s

ज्याला माग्दै विरोधमा उत्रिने नेपालीसहित विभिन्न मुलुकका श्रमिकलाई कतारद्वारा देश निकाला!

आगामी नोभेम्बरमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको कतारले ज्यालाको माग गर्दै विरोधमा उत्रिएका आप्रवासी कामदारलाई देश निकाला गरिदिएको छ।

कतारको सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै नेपालसहित भारत, बंगलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश निकाला गरेको बिबिसीले जनाएको छ।

लामो समयदेखि आफूहरूले कामको ज्याला नपाएको भन्दै कम्तीमा ६० जना कामदारहरूले निर्माण कम्पनी अल बन्दारी इन्टरनेशनल ग्रुपको दोहास्थित कार्यालयसामू अगस्ट १४ मा र्‍याली र विरोध प्रदर्शन गरेका थिए।

तीमध्ये कतिपयले सात महिनादेखि ज्याला नपाएको बताएका थिए।

आन्दोलनमा सहभागी कामदारलाई प्रहरीले तत्कालै पक्राउ गर्‍यो। पक्राउ परेकामध्ये केहीलाई देश निकाला गरेको इक्वीडेम नामक मानवअधिकारवादी संस्थाले जनाएको छ। यद्यपि कति संख्यामा कामदारालाई देश निकाला गर्‍यो भन्ने स्पष्ट संख्या दिएको छैन।

श्रमअधिकारबारे विज्ञता हासिल गरेको कादरीका अनुसार विरोधमा उत्रिएका श्रमिकले राजनीति नगरेको भन्दै आफ्नो श्रमको ज्याला मागेको बताए।

‘४२ डिग्रीको तातोमा विरोधमा उत्रिन समेत बाध्य हुनेगरि उनीहरू कति अप्ठेरोमा परेका थिए होलान् भनेर तपाईँ कल्पना गर्नसक्नुहुन्छ? उनीहरू कुनै राजनीति गरिरहेका थिएनन्। केवल आफ्नो श्रमको ज्याला मागिरहेका थिए’, कादरीले बिबिसीसँग भने।

अल बन्दारी इन्टनेशनल ग्रुप नामक कम्पनी निर्माण तथा इन्जिनियरिङमा संलग्न छ। आयोजक समितिले यसबारे टिप्पणी गर्न अस्वीकार गरेपछि देश निकालामा परेका श्रमिकहरू विश्वकप तयारीकै निर्माण कार्यमा सामेल थिए वा थिएनन् भन्ने थाहा प्रष्ट नभएको बिबिसीले भनेको छ।

यता कतारी सरकारले दोहाको दुर्लभ विरोधमा सामेल केही कामदारलाई सार्वजनिक सुरक्षा कानूनको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको स्वीकार गरेको छ।

‘शान्त रहन असफल भएका र कतारको सार्वजनिक सुरक्षा कानूनको उल्लङ्घन गर्ने अल्पसंख्यक प्रदर्शनकारीहरूले अदालतको आदेशद्वारा निर्वासनको सामना गर्नुपर्नेछ’, कतार सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

तर, आन्दोलनमा कति जना कामदार संलग्न छन् भन्ने विवरण खुलाइएको छैन।

सरकारले शान्त रहन नसकेका केही कामदारलाई देश निकाला गरिने भनिए पनि अधिकारवादी संस्थाहरूले केही कामदारहरू कतार छाडेर गइसकेको दाबी गरेका छन्।

‘हामीले नेपाल फिर्ता पठाइएका एक जनासहित आन्दोलनमा संलग्न कामदारसँग कुरा गरेका छौं। उनी फिर्ता भएको पुष्टि गरेका छौं,’ इक्विडमका प्रमुख मुस्तफा कादरीले भने, ‘नेपाल, बंगलादेश, भारत, इजिप्ट र फिलिपिन्सका अन्यलाई पनि देश निकाला गरिएको छ।’

यसैबीच कतार सरकारले बाँकी रहेको सबै तलब-ज्याला तथा सुविधाहरू पीडित श्रमिकलाई दिने भएको छ।

यसअघिनै कामदारलाई ज्याला नदिएको अल बन्दारी ग्रुपमाथि उजुरी परेकाले सरकारले अनुसन्धान गरिरहेको भन्दै चाँडै कारबाहीको दायरामा ल्याउने बताएको छ।

सन् २०१० मा विश्वकप फुटबल आयोजना अधिकार पाएयता कतारले रङ्गशाला तथा अन्य पूर्वाधार निर्माणलाई तिब्रता दिएको छ। यो सँगै उसले आप्रवासी श्रमिकप्रति गर्ने व्यवहारमाथि बारम्बार प्रश्न उठिरहेका छन्।

Published on: 24 August 2022 | Setopati

Link

Back to list

;