s

'काम बराबर गर्छौं, पैसा हामीलाई कम मिल्छ'

कैलालीका धनगढी उपमहानगरपालिका १५ वर्षिया उर्मी गाउँकी रिमा चौधरी निर्माण क्षेत्रमा मजदुरी गर्न थालेको धेरै भएको छैन।

आमा बिमारी भएका बेला लागेको ऋण तिर्न उनी र बुबाले दैनिक ज्याला मजदुरी गर्नुपर्छ। उनी धनगढीको शिवनगरमा घर बनाउने ठाउँमा काम गर्छिन्। 

विहानै ७ बजे एक घण्टा साइकल चलाएर ८ बजे काम गर्ने ठाउँ पुग्छिन्।

रिमासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका खडक चौधरी पनि काम गर्छन्।

त्यो ठाउँमा दुवैले गर्ने इटा बोक्ने, बालुवा चाल्ने, मसला बनाउने, चाहिएको ठाउँमा पुर्‍याइदिने, पानी दिने, कर्नी धुने जस्ता काम हो। 

यी काम गर्ने बेला उनीहरू एउटा भन्दा अर्को कुनै हिसाबले कम हुन्नन्। 

दुवैले दिनभरीमा ८ घण्टा काम गर्छन्। 

रिमाले ज्याला पाउँछिन् ३ सय ५०। महिनाभरी काम गरेर ९–१० हजार कमाइ हुन्छ।

खडकले पाउँछन् दिनको ५ सय ५० रूपैयाँ। महिनाभरीमा १५/१६ हजार हुन्छ। उनले रिमाको भन्दा आफुले २ सय बढी पाउने गरेको बताए।

बालुवा, ढुंगा, गिट्टी बोक्ने, मसला मिलाउने जस्ता ज्यादा शारिरिक श्रम गर्नुपर्ने काम गर्दा आफूले पाउने त्यो ज्याला रिमालाई कम भयो भन्ने लाग्छ। 

सँगै काम गर्ने साथीको बढी ज्याला आउँछ भन्ने थाहा पाउँदा त उनलाई आफूमाथि अन्याय भयो भन्ने नै लाग्छ। 

पैसा कमाउन पढाइसमेत छोडेकी उनलाई पारिश्रमिकमा महिला र पुरूषबीचको विभेद पटक्कै मन परेको छैन। 

‘मसँगै मेरोजस्तै काम गर्ने पुरूषले भने २ सय बढी रूपैयाँ ज्याला पाउँछन्। मैले उनिहरूको भन्दा कम पाउँछु,' उनले भनिन्, 'केटाहरूसँग बराबरै काम गरिएको हुन्छ। केटाहरूले भन्दा कत्ति पनि कम काम गरेको छैन मैले, तर ज्याला किन कम दिन्छन् पैसा थाहा छैन।' 

मजदुरी गरेर घरको ऋण तिरूला भन्ने  सोचेकी उनको पैसा घरको नुनतेल किन्दै ठिक्क हुन्छ। 

खडकको चिन्ता भने आफूले मिस्त्रीको भन्दा कम ज्याला पाएकोमा छ। 

‘मैले मिस्त्रीसरह ज्याला भने पाउन सकेको छैन। दैनिक ज्याला भने ५ सय ५० पाउँछु,  हामीहरू मिस्त्री भन्दा बढी खटिन्छौं तर, पैसा भने कम पाउँछु,’  उनले भने, 'कतिपय ठाउँमा प्रसाशनबाट तोकेकै ज्याला सबैका लागि लागु भएको छैन के भन्नु।' 

आफूले जस्तै 'लेभरी'को काम गर्दा पुरूषले बढी पैसा पाउने गरेको कैलारी गाउँपालिका–१ हसुलियाकी मञ्जु चौधरीलाई पनि चित्त बुझेको छैन। 

उनी मजदुरी गर्नकै लागि धनगढीमा कोठा भाडामा लिएर बस्ने गरेकी छिन्। उनी विहान ८ बजेदेखी बेलुका ५ बजेसम्म काममा खटिएकी हुन्छिन्। 

उनले समान समय र उस्तै काम गर्ने पुरूष मजदुरले महिला मजदुरको भन्दा बढी ज्याला पाउने गरेको बताइन्।

‘काम त बराबर गर्छौं पैसा हामीलाई कम मिल्छ,’ उनले भनिन् । 

तर उनले बराबरि कामको बराबरि पैसा  चाहिन्छ भनेर साहुलाई भन्नै सक्दिनन्। 

' समान ज्याला माग्दा काममै नआइज भन्छन् कि भन्ने डर लाग्छ,' उनले भनिन्, ‘अहिले तपाईसँग यो कुरा भनेको ठेकेदारले थाहा पाए के भन्छन् थाहा छैन।  जता बढी पाउँछौ त्यहीँ जाउ भने भने?' 

