s

कामदारमाथि ज्यादति भएको छैन : कतार

 कतारले नेपालीलगायत विदेशी कामदारमाथि ज्यादति गरेको भनी हालै बेलायतको गार्जियनमा प्रकाशित समाचारप्रति असहमति जनाएको छ । कतारमा रहेका नेपाली कामदार तथा अन्य देशका श्रमिकहरुमाथि ज्यादति गरेको तथ्य हालै बेलायतको एक पत्रिकाले सार्वजनिक गरेको थियो । 

कतारको राष्ट्रिय मानवअधिकार आयोगले त्यस्तो कुनैपनि ज्यादति नगरिएको जनाएको छ । बेलायतको गार्जियन नामक पत्रिकाले हालै गरेको एक अनुसन्धानमा कतारमा रहेका नेपाली कामदारहरुलाई कतार सरकारले दासका रुपमा व्यवहार गरेको पाइएको बताइएको छ । 

सो अनुसन्धानमा आगामी सन् २०२२ मा हुन लागेको विश्वकप फुटबलका लागि आवश्यक पूर्वाधारको निर्माणमा संलग्न नेपाली कामदारलाई त्यस्तो व्यवहार गरिएको बताइएको छ । आयोगका प्रमुख अलि अल मारीले मङ्गलबार गरेको एक पत्रकार सम्मेलनमा सो आरोपको खण्डन गरेका हुन् । 

पत्रकार सम्मेलनमा मारीले यस्तो कुनैपनि व्यवहार नभएको दाबी गरेका छन् । ‘गार्जियनले गरेको अनुसन्धान कपोलकल्पित हो र उसले राखेका ती सबै तथ्याङ्कमा कुनै सत्यता छैन’ उनले भने । 

हालैमात्र जोखिमपूर्ण काममा लगाइएको कारण दर्जनौँ कामदारको ज्यान गएको छ र उनीहरुमाथि अमानवीय व्यवहार गरिएको पनि उक्त अनुसन्धानमा जनाइएको छ । 

कतारमा रहेको नेपाली दूतावासबाट प्राप्त गरेको सूचनामा हाल कतारमा करिब तीन लाख ७० हजार नेपाली नागरिक रहेका उल्लेख गरिएको छ । विश्वकै सबैभन्दा दोस्रो ठूलो श्रम शक्ति नेपाली रहेको कतारमा आधुनिक युगकै सबैभन्दा नराम्रो रुपको दासता व्याप्त रहेको पनि सो अनुसन्धानमा देखाइएको छ । 

विश्वकप फुटबलको पूर्वाधारको निर्माणमा रहेका कामदारप्रति नै यस्ता खालका दुव्र्यवहारहरु गरिएकोले कतारलाई उक्त प्रतियोगिताको आयोजना गर्न दिन नहुने बहस पनि चलेको छ । 

उक्त अनुसन्धानले यसवर्ष मात्र एकसय ५१ जना नेपाली नागरिकको ज्यान गएको र ती मध्येमा १५ जना त कार्यस्थलमै मारिएका पनि बताएको छ । 

सन् २०१२ मा मात्र कतारमा दुईसय ७६ जना नेपाली नागरिकको ज्यान गएको छ । सो वर्ष ५५ जनाको कार्यस्थलमै ज्यान गएको बताइएको थियो ।

Published on: 2 October 2013 | Nagarik

Back to list

;