s

‘काम सिकेरै वैदेशिक रोजगारीमा जानु लाभदायक’

वैदेशिक रोजगारीमा जाने दक्ष कामदारको कमाई उच्च भएको देखिएको छ । धेरै नेपालीहरु सीपमुलक तालिम नलिई पढ्ने उमेरमा नै विदेश जाने गरेका छन् । उनीहरुको तुलनामा सानो भएपनि सीप सिकेर गएमा त्यसले कामदारको आत्मविश्वास बढाउनुका साथै तत्काल लाभ दिने अनुभव वैदेशिक रोजगारबाट फर्केका कामदारहरुको छ ।
 
तीन वर्ष कतार बसेर फर्किएका धनकुटाका नरेश कार्की भन्छन्, ‘तालिम लिएर गएका छिमेकी मुलुक भारत र पाकिस्तानका धेरैजसो कामदारले खाडी मुलुकका बैंकिङ्ग क्षेत्र, अस्पताल, सूचनाका क्षेत्रदेखि लिएर सरकारी, गैरसरकारी कार्यालयमा म्यानेजर र कम्प्युटर अपरेटरको तलबको हिसाबले अत्यन्त राम्रो काम पाइरहेका छन् । तर हातमा सीप नहुने नेपाली कामदारले सरसफाई गर्ने क्लिनर, उनीहरुलाई चिया नास्ता कफी बनाउने अफिस व्वाई, गार्डेनर र चौकीदारीको काम गर्नु परेको छ ।’
 
नेपाल राष्ट्र बंैकका अनुसार नेपालबाट जाने कामदार मध्ये ७३.७ प्रतिशत अदक्ष, १२.० प्रतिशत अर्धदक्ष तथा १४.३ प्रतिशत मात्र दक्ष रहेका छन् भने उच्च दक्षता एवम् विशिष्ट दक्षता भएका कामदारको संख्या ज्यादै नै न्यून रहेको छ ।
 
करिव ५२ प्रतिशत कामदार कारखानामा काम गर्ने र प्राविधिकको रूपमा कार्यरत देखिएको छ भने १३ प्रतिशत दैनिक ज्यालादारी, सुरक्षा गार्ड, घरायसी कामदारको रूपमा रहेका छन् । यसैगरी ड्राइभर, व्यापार तथा अन्य क्षेत्रमा प्रत्येकमा ६÷६ प्रतिशत गरी १८ प्रतिशत र सरकारी जागिरमा ४ प्रतिशत कार्यरत रहेका छन् । तालिम र सीप लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको अवस्था भने फरक छ । सुनसरी ईनरुवाका प्रदीप कुमार मेहता भन्छन्, ‘मैले कम्प्यटर सिकेर गएको थिए । इन डोर काम पाएँ । एक वर्षमै कम्पनीले तलव बढाई दियो । विदेश वा स्वदेश काममा कम्पनीले पर्फमेन्स हेर्ने गर्दछन् । लामो समय एउटै पदमा रहेर काम गरेपनि राम्रो पर्फमेन्स देखाउन नसक्दा धेरै साथीहरु पछाडि परेको पाएँ ।’
 
त्यस्तै, विराटनगरमा ब्यूटीसियन तालिम लिएर यूएई गएकी रमा फागो पनि सीपले वैदेशिक रोजगारलाई आय आर्जनका दृष्टिले उच्चस्तरको बनाउने बताउँछिन् । पहिलो पटक क्लिनरको रुपमा गएको र पछिल्लो पटक ब्यूटीसियनको तालिम लिएर गएको अनुभव संगालेकी फागो भन्छिन्, ण्ज्ञघघतालिम लिएर जानु र त्यसै जे पर्ला त्यही टर्ला भनी भगवान भरोसामा जानुमा आकास जमिनको फरक पाएँ ।’
 
