्षले आ–आफ्ना अडान राखेका छन् । नमिलेको विषय उच्च तहमा छलफल गरी दुई महिनाभित्र टुंग्याउने सहमति भएको छ ।’
नेपालले २००३ देखि नै मलेसियासँग श्रम सम्झौता गर्ने अग्रसरता देखाउँदै आएको हो ।

लामो छलफलपछि मस्यौदाले २०११ मै अन्तिम रूप पाएको थियो । त्यतिखेर मलेसियाले नेपाली सरकारी निकायको संलग्नताबिनै कामदार आपूर्ति गर्न पाउने अडान राखेकाले रोकिन पुगेको थियो । अधिकारीका अनुसार सरकारले कामदारको उच्च गन्तव्य मुलुकसँग अनिवार्य श्रम सम्झौता गर्ने नीतिलाई प्राथमिकता दिएपछि रोकिएको प्रक्रिया पुन: अगाडि बढेको हो । झन्डै १४ लाख नेपालीले मलेसियामा श्रम स्वीकृति लिएर गइसकेका छन् ।

हाल ४ लाख ५ हजार नेपाली कार्यरत रहेको मलेसियाले जनाएको छ । सुरक्षा गार्ड र उद्योगमा जानेहरू क्रमश: ५० हजारदेखि १ लाख २० हजार रुपैयाँ म्यानपावरलाई बुझाउन जान बाध्य छन् । मलेसियाले कामदारका लागि खानाबाहेक एक हजार रिंगेट (झन्डै २४ हजार रुपैयाँ) तलब तोकेको छ । जसबापत कामदारले मासिक १ सय ५० रिंगेटसम्म लेबी बुझाउनुपर्ने बाध्यता छ । 

कामदारसँग जोडिएको सबै विवाद हटाउन स्पष्ट श्रम सम्झौता आवश्यक रहेको मलेसियाका लागि पूर्व श्रमसहचारी सूर्यप्रसाद भण्डारीले बताए । ‘नेपाली कामदारले मलेसियामा ठूलो शोषण सहनुपरेको छ । उनीहरूले न्याय पाउनबाट वञ्चित हुनुपरेको छ । त्यसबाहेक चर्को लागत खर्च, न्यून तलब, अनावश्यक लेबी बुझाउनुपर्ने बाध्यता जस्ता समस्या श्रम सम्झौताबाटै समाधान गर्नुपर्छ,’ उनले भने ।

Published on: 26 February 2017 | Kantipur

Back to list

;