s

काम गर्न विदेसिनेको संख्या घट्यो, मलेसिया जाने सबैभन्दा धेरै

रोजगारीका लागि विदेसिने नेपालीको संख्यामा कमी आएको छ। एक वर्षकै अवधिमा ८.३ प्रतिशतले विदेसिनेको संख्या घटेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ।
 
गत आर्थिक वर्षमा कुल ३ लाख ५४ हजार ८२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। जवकि अघिल्लो वर्षको सोही अवधिमा ३ लाख ८३ हजार ४९३ ले यस्तो स्वीकृति लिएका थिए। सो अवधिमा कामका लागि विदेश जानेमध्ये मलेसिया जाने सबैभन्दा धेरै छन्। मलेसियाका लागि १ लाख ४ हजार २०९ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
 
विभागका अनुसार दोस्रो उत्कृष्ट गन्तव्य कतारमा सो अवधिमा १ लाख ३ हजार १७९ नेपाली पुगेका छन्। कतारपछि दुबई, साउदी अरब, कुवेत, दक्षिण कोरिया, बहराइन जाने नेपालीको संख्या उच्च छ। ठीक एक वर्षअघिसम्म धेरै नेपाली जानेमा पहिलो गन्तव्य बनेको कतारलाई केही महिनादेखि मलेसियाले उछिनेको छ। यद्यपी पछिल्लो महिना असारमा मलेसिया जानेको संख्यामा अत्याधिक कमी आएको छ।
 
स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु खारेज भई प्रक्रिया अवरुद्ध भएपछि असारमा मलेसिया जानेको संख्यामा उल्लेख्य कमी आएको हो। गत आवमा विदेसिनेमध्ये मलेसियामा ३० प्रतिशत, कतारमा २८.५, दुबईमा १६.२, साउदी अरबमा ११.३ तथा कुवेतमा ४.७ प्रतिशत गएका छन्। निशुल्क भिसा र टिकटको व्यवस्थापछि पनि कामदारको मागमा वृद्धि भएको तर, वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।
 
सर्वेक्षणले निःशुल्क भिसा र टिकटको व्यवस्था लागू भएपछि विदेसिदा लाग्ने औसत लागत भने घटेको देखाएको छ। यो लागू हुनुपूर्व प्रति कामदार औसत कुल लागत ८६ हजार रुपैयाँ रहेकोमा यो व्यवस्था लागू भएपछि ५१ हजारमा झरेको राष्ट्र बैंकले जनाएको छ।
 
भारत, पाकिस्तान र श्रीलंका भन्दा औसतमा नेपालबाट वैदेशिक रोजगारीको लागत बढी पर्ने गरेको सर्वेक्षणले देखाएको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ मा जम्मा ३ हजार ६०५ नेपालीले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका थिए भने यो २०७३/७४ सम्म बढ्दै गई ४ लाख १८ हजार ७१३ पुगेको थियो। त्यसपछिको अवधिमा भने विदेसिनको संख्या घट्दै गएको छ।
 
Published on: 19 July 2018 | Setopati

Back to list

;