s

कामदारको कमाइ पुँजी पलायनको माध्यम बनाइँदै

रोशन अधिकारी

औपचारिक माध्यमबाट रकम देश भित्रिने क्रम घटे पनि वैदेशिक रोजगारमा रहेकाका परिवारले बैंकबाट गत वर्षभन्दा बढी रकम पाइरहेको अनौठो तथ्य फेला परेको छ । राष्ट्र बैंकले मुलुकका १६ जिल्लामा गरेको अध्ययनले विदेशी मुद्रा भित्रिने क्रम सुस्त भएको तर परिवारले भने रकम पाई नै रहेको भेटिएको हो ।

रेमिट्यान्सका रूपमा भित्रिने विदेशी मुद्रा घट्नु तर पाउनेले बैंक वित्तीय संस्थाबाटै गत वर्षभन्दा बढी रकम पाउनुले हुन्डीसँगै विदेशमा रकम खोज्ने नेपाली बढेको देखाएको हो । 'विदेशी मुद्रा विदेशमै लिने र यहाँको बैंकमा पैसा हालिदिने प्रवृत्ति हुन सक्छ,' राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने, 'यसलाई निरुत्साहित गर्न छलफल गरिरहेका छौं ।'

मुलुकको कुल गार्हस्थ उत्पादनसँग तुलना गर्दा २८ प्रतिशत योगदान देखिएको रेमिट्यान्स आप्रवाह सुस्ताउन थालेपछि केन्द्रीय बैंकले अध्ययन गरेको हो । 'मुलुक भित्रने रेमिट्यान्स औपचारिक रूपमा सुस्त देखिँदा पनि पाउनेले भने औपचारिक माध्यमबाटै बढी रकम पाइरहेको बताएका हुन्,' श्रेष्ठले भने, 'रेमिट्यान्स पाउनेले हुन्डी नभई बैंक वित्तीय संस्थाकै माध्यमबाट रकम लिइरहेको बताएका हुन् ।'

राष्ट्र बैंकले रेमिट्यान्सको प्रयोगबारे १६ जिल्लाका ३ सय २० घरपरिवारमा गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

'रेमिट्यान्स पाउने घरपरिवारको खर्चको प्रवृत्ति र बचत बढाउन अपाउनुपर्ने उपायबारे अध्ययन गर्दा यस्तो देखिएको हो,' श्रेष्ठले भने, 'यसमा पूर्वदेखि पश्चिमसम्मका रेमिट्यान्स पाउने घरपरिवार छनोट गरिएको छ ।' विदेश जानेको क्रम लगातार वृद्धि भइरहँदा रेमिट्यान्स घट्नुपर्ने कुनै ठोस कारण भने राष्ट्र बैंकले देखेको छैन । 'गत वर्षको ७ महिनासम्म मासिक १३ सयको हाराहारी विदेश गइरहेकामा यस वर्षको सोही अवधिमा करिब १५ सय बिदेसिएको तथ्यांकले देखाएको छ,' श्रेष्ठले भने, 'रेमिट्यान्स आउने क्रम घट्नुपर्ने अन्य कारण पनि देखिँदैन ।'

रेमिट्यान्समा सुसस्ता देखिनुपर्ने कुनै कारण नरहेको र अनौपचारिक कारोबार बढेको जानकारी विभिन्न सूचक हेरेर पाउन सकिने अर्थविद् केशव आचार्य बताउँछन् । 'विदेश जानेको संख्यामा वृद्धि, रुपैयाँको अवमूल्यन, सरकारले विभिन्न मुलुकसँग गरिरहेको श्रम सम्झौतालगायतले

रेमिट्यान्स घट्नुपर्ने कुनै कारण देखाउँदैन,' राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख भएर लामो समय काम गरेका आचार्यले भने, 'त्यसैले घट्नुको कारण अनौपचारिक कारोबार अत्यधिक रूपमा बढ्नु हो ।'

आर्थिक वर्षको दोस्रो र तेस्रो महिनामा रेमिट्यान्स आउने क्रम अघिल्लोको तुलनामा क्रमशः ४ र ० दशमलव ६ प्रतिशतले घटेको थियो । बिदेसिनेको संख्या बढिरहे पनि त्यसपछि सुस्त वृद्धि मात्र देखिएको छ । तर कुन कुन मुलुकबाट भित्रिने रेमिट्यान्समा असर परेको हो भन्ने जानकारी राष्ट्र बैंकले लिइसकेको छैन ।

मुलुकभित्र आइसकेको विदेशी मुद्रा बाहिर लैजान कानुनी व्यवस्था नभएकाले रेमिट्यान्सको रकममा अनौपचारिक कारोबारीको आँखा परेको विश्लेषक बताउँछन् । विदेशमा रकम लगेर राख्न, सम्पत्ति खरिद गर्न, कारोबार विस्तार गर्न, सुन तस्करीलगायत प्रयोजनमा रेमिट्यान्सको रकम प्रयोग भइरहेको हुन सक्ने आचार्यले बताए ।

मुलुकले विदेशी मुद्रा कमाउने प्रमुख माध्यम रेमिट्यान्स हो । ट्रान्सफर शीर्षकमा राखिने रेमिट्यान्स र पेन्सनको रकम विदेशी मुद्रा भित्र्याउने सबैभन्दा ठूला माध्यम हुन् । त्यसपछि बैंक वित्तीय संस्थाले विदेशमा गरेका लगानी र त्यसबाट आउने प्रतिफलमार्फत रकम भित्रिन्छ ।

विदेशी ऋण, अनुदानको रकम त्यसपछि आउँछ । पर्यटनलगायत सेवा उद्योगबाट रकम भित्रिनेसँगै बाहिरिने क्रम पनि उत्तिकै हुन्छ । व्यापारबाट कमाएको भन्दा धेरै गुणा आयातबाट बाहिरिरहेको छ । 'व्यापार घाटा बढ्दै जाँदा त्यति धेरै चिन्ता हुँदैन,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'तर त्यसलाई पूर्ति गर्ने रेमिट्यान्स आउने क्रममै असर पर्नु चिन्ताको विषय हो ।'

रेमिट्यान्स घटने तर आयात बढी रहने हो भने भुक्तानी सन्तुलनमा असर परेर विदेशी मुदाको सञ्चिति घट्दै जान्छ । भुक्तानी सन्तुलन ऋणात्मक हुनु र सञ्चिति घट्दै गएर मुलुक टाट पल्टिने अवस्थामा पुग्छ । भारतले सन् १९९० मा यस्तै अवस्था भोगेको थियो । नेपालमा भने २०६६ यता भुक्तानी सन्तुलन ऋणात्मक भएको छैन । विदेशी मुद्राको सञ्चिति झन्डै ८ महिनाको आयातलाई थेग्न सक्नेछ ।

Published on: 6 April 2015 | Kantipur

Back to list

;