s

काम खोज्दै कालिकोट

तुलाराम पाण्डे

दैलेख, जम्बुकाधका जयबहादुर सिजालीमगर ५ वर्षदेखि घर निर्माणको काम गर्न कालिकोट आउने गरेका छन् । त्यसअघि काम खोज्न भारत धाउने गर्थे । 'काम नपाइएला भन्ने चिन्ता छैन,' १७ वर्षको उमेरदेखि सधैंजसो हिउँद -मंसिर-चैत) मा काम खोज्न भारत जाँदै आएका ६३ वषर्ीय मगरले भने, 'इमानदारलाई कालिकोटमा काम जत्ति पनि छ ।'

उनले भारतप्रतिको आकर्षण कम हुनुको रहस्य खोल्दै भने, 'बुढेसकाल लाग्यो, बिरानो ठाउँ जान मनै लाग्न छाड्यो ।' उनले कणर्ाली राजमार्ग सञ्चालनमा आएपछि कालिकोटमा धमाधम पक्की घर निर्माण हुन थालेकाले दक्ष मिस्त्रीका लागि काम फालाफाल भएको बताए । सदरमुकाम मान्म बजार र आसपास गाउँमा धेरैजसो भवन निर्माणको काम पाइने गरेको सुनाउँदै मगरले आफन्त सहित काम गर्न कालिकोट आउने गरेको बताए । उनको जस्तै अनुभव जुम्ला ताम्तीका जनक बुढाको पनि छ । उनी जुम्ला सिमाना आसपास पर्ने कालिकोटका विद्यालय भवन र बजार क्षेत्रका व्यक्तिगत तथा व्यापारिक घर र सहकारी भवनमा दक्ष मिस्त्रीका रूपमा काम पाइने गरेको बताए ।

नजिकको ठाउँ, घरको खबर पाउन र पठाउन सहजता हुनु र घरको रेखदेख गर्न पनि सजिलो भएकाले छिमेकी जिल्लाका कामदार कालिकोटप्रति आकषिर्त छन् । आफ्नो टोली सहित निर्माणको पेटी ठेकेदारका रूपमा १० वर्षदेखि कालिकोटका काम गर्दै र गराउँदै आएका दैलेख, काशीकाधका झुपा विक सपरिवार कालिकोटमै बस्छन् । 'यही काम गरेर छोराछोरी पढाएको छु,' देउताको धामीका नामले चिनिएका विकले भने, 'कामको चटारोले भ्याइनभ्याई छ ।' उनले कणर्ालीका अन्य जिल्लामा हिउँद याममा चिसोले सिमेन्टको काम नहुने भए पनि कालिकोटमा त्यस्तो समस्या नरहेको सुनाए ।

जिल्ला दररेटभन्दा कालिकोटमा कामदारले बढी ज्याला पाउने र चिनजानका धेरै आफन्त भएकाले ठगिने सम्भावना पनि कम भएकाले दैलेख, जुम्ला, सुर्खेत, बर्दिया, दाङ, रोल्पालगायतका जिल्लाका श्रमिक काम खोज्न कालिकोट आउने गरेका छन् । यहींको कोटवाडा एयरपोर्ट निर्माण गर्न आएका धादिङ जोगिमारा, गोरखा, सिन्धुली रामेछाप, काभ्रेका ३५ जना कामदार ०५८ मा माओवादीको आरोपमा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका थिए । 

कणर्ाली राजमार्ग सुर्खेत-जुम्ला सडकको स्तरोन्नति कालोपत्रे गर्न पक्की वाल -पर्खाल) लगाउने, नाली बनाउने, कल्बर्ट बनाउने कामदार, सवारी तथा ढुवानी साधनका चालक र सहयोगी पनि निर्माण व्यवसायीले जिल्ला बाहिरबाट ल्याएर काम गराइरहेका छन् । कालिकोटको दैखोलासेरिघाट, मान्म, मोल्फा, पिली, बाली र राचुली सडक खण्डमा गरी ४ सय जना जिल्ला बाहिरका कामदारले काम गरिरहेका छन् ।

सडक पुगेपछि कालिकोटको सदरमुकाम मान्मसहितका आसपासका बजार केन्द्रमा आधुनिक घर निर्माण, विद्यालयलगायतका भौतिक पूर्वाधार, लघु जलविद्युत् योजना निर्माणका लागि दक्ष कामदारको माग बढेको र जिल्लामा दक्ष कामदारको संख्या न्यून भएकाले दैलेख, सुर्खेत, बाँके, रोल्पा, दाङलगायत जिल्लाबाट ३ सयभन्दा बढी दक्ष कामदार काम गरिरहेका छन् ।

