s

ज्यालावृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

बिर्तामोड — ज्यालावृद्धिको माग गर्दै झापामा चिया श्रमिकहरू आन्दोलित बनेका छन् । उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

उद्योगीसँग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका हुन् । ज्यालावृद्धि नगरेको विरोध स्वरुप श्रमिकले आइतबार चिया कारखाना तथा बगानमा कालो झण्डा राखेका छन् ।

‘पहिलो चरणमा साउन ७ गतेसम्म कालो झण्डा राख्ने, कोणसभा गर्ने लगायतका विरोधका कार्यक्रम तय गरेका छौंं,’ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय संयोजक सन्तकुमार राईले भने । श्रावण ७ गतेसम्म पनि ज्यालावृद्धि नभए थप कार्यक्रम तय गरेर आन्दोलनलाई अघि बढाउने उनले बताए ।

चिया श्रमिकले चार बुँदे माग राखी आन्दोलन सुरु गरेका हुन् । उनीहरुले गत वर्ष असार ५ गते नै श्रम ऐन–२०७४ अनुसार ज्यालावृद्धिलगायतको सेवा सुविधा माग गर्दै उद्योगीलाई लिखित पत्र बुझाएका थिए । पत्र बुझाएको एक वर्षसम्म पनि सुनुवाई नभएपछि काम संगै आन्दोलन पनि सुरु गर्नु परेको चिया श्रमिक सावित्रा बन्जाडाले बताइन् ।

श्रमिकहरूले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको आधारमा हाल पाइरहेको पारिश्रमिकले दैनिक जीवन यापन गर्न असम्भव भएकाले उचित ज्यालावृद्धिको माग गरेको जनाएका छन् । हरियो पत्ती टिपाइको काममा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्न पनि उनीहरुले माग राखेका छन् । श्रम ऐन–२०७४ को दफा १० मा भएको व्यवस्थाअनुसार कार्यरत सबै श्रमिकलाई सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

साथै, श्रमिकलाई काममा लगाउनुअघि ऐनको दफा ११ अनुसार अनिवार्य रोजगार सम्झौता गरेर मात्र काममा लगाउनसमेत माग गरेका छन् । उनीहरुले चिया बगानमा काम गर्ने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गर्न समेत माग राखेका छन् ।

पछिल्लो तीन वर्षको महँगीका आधारमा २० प्रतिशत अर्थात हालको दैनिक ज्यालामा ८७ रुपैयाँ वृद्धि गर्नुपर्ने श्रमिकको माग छ । उद्योगीले भने यो वर्ष दैनिक ज्यालामा १५ रुपैयाँ र आगामी वर्ष थप १५ रुपैयाँ गरी ३० रुपैयाँसम्म ज्यालावृद्धि गर्न सकिने अडान राखेका छन् । चिया श्रमिकको दैनिक ज्याला अहिले ४ सय ३५ रुपैयाँ छ ।

Published on: 17 July 2023 | Kantipur

Link

Back to list

;