s

काम पाएपछि मजदुरलाई राहत

सन्तोष गौतम 

बेनी : बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न र मजदुरलाई विकास आयोजनामा काम पाएपछि राहत मिलेको छ । हालसम्म कोरोना संक्रमित नभेटिएको म्याग्दीमा स्थानीय मजदुर र उपकरण परिचालन गरेर सतर्कता अपनाएर आयोजना सञ्चालन हुन थालेका छन् ।

रोजिरोटी गुमेर सबैभन्दा बढी समस्यामा परेका मजदुरहरुलाई रोजगारी सिर्जना भएपछि राहत मिलेको छ । ‘छाक टार्नकै लागि सरकारी राहतकै मात्र भर पर्नु परेको छैन्,’ बेनी –१ आनन्दबगरका रामबहादुर दमाईले भने, ‘बाहिर जान नपाए पनि गाउँकै आयोजनामा काम पाइएको छ ।’

पाँच लाख रुपैयाँ बिनियोजन भएको आनन्दबगर नदी नियन्त्रण योजनामा उनीसहित छ जनाले बन्दाबन्दीमै बीस दिन काम गरे ।  प्रदेश, संघ सरकारका निकाय र स्थानीय तहद्वारा सञ्चालित पूर्वाधार निर्माणका आयोजनालाई निरन्तरता दिइएको छ ।

सामाजिक दुरि कायम र कामदारको सुरक्षा सतर्कता अपनाएर सञ्चालन भएका छन् । बाहिरका कामदार भित्रन नदिने तर भएका र स्थानीय कामदारलाई परिचालन गरेर विकास आयोजना सञ्चालन गरिएका हुन् । 

घर जान नपाएका र स्थानीय मजदुरहरुलाई परिचालन गरेर निर्माण सामग्री उपलब्ध आयोजनाका कामलाई निरन्तरता दिँदा राहत वितरणमा गर्नुपर्ने खर्च बचतका साथै विकाससमेत भएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । 

जलविद्युत, प्रशारण लाइन, एक्साभेटर प्रयोग गरेर सडकको ट्याक (मार्ग खोल्ने), नाली बनाउने, सुधार गर्ने, मोटर चल्ने पुल ढलान, नदी नियन्त्रणका लागि पर्खाल लगाउने, सिंचाई, खानेपानी, विद्युतीकरण, भवन निर्माणको काम सञ्चालनका लागि स्थानीय प्रशासनले सहजीकरण गरेको छ ।

उपभोक्ता समिति र निर्माण व्यवसायीले सामाजिक दुरी कायम गराउनुका साथै सेनिटाइजर, मास्कको व्यवस्था गरेर मजदुरलाई परिचालन गरेका छन् । लकडाउनमा कतिपय मानिसहरु सहरबाट जन्मथलो फर्किएकाले गाउँमा काम गर्ने जनशक्तिको कमी छैन। कोरोना संक्रमण नभेटिएका ठाउँमा भएका मजदुर परिचालन गर्दा विकासका कामले पनि गति लिने र मजदुरहरुलाई भोकभोकै बस्नुपर्ने समस्या हट्ने आनन्दबगरका सन्तोष बोगटीले बताए । 

Published on: 3 May 2020 | Annapurna Post

Link

Back to list

;