s

जोर्डनमा गाडिएका दुई नेपाली महिलाको शवको अवशेष सात महिनापछि स्वदेश ल्याइयो

काठमाडौँ — घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली महिलाको गाडिएको अवस्थामा रहेको शव उत्खनन गरेर स्थानीय अदालतको आदेशअनुसार शवको अवशेष सोमबार नेपाल ल्याइएको छ ।

राजधानी अम्मानमा कार्यरत तेह्रथुम घर भएकी ३७ वर्षीया लीलामाया लिम्बू र सिन्धुपाल्चोककी २२ वर्षीया सुस्मिता तामाङको गत वर्ष असोज/कात्तिकमा निधन भए पनि शव घरफिर्ती हुन सकिरहेको थिएन । यसबारे जानकारी पाएर जोर्डनको कूटनीतिक मामिला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले ताकेता गर्दै आएको भए पनि गत वर्ष माघ ४, २०७९ मा दुवै जनाको शव गाडिएको अर्को सूचना आएको थियो ।

‘सम्बद्ध परिवार र कूटनीतिक नियोगलाई समेत जानकारी नदिई शव गाडिएको सूचना पाएपछि यहाँबाट जोर्डनको परराष्ट्र मन्त्रालयमार्फत आपत्ति जनाउँदै पत्राचार भएको थियो,’ कायरोस्थित नेपाली राजदूत सुशील लम्सालले कान्तिपुरसँग फोनमा भने, ‘आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन गत जेठ १९ मा अम्मान पुगेका बेला जोर्डनका नरेश अब्दुल्लाहलाई पनि यो घटनाबारे अवगत गराउँदै शव फिर्ता र अन्तिम संस्कारमा सहयोग पुर्‍याउन अनुरोध गरेको थिएँ । यही प्रक्रियामा गत शनिबार शव उत्खनन गर्दै प्राप्त अवशेष सोमबार काठमाडौं पठाइएको हो ।’

दुवैको मृत्युबारे स्थानीय प्रहरी कार्यालय र अदालतले दिएको कारणमा आत्महत्या भनेर खुलाइएको छ । यी दुवै जनाको शव गत वर्ष माघ ४ मा अम्मानस्थित इस्मालिक शव दफनगृहमा पुरिएको सूचना कायरो दूतावासले पाएको थियो । आत्महत्या कारण भनेपछि यसमा आवश्यक क्षतिपूर्तीको प्रक्रिया अघि बढाउन मुस्किल हुने खाडी तथा मध्यपूर्वी मुलुकहरूमा नियम छ । तर, अलगअलग घरमा आत्महत्या गरेको अवस्था र घटनाको ५ महिनापछि शव गाडिएको स्थितिबारेमा प्रहरी अनुसन्धान तथा अदालती फैसलामा पनि केही उल्लेख गरिएको छैन ।

‘सुस्मिता जोर्डन गएको १६ महिनामात्रै भएको थियो, गत वर्ष मंसिरमा बहिनीको मृत्यु भएको थाहा पाएका थियौं,’ सुस्मिताका दाजु बन्जलाल तामाङले भने‚ ‘आज बहिनीको शवको अवशेष मात्रै बुझेका छौं, उताबाट पाइने क्षतिपूर्तिबारे कुनै जानकारी छैन ।’ उनका अनुसार बहिनीलाई जोर्डन पठाउने युरोक्रस म्यानपावरले पनि अन्तिम संस्कारको खर्चका लागि १ लाख रुपैयाँ दिएको छ ।

तर, लीलामाया लिम्बूका आफन्तका अनुसार भने उनीहरुले कतैबाट केही सहयोग पाएका छैनन् । उनी भने माउन्टेन ग्रुप म्यानपावरबाट जोर्डन गएकी थिइन् । २ छोरा र १ नाबालक छोरीलाई छाडेर लीलामाया ५ बर्षअघि रोजगारीमा जोर्डन पुगेकी थिइन् । जोर्डनमा झन्डै ३५ सय नेपाली कामदार रहेकोमा २ हजारजति घरेलु कामदार रहेको दूतावासले जनाएको छ ।

Published on: 26 July 2023 | Kantipur

Link

Back to list

;