s

काम गर्न बिदेसिने बढे

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या असोजमा उच्च वृद्धि भएको छ । अघिल्ला दुई महिनामा भने बिदेसिने संख्यामा उच्च गिरावट आएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार असोजमा कामका लागि अघिल्लो वर्षको भन्दा ११ हजार ४ सय बढी कामदार गएका छन् । 'असोजमा बिदेसिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ दशमलव ९८ प्रतिशतले बढी हो,' विभागको तथ्यांकले भनेको छ । गत असोजमा २६ हजार ५ सय कामदार बिदेसिएका थिए । अहिले बढेर यो संख्या ३८ हजार पुगेको छ ।

असोजमा बिदेसिने बढे पनि चालू आवको तीन महिनाको समग्र तथ्यांकमा बिदेसिनको संख्या ९ दशमलव ८४ प्रतिशतले घटेको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा ९८ हजार ७ सय कामदार बिदेसिएका छन् । गत वर्षको सोही अवधिमा १ लाख ९ हजार कामदार बिदेसिएका थिए ।

साउनमा २७ दशमलव ६३ र भदौमा २५ दशमलव ७१ प्रतिशतले घटेको थियो । विभागका अनुसार गत साउनमा ४५ हजार १ सय कामदार बिदेसिएकामा चालू आवको साउनमा यो संख्या ३८ हजार ६ सय कायम भयो । भदौमा गत आवको तुलनामा ९ हजार ७ सयले घटेर २८ हजार कामदार बिदेसिएका थिए ।

मुलुकमा बिग्रँदै गएको राजनीतिक अस्थिरताको कारण बिदेसिनेको संख्या पुनः बढ्न सुरु भएको व्यवसायीले बताएका छन् । राजनीतिक अवस्थाले गर्दा आवश्यकता अनुसार नयाँ लगानीको अवसर सिर्जना नभएकाले रोजगारीको अवसर कम हुँदै गएको छ । श्रम क्षेत्रमा प्रवेश गर्नेको संख्या भने बढेकाले काम गर्न बिदेसिनु बाध्यता भएको उनीहरूको भनाइ छ ।

जागिर भएका पनि आफ्नो आम्दानीबाट दैनिक जीविका चलाउन अप्ठेरो परेकाले विदेश जान थालेको व्यवसायीहरूको भनाइ छ । सबैभन्दा बढी कामदार गइरहेका मलेसिया र खाडी लगायतका मुलुक जाने दक्ष कामदारको संख्या पनि बढेको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या न्यून छ । यस अवधिमा ६ हजार ४ सय कामदारले व्यक्तिगत श्रम स्वीकृति लिएका गएका छन् । संस्थागत श्रम स्वीकृति लिनेको संख्या भने ९२ हजार ३ सय छ । सरकारले संस्थागत श्रम स्वीकृतिलाई जोड दिएपछि यो संख्या बढेको हो । चालू आवको पहिलो तीन महिनामा बिदेसिनेमा महिलाको संख्या ५ हजार १ सय रहेको छ ।

Published on: November 2012 | Kantipur

Back to list

;