s

जोर्डनमा नेपाली चढेको बस दुर्घटना

होम कार्की

एकको मृत्यु, ७ गम्भीर घाइते

जोर्डनको पेत्रास्थित मानस क्षेत्रमा नेपाली महिला कामदार चढेको बस दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । बिदाको दिन घुम्न जाँदा गत शुक्रबार बस दुर्घटना भएको थियो । बसमा २९ नेपाली महिलासहित ४६ विदेशी कामदार थिए । घटनास्थल जोर्डनको राजधानी अम्मानबाट २ सय २० किलोमिटर दक्षिणमा पर्छ ।

जोर्डन मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा रविना राई छिन् । जोर्डनस्थित अवैतनिक दूतले दूतावासलाई उपलब्ध गराएको सूचनाअनुसार गम्भीर घाइतेमा ३६ वर्षीया गीता राई, २० वर्षीया सरिता, २७ वर्षीया निर्मला, २३ वर्षीया सम्झना, २७ वर्षीया एकमैया, २० वर्षीया अम्बिका र २३ वर्षीया पवित्रा छन् । उनीहरूलाई जोर्डनको राजधानी अम्मानस्थित किङ हुसेन मेडिकल सिटीको ‘आईसीयू’ कक्षमा उपचार भइरहेको राजदूत झवीन्द्रप्रसाद अर्यालले जानकारी दिए ।
 
‘७ गम्भीर घाइतेमध्ये तीन जनाको हात छिनेको छ । उनीहरूलाई अप्रेसन कक्षमा राखिएको छ । बाँकी चार जनाको अवस्था थप चिन्ताजनक छ,’ उनले भने, ‘सामान्य चोटपटक लागेकाहरू उपचारपछि क्याम्प फर्किसकेका छन् ।’ उनले घटनासम्बन्धी पूर्ण विवरण उपलब्ध गराउन अवैतनिक दूतलाई निर्देशन दिइसकिएको बताए । ‘हाम्रा अवैतनिक दूतले जोर्डन सरकारको परराष्ट्र र श्रम मन्त्रालयका अधिकारीसँग निकट सम्बन्ध रहेर विस्तृत विवरण बुझ्ने काम भइरहेको छ,’ उनले भने ।
 
बसमा सवार महिला कामदार मलिवन, क्याजुअल ओयर, निडली क्राफ्ट, फाइन एपिअरेल र हाइटेक कम्पनीमा कार्यरत थिए ।
 
Published on: 18 April 2018 | Kantipur

Back to list

;