s

काम बन्द भएपछि गुजारामा समस्या

देवनारायण साह

मोरङ — विराटनगर–१३ का अशोक पासवान लकडाउनअघि बिहान १० नबज्दै काममा जान्थे । बेलुका पनि अतिरिक्त समयमा समेत काम गर्दै आएका थिए । तर चैत ११ देखि उनी काममा जान पाएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेयता काम गर्न जान नपाएको उनले बताए ।

वाग्मती प्लास्टिक उद्योगमा १९ वर्षदेखि काम गर्दै आएका पासवानले अहिले आफूलाई गुजारा चलाउनसमेत समस्या भएको बताए । लकडाउनयता उद्योगले तलबसमेत दिएको छैन ।

‘उद्योग मालिकले चैतमा काम गरेको १० दिनको मात्रै तलब दिनुभयो,’ उनले भने, ‘काम नगरेको दिनको तलब नदिँदा परिवार पाल्न गाह्रो भएको छ ।’ दुई छोरा, पत्नी गरी चार जनाको परिवार पाल्न यसबीचमा ५ हजार सापटी लिएर चामल, दाल, तरकारी किनेको उनको भनाइ छ ।

चैत २० देखि दुई–चार जना मजदुर खटाएर उद्योग चलाइरहे पनि आफूहरूलाई काम नदिइएको उनले गुनासो गरे । ‘उद्योग प्रसाशनले अस्पतालहरूमा आवश्यक बाल्टिनलगायत थोरै सामग्री जिल्ला प्रशासनको अनुमतिमा उत्पादन गरिरहेको जानकारी गराए,’ पासवानले भने, ‘भित्रभित्रै उद्योग चलाउँदै आए पनि मजदुरलाई महिनाभरिको तलबसमेत नखुवाउने दोहोरो चरित्र प्रदर्शन गरे ।’

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कार्यरत मजदुरको अवस्था पनि यस्तै छ । करिडोरमा ५ सयभन्दा बढी सानाठूला उद्योग छन् । जसमा खाद्यान्न तथा अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने उद्योगमात्रै आंशिक सञ्चालनमा छन् ।

ओखलढुंगा घर भई विराटनगर–१२ बस्दै आएका ज्ञानकुमार गुरुङ पनि लकडाउनसँगै यातायात सञ्चालनमा रोक लागेपछि काम गर्न जान पाएका छैनन् । ‘बस बन्द भए पनि पेट बन्द भएको छैन,’ उनले भने, ‘पेट पाल्न अहिलेसम्ममा साथीभाइसँग १२ हजार ऋण सापट लिएर काम चलाएको छु ।’ यातायात मजदुरहरूलाई कुनै पनि मालिकले काम नगरेको दिनको तलब नदिएको उनले गुनासो गरे ।

निर्माण क्षेत्रमा मजदुरको काम गर्दै आएका विराटनगर–१२ बखरीस्थित सुकुम्बासी बस्तीका चन्द्रकुमार ऋषिदेव पनि लकडाउनयता घरमै छन् । लकडाउनअघि अलिकति बचत गरेको पैसाले साता दिन जति गुजारा चलाएको र त्यसपछि गाउँमा पैंचो र पसलबाट उधारो ल्याएर निर्वाह गरिरहेको उनले बताए ।

पत्नी चन्दादेवी गर्भवती भएकाले पोसिलो खाना आवश्यक छ । तर पैसाको अभावमा जेनतेन छाक मात्रै टारिरहेको ऋषिदेवले गुनासो गरे । ‘५ हजार सापट ल्याएको सकिएपछि पसलबाट उधारो ल्याएर गुजारा चलाउँदै छौं,’ उनले भने, ‘पसलेले उधारो नदिँदा २/४ दिन भोकै पनि दिन गुजार्नुपर्‍यो ।’

प्रदेश १ स्थित संगठित तथा असंगठित क्षेत्रमा कार्यरत मजदुरको पनि अवस्था उस्तै छ । संगठित क्षेत्रमा कार्यरत मजदुरलाई पनि मालिकले पारिश्रमिक दिएका छैनन् । असंगठित क्षेत्रका मजदुरलाई स्थानीय तहहरूले १०/१२ किलो चामल बाँडेर चैत ११ देखि घर बाहिर निस्कन दिएका छैनन् ।

प्रदेशमा करिब २० लाख मजदुर कार्यरत रहेको नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का अध्यक्ष किशोर धमलाले जानकारी दिए । कोरोना भाइरसको संक्रमणले विश्व नै ठप्प भएको अवस्थामा उद्योगी मात्रैले मजदुरलाई बचाउन नसक्ने उनको भनाइ छ । ‘यसका लागि उद्योगी/व्यवसायी, मजदुर र राज्य तीनै क्षेत्र वा उद्योगी/व्यवसायी र सरकारको योगदानमा मजदुरलाई जोगाउनुपर्ने हो,’ उनले भने, ‘तर राज्यले मजदुरलाई आफ्ना नागरिक नै नसम्झेर सोझै उद्योगी/व्यवसायीलाई जिम्मा लगाएर तलब खुवाउनैपर्ने निर्णय गरेर अघि बढ्यो ।’

Published on: 1 May 2020 | Kantipur

Link

Back to list

;