s

ज्यालादारी कर्मचारीको सुविधा थपियो

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कार्यरत ज्यालादारी कर्मचारीलाई सेवासुविधा थप गरिएको छ । सेवासुविधा वृद्धिको माग गर्दै आएका ज्यालादारी कर्मचारीलाई सोमबारबाट लागू हुने गरी विद्युत् प्राधिकरणको बोर्ड बैठकले सेवासुविधा थप गर्ने निर्णय गरेको हो ।

यसअघि महिनामा २८/३० दिन काम लगाएर २२/२५ दिनको मात्र ज्याला दिने गरिएको प्राधिकरण ज्यालादारी कर्मचारी केन्द्रीय संघर्ष समितिका अध्यक्ष नरेन्द्र यादवले बताए । तर, अब अतिरिक्त समय काम लगाएबापत छुट्टै ज्याला दिने, सिफ्टअनुसार काम लगाइए सिफ्ट भत्ता पाउने, काज सुविधा र भत्ता पाउने, दुर्घटनामा उपचार खर्च र मृत्यु भए परिवारलाई सहायता रकम दिनेजस्ता सुविधा थपिएका छन् ।

त्यस्तै, ज्यालादारी कर्मचारीले पनि विद्युत् प्राधिकरणका कर्मचारीसरह नै प्राधिकरणअन्तर्गत निर्माण हुने आयोजनाहरूमा सेयर लगानी गर्न पाउने सुविधा दिइएको छ । तर, ज्यालादारी कर्मचारीको स्थायी कर्मचारीलाई जस्तै पोसाक भत्ता, दसैँ खर्चलगायतका माग भने पूरा हुन सकेन ।

प्राधिकरणले करिब १५ सय ज्यालादारी कर्मचारी रहेको जनाउँदै आएको छ । तर, ज्यालादारी कर्मचारी संघर्ष समितिले भने २ हजार ५ सय ७५ को संख्यामा ज्यालादारी कर्मचारी कार्यरत रहेको बताउँदै आएको छ । दिन गन्ती वा घन्टाको हिसाबमा काम गर्ने सबै कर्मचारीलाई समितिले ज्यालादारी मानेको छ ।

Published On: 4 September 2018 | Naya patrika

Back to list

;