s

काम खोज्‍न जानेलाई सीमामा कडाइ

भवानी भट्ट

कञ्‍चनपुर — कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ३६ वर्षीय सीताराम चौधरी सोमबार बिहानै परिवारसहित कञ्चनपुरको सीमानाका गड्डाचौकी पुगे । वडा कार्यालयको सिफारिससहित रोजगारीका लागि भारत हिमाञ्चलको सिमला हिँडेका उनी सोमबार तेस्रो पटक घर फर्कनु पर्‍यो ।

कामको खोजीमा भारत हिमाचलको सिमला जान सोमबार गड्डाचौकी पुगेका सीताराम चौधरीको परिवारसहितका नेपाली । तस्बिर : भवानी/कान्तिपुर

‘आज फेरि जिल्ला प्रशासनको सिफारिस ल्याउन भनेर सीमाका सशस्त्र प्रहरीले जान दिएनन्,’ चौधरीले भने, ‘कहिले वडाको सिफारिस भन्छन्, कहिले नगरपालिकाको भन्छन् ।’ उनका अनुसार सुरुमा गड्डाचौकी पुग्दा वडाको सिफारिस मागिएको थियो । ‘पारि बोर्डरमा हाम्रो मालिक (भारतीय साहु) गाडी लिएर आएका छन्, तर यहाँबाट जान दिइँदैन,’ सीतारामकी श्रीमती बसन्तीले भनिन्, ‘यताउता गर्दागर्दै एक हप्ता हुन लाग्यो, भएको खर्च पनि सकियो ।’ उनी १२ वर्षका छोरा करनलाई पनि सँगै लिएर जान लागेका हुन् । 

चैततिर भारतमा कोरोना संक्रमण बढ्दै गएपछि त्यहाँ विभिन्न ठाउँमा रहेका नेपाली कामदारहरू धमाधम घर फर्किए । लकडाउनअघि र सुरु भएपछिसमेत नाकामा घर फर्किनेका चाप थेगिनसक्नु थियो । अहिले पनि घर फर्किने क्रम जारी छ । चौधरी दम्पतीलाई भने एकातिर रोजगारी गुम्ने डर छ भने अर्कोतिर भारत नगए भोकै बस्नुपर्ने चिन्ता । ‘भारत नगई घर खर्च चलाउनै सकिँदैन, फेरि यता पनि केही काम छैन,’ बसन्तीले भनिन्, ‘यसपालि त जान पनि निकै गाह्रो भइरहेको छ ।’ फूलबारी र कैलालीकै गोदावरी नगरपालिका–१० अत्तरियाका ८ जनाको समूह स्याउ टिप्न सिमला जान लागेका हुन् ।

एउटै बगानमा काम गर्ने उनीहरू हरेक वर्ष रोपाइँ सकेर भारत जाने गरेका थिए । तिहार मनाउन घर फर्किन्थे र फेरि सिमलातिरै जाने गर्थे । ‘यतिबेला दुई/तीन महिना काम पाइन्छ, अहिले नै जान नसके वर्षभरि कसरी गुजारा चलाउने ?,’ गोदावरी–१० अत्तरियाका शेरबहादुर चौधरीले भने । उनी पनि लकडाउनअघि मात्रै घर फर्किएका हुन् । त्यतिबेला उनले फेरि कामको खोजीमा भारत नजाने सोच बनाएका थिए । तर यता गाउँमा केही काम नपाउने देखिएपछि उनले पनि साथीभाइसँगै भारत जाने योजना बनाएका हुन् ।

थारू समुदायका युवा प्रायः कामका लागि पहाडतिर जाँदैनथे । तर पछिल्लो समय खेतीपाती, विकास निर्माण र होटल क्षेत्रमा काम गर्न भारत उत्तराखण्ड र हिमाञ्चल प्रदेशका पहाडी सहरतिर जाने थारू युवाको संख्या धेरै छ । लकडाउन सुरु भएयता गड्डाचौकी नाकाबाट ३९ जना नेपाली कामदारहरू भारततिर पसेका छन् । सशस्त्र प्रहरीको गड्डाचौकीस्थित राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रमुख डीएसपी केशव प्याकुरेलका अनुसार दोधारा चाँदनीका उनीहरू सबै सिमला गएका हुन् । यसरी जानेहरूले स्थानीय तहको सिफारिससँगै जिल्ला प्रशासनको सिफारिस र भारततर्फ रोजगारदाता कम्पनीको प्रतिनिधिसमेत आउनुपर्ने अनिवार्य गरिएको छ ।

‘जिल्ला प्रशासनको सिफारिस र रोजगारदाता कम्पनीको प्रतिनिधि आएमा मात्रै जान दिइरहेका छौं,’ डीएसपी प्याकुरेलले भने, ‘जाने ठाउँ र कामको विषयमा सिफारिसमै खुलाएको हुनुपर्छ ।’ उनले भारतमा समेत नेपालीमाथि निकै कडाइ गरिएका कारण रोजगारदाता कम्पनीको प्रतिनिधिबिना पठाउन नसकिने बताए ।

Published on: 4 August 2020 | Kantipur

Link

Back to list

;