विदेशको तुलनामा नेपालमा तालिम लिन सजिलो र सस्तो रहेको अनुभव सुनाउँदै फागोले भनिन्, ‘यहाँ थोरै रकम खर्च गरेर सिकेको सिप विदेशमा सिक्दा सयौं गुणा महंगो पर्ने रहेछ, त्यसैले म विदेश जाने सबैलाई सानो भएपनि सीप सिकेर जान आग्रह गर्दछु ।’
सामान्य पढाइ लेखाइ भएकाहरु पनि लेवर जस्ता काममा जानु भन्दा २÷४ हप्ता नै भए पनि प्लम्बर, मेशन, कार्पेन्टर, इलेक्ट्रिशियन जस्ता काम सिकेर जाँदा कमाई पनि राम्रो हुने र काम पनि लेवर भन्दा हल्का हुने बताउँछन्– राजधानीमा झण्डै ५ वर्षदेखि तालिम दिने कार्यमा संलग्न जनकपुरका उपेन्द्र साह । यद्यपि नेपालीहरुमा तालिम सिक्ने र केही जानेरै विदेश जाउँ भन्ने धैर्यता भने नभएको उनको अनुभव छ ।
 
दमकका २८ वर्षिय देवान राईले आफू लेवरमा कतार जाँदा निकै हण्डर खाएको तर काम सिकेर दुबई जाँदा राम्रै कमाई भएको बताए । उनी भन्छन्, ‘मेकानिक नै बनेर जानु पर्छ भन्ने छैन तर केही हप्ता मेकानिक कै काम सिकेर मेकानिक हेल्पर मै जाँदा पनि पछि सुपरभाइजरले नै माथि उकाल्छ ।
 
वैदेशिक रोजगारीमा गएका सबैले कामदारहरु सफल हुन्छन् भन्ने छैन, कतिपय अलपत्र पनि परेका छन् । तर अलपत्र वा अप्ठेरोमा पर्नेहरु अधिकांश लेवर क्याटोगरी कै हुने गरेको एक तथ्यांकले देखाएको छ । कतारमा झण्डै १० वर्ष मेशनको काम गरेर उदयपुरमा घरघडेरी जोड्न सफल राजन कार्की भन्छन्, ‘विदेशमा काम जानेकै व्यक्ति कारखाना वा मालिकको पनि प्यारो र प्रिय हुन्छ । २ वर्ष विताएर घर फर्कन लाग्दा फेरि आउनु महिनाको ३÷४ सय रियाल तलब बढाइदिन्छु भनेर त्यही मालिकले भन्छ । त्यसैले केही न केही काम सिकेर वा तालिम लिएर विदेश जाँदा राम्रो हुन्छ ।’
 
अरुको लह–लहैमा वा देखासिकीले वैदेशिक रोजगारमा जाने र दुःख पाउने धेरै छन् । हेटौंडाका अर्जुन मगर ६ वर्ष अगाडि साउदी अरबमा लेबर काममा गएका थिए । आफ्नै साथी प्रताप तामाङले कार्पेन्टरको काम सिकेर साउदी नै गएको अनुभव सुनाउँदै मगरले भने– ‘मैले त हण्डर खानुसम्म खाएँ, तर प्रतापले तरक्की नै ग¥यो । यही मकवानपुरमा घर–घडेरी जोडिसक्यो ।’
 
उल्लेखित तथ्यांकहरुले वैदेशिक रोजगारीका लागि सीप र तालिमको कत्तिको महत्व छ भन्ने देखाउँछ । मुलुकमा आन्तरिक रोजगारीको अभाव र रोजगारी पाएपनि कम कमाइका कारण राम्रो कमाइका लागि युवाहरु विदेशिने गरेका छन् । तर उनीहरुलाई सीप र तालिम दिएर वैदेशिक रोजगारीमा पठाउन सके स्वयं व्यक्तिले फाइदा त लिन्छ नै मुलुकमा भित्रिने रेमिट्यान्समा समेत बढोत्तरी हुने जानकारहरु बताउँछन् ।
 
Published: 16 February 2018 | Madhyanha

Back to list

;