s

काम खोज्दै इँटाभट्टा

मकर श्रेष्ठ

तीव्र गतिमा हावा चले उनीहरूको बासस्थान भत्काउन सक्छ । काठको टेकोबिना भित्तामा अड्याएर छाप्रो बनाइएको छ । ढुंगाको चुल्हो बनाएर खाना पकाउँछन् । चिसो भुइँमा सुकुल ओछ्याएर सुत्छन् । चिसो छेक्ने एकसरो लुगासमेत छैन । यो दृश्य भक्तपुरको नंखेलस्थित इँटा बनाउने कामदारको हो । जाडो बढेसँगै राजधानीमा न्यानो कपडा किन्नेको घुइँचो छ । तर, इँटा बनाएर कमाउने आसले काभ्रेबाट आएकी कौशली तामाङको १० महिनाकी छोरीलाई शरीर छोप्ने एकसरो लुगासमेत छैन । ग्याँस किन्न सक्ने पैसा नभएपछि गाउँबाटै दुई भारी दाउरा ल्याएका छन् । माटो मुछेर १ हजार इँटा बनाए ६ सय रुपैयाँ पाउँछन् । दैनिक २ हजार वटासम्म इँटा बनाउने गरेको उनी बताउँछिन् । एक साताअघि श्रीमान् र छोरी भक्तपुरको नंखेलमा आएका हुन् । ६ महिना उनीहरू नंखेलमै बस्छन् । गाउँमा खेती गरेर खान नपुग्ने भएपछि उनीहरू कामको खोजी गर्दै इँटाभट्टामा आएका हुन् । मंसिर दोस्रो सातादेखि वैशाख अन्तिमसम्म इँटा बनाउने मौसम हो । एक 'सिजन' मा कौशलीको परिवारले एक लाख रुपैयाँसम्म कमाउँछन् । ६ महिना गाउँमै खेती गर्छन् ।

गाउँमा रोजगारीको अवसर नपाउने भएपछि इँटा बनाउने मौसममा गाउँगाउँबाट इँटा उद्योगमा आउँछन् । काभ्रेको भकुण्डेबंेसीबाट आएकी सानुमाया तामाङ १७ वर्षकी भइन् । उनको पनि नौ महिने छोरा छन् । एक साताअघि उनी इँटा बनाउन भक्तपुर आएकी हुन् । उनको श्रीमान् अशोक पनि उनीसँगै इँटा बनाउँछन् । गत वर्ष एक लाख नौ हजार आम्दानी भएपछि यस वर्ष पनि गाउँको घरमा ताल्चा लगाएर दुवैजना इँटा बनाउने काम गर्न आएका हुन् । इँटाको काम गर्न थालेको दुई वर्ष भएको उनले बताइन् । दाउरामा खाना पकाउँदा समय लाग्ने भन्दै उनले  ग्याँस चुल्होको सेट किनेकी छन् । 'आगोमा पकाउने समयमा खाएर काममा जान सकिने भएकाले ग्याँस किनेको हो,' उनले भनिन् ।

सानुमायाको छाप्रोसँगै काभ्रे महादेवटारकी पासाङ तामाङ पनि बस्छिन् । गत असारमा ठेकेदारसँग लिएको ऋण तिर्न श्रीमान्सहित उनी नंखेल आइपुगेकी छन् । घर खर्च चलाउन २० हजार रुपैयाँ लिइसकेको उनले बताइन् । १३ वर्षको उमेरदेखि उनी इँटा बनाउने काम गर्थिन् । उनका दाइ-भाउजू पनि इँटा बनाउने काम गर्छन् । इँटाभट्टामा काम गर्दागर्दै प्रेमविवाह गर्ने पनि छन् । रोल्पा होमाकी दिलकुमारीले भट्टामै काम गर्ने रामेछापका केटासँग बिहे गरिन् । बिहेपछि इँटा बनाउने काम नगर्ने सोच बनाए पनि उपचार गर्ने पैसा पनि नभएपछि पुनः यही काममा फर्केको उनले बताइन् । उनी गर्भवती छिन् ।

एक हजार काँचो इँटा बनाएबापत ६ सय रुपैयाँ पाउँछन् । विगतमा खुट्टाले माटो मुछ्ने गरेकामा अहिले मेसिनबाट मुस्छन् । इँटा बनाउनेले स्कुल पढ्दै गरेका छोराछोरीलाईसमेत आफैंसँग ल्याएका छन् । काभ्रे पाँचखालका रामबहादुर दनुवारका दुई छोरा पनि उनीसँगै इँटा बनाउँछन् । उनीहरू इँटाभट्टामा सञ्चालन हुने घुम्ती विद्यालयमा पढ्छन् । भट्टा सञ्चालन अवधिभर विभिन्न गैरसरकारी संस्थाले दैनिक दुई घन्टा खुल्ने गरी यस्ता विद्यालय सञ्चालन गर्छन् । जेठा अभिषेक चार कक्षा र कान्छा अनिश २ कक्षामा पढ्छन् । बुवा कामको खोजीमा हिंडेपछि उनीहरू पनि नंखेल आएका हुन् । दुई वर्षदेखि बुवासँगै इँटा बनाउने गरेको अभिषेकले बताए । गत वर्ष एक लाख इँटा बनाएर ६० हजार रुपैयाँ कमाएको रामबहादुरले बताए ।

एक अध्ययनअनुसार इँटाभट्टामा काम गर्ने ५० प्रतिशत मजदुर १४ देखि १८ वर्ष उमेरका छन् । अन्य १४ वर्षभन्दा कम उमेरका छन् । अधिकांश कामदार सर्लाही, दाङ, रोल्पा, सल्यान, रुकुमका छन् । साना तथा घरेलु उद्योग विभागका अनुसार काठमाडौं उपत्यकामा १ सय १० इँटा कारखाना छन् । भक्तपुरमा मात्र सबैभन्दा बढी ६४ वटा छन् । यी कारखानामा साढे चार सयदेखि ६ सयसम्मले काम पाएका छन् । काँचो इँटा बनाउने र तयारी इँटा गाडीमा लोड गर्ने अधिकांश महिला कामदार छन् ।

Published on: 16 December 2012 | Kantipur

Back to list

;