यहाँका विशेष सीप नभएका अधिकांश अदक्ष युवा भारी बोक्न, कुल्ली काम गर्न र चौकीदारी गर्न भारत जाने गर्छन् । मौसमी बसाइँसराइ व्यापक छ । स्थानीयले आफ्नो ठाउँमा काम गर्न लाज मान्ने र अर्काको ठाउँमा जे काम गर्न पनि तयार हुने प्रवृत्तिले जिल्ला छाडेर बाहिर जाने गरेको नागरिक समाजका अगुवा मायालाल महताराले बताए ।

जिल्ला बाहिरबाट आएका कामदारलाई जिल्ला दररेटभन्दा बढी रकम ज्याला दिने गरिएको छ । जिल्लामा दक्ष ज्यामीको दररेट ४ सय २५ भए पनि ६ सयभन्दा बढी ज्याला दिनुपरेको निर्माण व्यवसायी गणेशबहादुर शाहीले बताए । 'जिल्ला दररेट कम छ,' शाहीले भने, 'यो दररेटमा त कामदार नै पाइँदैनन् ।' उनका अनुसार अदक्ष कामदारको ज्याला ३ सय २५ छ तर कालिकोटमा ४ सयभन्दा कममा कोही काम गर्दैनन् । सरकारी योजनामा दररेटअनुसार ज्याला नभएकाले काम गुणस्तरीय नहुने समस्या छ ।

यही चैत महिनामा मात्र यहाँको मान्म बजार आसपासमा ३७ वटा व्यक्तिगत घर निर्माण भइरहेका छन् भने जिल्ला प्रशासन, अदालतको नयाँ भवन निर्माण थालिएको छ । जिल्ला शिक्षाको भवन निर्माणाधीन छ । सशस्त्र द्वन्द्व क्षतिग्रस्त झोलुंगे पुल निर्माण करिब सकिएको छ भने क्षतिग्रस्त २९ वटा गाविस भवनमध्ये १२ वटा गाविस भवन बनेका छन् । १७ वटा अझै बाँकी छन् । त्यस्तै, ३ वटा प्रहरी चौकी र १२ वटा स्वास्थ्य संस्थाका भवन पनि निर्माण सम्पन्न भएका छन् । जिल्लामा बनेका सबै भौतिक पूर्वाधार निर्माणमा अधिकांश जिल्ला बाहिरकै कामदारले काम गरेको ह्वाइट निर्माण सेवाका कृष्णलाल चौलागाइर्ंले बताए ।

कालिकोटबाट काम खोज्न दक्ष कामदार भारत जाने क्रममा न्यूनीकरण भए पनि अदक्ष रोजीरोटी गर्न भारत अझै रोकिएको छ । धेरैजसो भारतको बद्रीनाथ, केदार, टिहिरी र नैनीताल जाने गरेका छन् । दिल्ली र मुम्बईलगायत सहरमा चौकीदार र होटलमा काम गर्ने युवाको संख्या पनि न्यून छ । रोजगारीका लागि भारतबाहेकका देशमा जाने युवाको संख्या न्यून छ ।

जिल्ला प्रशासनबाट प्राप्त तथ्यांकअनुसार मेसिन रिडेवल पासपोर्ट ०६८ कात्तिक २५ यता मात्र यहाँका २ हजार ३ सय ६८ पुरुष र ३७ जना महिलाले राहदानीका लागि कालिकोटबाट द्रुत सिफारिस लिएका छन् भने ५७ जनाले साधारण सिफारिस लिएको देखिन्छ । सिफारिस लिएकामध्ये बढीमा २/३ सय युवा मात्र विदेश विशेष गरी खाडी मुलुकमा गएको हुन सक्ने प्रजिअ किशोरकुमार चौधरीको अनुमान छ ।

'कालिकोटबाट बढी त भारत नै जान्छन्,' प्रजिअ चौधरीले भने, 'अन्य मुलुक जान पहुँच र पैसा दुवैको कमी छ ।' उनका अनुसार अन्य जिल्लाबाट कालिकोट काम खोज्न आउनेको संख्या विगतको तुलनामा निकै वृद्धि भएको छ । सशस्त्र द्वन्द्व, सडक यातायातको असुविधा, अवसरको कमीजस्ता समस्या नहटेकाले कालिकोटमा काम गर्न आउनेको संख्यामा वृद्धि भएको प्रजिअ चौधरीको बुझाइ छ ।

Published on: 4 April 2014 | Kantipur

Back to list

;