s

ज्याला बढाएसँगै ‘काममा पेलिँदै’ चिया श्रमिक

भीम चापागाईं

श्रमिकको चर्को दबाबपछि सरकारी चिया बगान व्यवस्थापनले बढेको न्यूनतम ज्याला दिएसँगै काम पनि साढे दुई सय प्रतिशतले थपेको छ। बगान व्यवस्थापनले गत जेठदेखि श्रमिकलाई सहमति अनुसारको दैनिक तीन सय ८५ रुपैयाँ ज्याला दिइरहेको छ। तर, नयाँ ज्याला लागू हुनेबित्तिकै साबिकमा गर्दै आएको काम साढे दुई सय प्रतिशतले थपिएको हो। नयाँ ज्याला लागू हुनुपूर्व कन्याम चिया बगानका श्रमिकले दैनिक १६ किलो हरियोपत्ती टिपिरहेका थिए। अहिले ४० किलो अनिवार्य गरिएको छ। ‘अन्य काम पनि गर्नै नसक्ने गरी बढाइएको छ,’ बगानका एक श्रमिक भन्छन्, ‘गर्नै नसक्ने गरी काम जिम्मा दिएर ‘गरे गर, नगरे छोड’ भन्न खोजिएको छ।’ कामको बोझ थपिएपछि चिया श्रमिकले जागिर छाड्न थालेका छन्। काम गर्न नसकेपछि जिल्लाकै ठूलो सरकारी चिया बगान कन्यामका करिब १० जना श्रमिकले राजीनामा दिइसकेका छन्। इलाम चिया बगानमा काम गरिरहेका दुई र झापाको बर्ने चिया बगानका केही श्रमिकले पनि काम छाडेका छन्।

पटक–पटक आन्दोलन गरे पनि सरकारले तोकेको ज्याला पाउन नसकेका श्रमिकले गत चैत १७ देखि वैशाख अन्तिमसम्म काम छाडेर आन्दोलन चर्काएका थिए। दबाब थेग्न नसकेपछि व्यवस्थापन पक्ष तोकिएको न्यूनतम् ज्याला दिन सहमत भएको थियो। चिया बगान व्यवस्थापन पक्षले श्रमिकलाई केही बढी जिम्मेवारी दिए पनि नसक्ने गरी काममा नलगाएको दाबी गरेको छ। कम्पनीले कानुनले तोकेको सुविधा दिएपछि आफ्नो नियमअनुसार काम लगाउनु अस्वाभाविक नभएको व्यवस्थापन पक्षको भनाइ छ। बगान व्यवस्थापन पक्षका प्रशासन शाखा प्रमुख लोकनाथ दंगालले श्रमिकले आठ घन्टा नियमित काम गरेर प्रतिकिलोका दरले एक दिनमा टिप्नेजति पत्ती अहिले टिप्नु नपरेको बताए। ‘अस्तिसम्म आठ घन्टामा १६ किलो हरियोपत्ती टिपेर प्रतिकिलोका दरले त्योभन्दा बढी टिप्ने श्रमिक पनि थिए,’ उनले भने, ‘अहिलेको काम त्यतिबेला त्यही श्रमिकले गर्ने जति होइन।’

चियामा विषादी स्पे्र नगर्ने श्रमिकले पनि गर्नैपर्ने, स्प्रे नगरे राजीनामा दिनुपर्ने वा अर्काे बगानमा सरुवा गर्ने धम्की व्यवस्थापनले दिएको श्रमिक बताउँछन्। त्यतिमात्र होइन, उद्योगमा काम गरिरहेका श्रमिकलाई भइरहेको पदबाट घटुवा गरिएको, वर्षाैंदेखि चौकीदारका रूपमा काम गरिरहेका श्रमिकाई बगानमा गएर काम गर्न बाध्य बनाइएको उनीहरूको गुनासो छ। श्रमिकले प्रतिदिन दुई सय लिटर विषादी चियामा छर्किने गरेकामा अहिले चार सय लिटर छर्किन लगाइएको छ। सय किलो मल हाल्नुपर्नेमा तीन सय किलो पु-याइएको छ। केही बगानमा कैंचीले दैनिक ३५ किलो हरियोपत्ती टिप्ने गरिएकामा अहिले ५० किलो अनिवार्य गरिएको छ। श्रमिक नेता दीपक तामाङले सरकारले तोकेको ज्याला लागू हुनेबित्तिकै श्रमिकलाई ‘काम गरे गर्, नगरे नगर्’ भनेर पेलिएको गुनासो गरे। चिलिमकोट चिया बगानका श्रमिक नेता बालगोविन्द मुण्डाले पनि न्यूनतम ज्याला बढ्नेबित्तिकै कामको भार थेग्नै नसक्ने गरी बढाइएको जानकारी दिए। चिलिमकोट बगानका नौ श्रमिकले कामबाट राजीनामा दिइसकेको उनले जानकारी दिए। इलाम चिया बगानमा पनि न्यूनतम ज्याला कार्यान्वयनपछि कामको बोझ थपिएको छ। ‘न्यूनतम ज्यालापछि काम अलि कडा गरिएको छ,’ श्रमिक नेतृ सरस्वती चौलागाईंले भनिन्, ‘हामी श्रमिक कम भएकाले पनि कामको बोझ यहाँ अलि बढी छ।’

अर्कोतिर सरकारले गत वर्ष साउन १ देखि लागू हुने गरी चिया श्रमिकको न्यूनतम ज्याला तोकेको थियो। तर, श्रमिकले गत जेठदेखि मात्रै न्यूनतम ज्याला पाएका छन्। उनीहरूले साउनदेखि वैशाखसम्मको न्यूनतम ज्याला अहिलेसम्म पाएका छैनन्। नेता तामाङले साउनदेखिको ज्याला दिन सरकारी बगान व्यवस्थापनले आनाकानी गरिरहेको बताए। तामाङले साउनदेखिको ज्याला माग्दा व्यवस्थापन पक्षले बगान र उद्योग नै बन्द गर्ने धम्की दिएको पनि बताए। अर्का नेता मुण्डाले पनि साउनदेखिको बाँकी ज्याला तीन किस्तामा दिने सहमति व्यवस्थापले गरे पनि अहिलेसम्म नदिएको बताए।

Published on: 11 August 2019 | Nagarik

Back to list

;