उनलाई ज्यालामा मात्र होइन निर्माण क्षेत्रमा हुने कामको विभेदसमेत मन परेको छैन। 

घरको वाल चिन्ने, प्लास्टर गर्ने जस्ता सिपमूलक काम पुरूषहरूले नै गर्ने गरेका छन्। यस्ता सिपमुलक काम गर्दा ज्यादा पैसा पाउने नियमकानुनै छ। यी काम महिलालाई गर्न नदिइने उनले बताइन्। 

‘महिलाहरू त भारी नै बोक्ने गर्छन्, चिनाईको सिपको काम पाउन्नन्,' उनले भनिन्, 'भारी नै बोक्ने पुरूषहरुले पनि मेरो भन्दा डेढ दुईसय बढी ज्याला पाउँछन्। अब यस्ता मिस्त्रि काम गरम भने हामीलाई दिदैनन्।’ 

लामो समयदेखि निर्माण क्षेत्रमा काम गर्न थालेको भएपनि मिस्त्रि सरहको काम गर्ने अवसर आफूहरूले पाउन नसकेको महिला मजदुरहरूको गुनासो छ। अवसर नदिँदा भारी बोक्ने काम मात्र गर्नुपरेको उनीहरू बताउँछन्। 

सानैदेखि निर्माण क्षेत्रमा मजदुरी गर्दै आएकी धनगढीकी जसुमती राना पनि हुन्। पुरूषसरह समान काम गर्दा पारिश्रमिक कम मिल्ने गरेको उनको पनि गुनासो छ। 

‘पुरूष मिस्त्रिले त हाम्रो भन्दा बढी पैसा पाउनु ल ठिकै हो । हामी जस्तै भारी बोक्ने मसला बनाउनेहरूले पनि हाम्रो भन्दा बढी पाउँछन्, हामी त ४ सय भन्दा बढी पाउँदैनौं,’ उनले भनिन्,'फेरि हामीलाई मिस्त्री बन्ने अवसरै दिइन्न।' 

पहिलेदेखि महिला पुरूषमा भेदभाव भएका कारण काम र ज्याला मा विभेद हुने गरेको उनले बताइन्। 

सँगै काम गर्न थालेका पुरूषहरू मिस्त्री भइसक्दा पनि उनले   पहिला जे काम गर्थिन् त्यही गर्छिन्। त्यति नै ज्याला पनि। 

‘हामीहरूलाई मिस्त्रीको काम गर्नका लागि अवसर दिइँदैन हात हाल्न नदिएपछि हामी कसरी अगाडि बढ्न सक्छौ?’ उनले भनिन्। 

उनिहरूसँगै काम गर्ने गरेका समिर चौधरी मिस्त्रीको काम गर्छन्। 

उनी १ घण्टाको १ सय का दरले दैनिक ८ घण्टा काम गरे ८ सय त बढी काम गरे हजार सम्म पाउने गरेका छन्।

उनी घरमा प्लास्टर गर्ने, जोडाई, सरिया आदिको काम गर्छन्। 

कैलाली निर्माण व्यासायी संघका अध्यक्ष यज्ञराज उपाध्यायले दक्ष र अदक्ष कामदार भनेर ज्याला निर्धारण हुने गरेको बताए । 

‘ज्याला निर्धारण सिडियोको अध्यक्षतामा रहने समितिले गर्छ, त्यसै अनुसार ज्याला दिनुपर्छ,’ उनले भने । 

सीप भएकाले सीप नभएको भन्दा बढी ज्याला पाउने उनले बताए। मजदुर नपाएर तोकेको भन्दा बढी ज्याला दिनुपरेको दाबि उनी गर्छन्। 

‘राज्यले सीपबिनाका लेभरलाई तोकेको ज्याला दिनको पाँचसय हो। त्यतिमा कामदार नै नपाइनाले हामी न्युनतम सात सय दिन्छौं,’ उनले भने।। 

राज्यले तोकेको ज्यालाबारे स्वयम् मदजुरलाई नै जानकारी नभएर पनि कम ज्यालामा काम गरिरहेको अवस्था हुन सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।  

यस वर्ष अदक्ष( ज्यामी) को दैनिक दररेट ५ सय ८० रुपैयाँ र दक्ष(मिस्त्री)को ८५० रूपैयाँ रहेको उनले जानकारी दिए।

जिल्लामा कतिपय निर्माण कम्पनी र ठेकेदारले आपसी सहमतिमा कम पैसा दिएर पनि मजदुरीमा काम गर्न लगाएको हुनसक्ने उनको भनाइ छ। 

‘मजदुर नै आफै सस्तोमा काम गर्न तयार छ भने व्यवसायीले कममै गराउन सक्छ,’ उनले भने। 

ज्यालाबारे तोकिएको रेट कार्यान्वयन भए/नभएकोबारे प्रशासन कार्यलयले अनुगमन भने गरेको छैन। 

सूचना अधिकारी जोशीले ज्यालामा तोकिएको दररेट कै कार्यन्वयनको विषयमा अनुगमन हुन नसकेको बताए।

Published on: 18 March 2021 | Setopati

Link

Back to list

;