s

काम खोज्न जाँदा ज्यानै गुमाए

भवानी भट्ट
  
कञ्चनपुर– बेदकोट १३ पेलतालकी गर्वी वटालाको पारिवारिक गुजारा ठीकठाक चलिरहेको थियो । पति टेकबहादुर भारतको मुम्बईमा चौकीदारी गर्थे । ६ महिना वर्ष दिनमा घर आउँथे । कहिलेकाहीं घर आउन ढिला भए साथीसँग खर्च पठाउँथे । गर्वीले छोराछोरीको हेरचाह र घरको सबै रेखदेख गर्थिन् । ८/१० वर्ष यसरी नै हाँसीखुसी चलिरहेको थियो । तर, एक दिन सुनेको खबरले थला परेको उनको परिवार अझै राम्रोसँग तंग्रिन पाएको छैन । अढाई वर्षअघि मुम्बईमै बाटो काट्ने बेला पति टेकबहादुरको सडक दुर्घटनामा मृत्यु भएको खबरले बेहोस गर्वी अझै राम्ररी सम्हालिन नसकेकी हुन् ।
 
‘त्यो खबर सुन्ने बितिक्कै संसारै सकिएजस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यति बेलादेखि सुरु भएको दु:खले दिन प्रतिदिन घेर्दै गएको छ ।’ टेकबहादुरको घरबाट गएको ३ महिनामै मृत्यु भएको थियो । गर्वीका २ छोरी र एक छोरा छन् । छोराछोरी पढाउनेदेखि साँभm–बिहानको छाक टार्नेसम्म सबै जिम्मेवारी उनकै काँधमा छ । जमिनका नाममा घरको छाप्रो बनाएको १० धुर मात्रै छ । छोराछोरीको उमेर बढेसँगै उनीहरूका आवश्यकता पनि बढ्न थालेपछि गर्वीमाथिको भार पनि थपिँदै गएको छ । ‘मजदुरी गरेर छोराछोरी पढाउने र दुई छाक खान मिलेको छ,’ उनले भनिन्, ‘कुनै दिन काम गर्न नसके भोकै बस्नुपर्छ ।’ उनी घर नजिकैको मैदा मिलमा दैनिक साढे ३ सय रुपैयाँ पाउने गरी मजदुरी गर्छिन् । 
 
‘मैले त श्रीमान् बितेको खबर पनि २/३ महिनापछि मात्रै पाएँ,’ पेलताल गाउँकै कलावती पार्कीले भनिन्, ‘अझै पनि बाँचेकै छन् कि जस्तो लाग्छ ।’ गुजरातमा चौकीदारी गर्ने पति रतनको ५ वर्षअघि रेलको ठक्करले मृत्यु भएको अपुस्ट खबर मात्रै पाएकी थिइन् । अझै पनि मृत्यु कसरी भएको हो, यकिन नभएको उनले बताइन् । रतन घरबाट गएपछि काममा नपुग्दै मृत्यु भएको थियो । गुजरातमा काम गर्न थालेको ८/९ वर्षमा उनले घरपरिवारको खर्च राम्रै चलाएका थिए । अन्तिमपटक आउँदा घर बनाउन पत्नीका गहना बैंकमा राखेर गएका थिए । उनको मृत्युपछि ऋण तिर्न नसक्दा गहनासमेत लिलाम भएको कलावतीले बताइन् । ‘मजदुरी गरेर गुजारा चलाएकी छु,’ उनले भनिन्, ‘४ छोरामध्ये एउटा गाडीमा हिँड्छ, अर्को भारततिर छ तर उनीहरू कलिलै भएकाले साहुले पैसा दिँदैन ।’
 
कामको खोजीमा भारत गएकाहरूको विभिन्न कारणले मृत्यु हँुदा तिनमा आश्रित परिवार विचल्लीमा पर्ने गरेका छन् । कतिपयको त आफन्तको मृत्यु खबर समयमै नपाउँदा काजकिरिया गर्न समेत समस्या हुने गरेको छ । कतिपय वर्षांैदेखि बेपत्ता छन् । आप्रवासी कामदारका क्षेत्रमा कार्यरत निड्स नेपालले हालै गरेको अध्ययनअनुसार बेदकोट नगरपालिकामा मात्रै भारत गएका २२ जना भन्दा बढी बेपत्ता छन् । ‘कञ्चनपुरबाट कामका लागि भारत गएकामध्ये मृत्यु हुनेको संख्या पनि अत्यधिक छ,’ आप्रवासी कामदारसम्बन्धी परियोजनाका प्रबन्धक ईश्वर उपाध्यायले भने, ‘यकिन तथ्यांक कसैसँग छैन ।’ 
 
कामको सिलसिलामा मृत्यु भएका आफन्तले कुनै किसिमका राहत तथा क्षतिपूर्तिसमेत पाउँदैनन् । ‘हामीलाई कुनै पनि सहयोग पाइएन ।’ सडक दुर्घटनामा मृत्यु भएका परिवारका आफन्तले पनि कुनै राहत पाएका छैनन् । उनीहरूले किरिया खर्चसम्म पनि नपाएको बताए । कतिपय कामको अत्यधिक चापले मानसिक सन्तुलन गुमाएर घर फर्किएका छन् । उनीहरूले साहुबाट उपचार खर्च समेत पाउँदैनन् । ‘२५/३० वर्ष काम गरी मानसिक अवस्था बिग्रिएर श्रीमान् घर आए, तर साहुले एक रुपैयाँ पनि उपचार खर्च दिएन,’ पेलतालकी झिरु धामीले भनिन्, ‘घरबाटै उपचार खर्च गर्‍यौं, भारतमा कमाएको सबै सकियो ।’ उनका श्रीमान् लक्ष्मणको भारतको मुम्बईमै काम गर्दा मानसिक अवस्था बिग्रिएको थियो । बिरामी भएर घर फर्केको केही दिनमै लक्ष्मणले रूखमा झुन्डिएर आत्महत्या गरेका थिए ।
 
Published on: 15 June 2016 | Kantipur

Back to list

;