s

काम खोज्न भारत गएका उनी आफैं हराए

कामको सिलसिलामा भारत गएका जुम्लाका एक पुरुष बिच बाटोमै हराएका छन्। चन्दननाथ-१० पिपलगाउँका ४७ वर्षीय मानबहादुर कामी बाटोबाटै सम्पर्कविहीन भएका हुन्।

उनी भारतको कुल्ल मनालीबाट पुस १६ गते घर फर्कने भनेर निस्किएका थिए। भारतबाट आफू घरका लागि हिँडेको खबर दिएका उनी अहिलेसम्म पनि घर आइपुगेका छैनन्।

उनकी पत्नी देउकली कामी भन्छिन् ‘ उहाँ एक हप्ता भित्रै घर आइपुग्नु पर्ने हो, अहिलेसम्म पनि आइपुग्नु भएको छैन। बिच बाटोबाटै सम्पर्कविहीन हुनुभयो। हामीले धेरै खोज्यौ तर भेटाउन सकेका छैनौं।’

उनका अनुसार गत पुस १५ गते मानबहादुरले उनको मामाको छोरा जयकामीको मोबाइलबाट आफू बिरामी भएको खबर सुनाएका थिए। ‘बिरामी छु। घर फर्किन्छु भन्नु भएको थियो। अहिले कहाँ जानुभयो अत्तोपत्तो छैन।’

मानबहादुरलाई बस भाँडा समेत जयकामीले दिएर पठाएका थिए। उनीसँगै भारत देखि पातारासी-२ का धनबहादुर नेपालीको परिवार पनि नेपाल फर्किँदै थियो। उनीहरु घर फर्केकाे हप्ता दिन बढी भइसकेको छ। तर मानबहादुर अझै फर्किएका छैनन्।

‘मैले धनबहादुरको परिवारलाई सोधेको थिए’, देउकलीले भनिन्, ‘उनीहरुले १७ गते भारतको बरेलीमा बस बिग्रिएको र उहाँ त्यहीबाटै सम्पर्कमा नआएको भन्छन्।’

केही बेरसम्म बसवालाले मानबहादुर खोजेको र नभेटिएपछि आफ्नो परिवार मात्रै फर्किएको धनबहादुरलाई उद्धृत गर्दै देउकलीले सुनाइन्।

धनबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा समेत बोलाएर सोधपुछ गरिएको थियो। उनले सोधपुछमा मानबहादुर भारतको बरेलीदेखि सम्पर्कमा नआएको बताएका थिए।

मानबहादुर पहिलो पटक भारत गएका थिए। उनलाई हिन्दी भाषा समेत बोल्न आउँदैन थियो। घर फर्किन्छु भनेका बिरामी श्रीमान् सम्पर्कविहीन हुँदा देउकली सहित उनको परिवार चिन्तामा छ।

उनले श्रीमानको खोजीको लागि प्रहरी कार्यालय जुम्लामा निवेदन समेत दिएकी छिन। जिल्ला प्रहरी कार्यालयले उनको हुलिया सीमा नाका क्षेत्रमा पठाइएको बताएको छ।

मानबहादुर रोजगारीको खोजी गर्दै भारत भासिएका थिए। उनको दुई छोरा र एक छोरी छिन्।

Published on: 15 January 2024 | Nagarik

Link

Back to list

;