s

जोर्डनमा ज्यान गुमाएकी राईको परिवारलाई राहतस्वरुप ७ लाख प्रदान

जोर्डनमा बस दुर्घटनामा मृत्यु भएकी उदयपुरकी रविना राईको आश्रित सन्तानलाई त्यहाँको मोहमेल टेक्सटाईल कम्पनीले करीब ७ लाख रकम उपलब्ध गराएको छ । शुक्रबार राजधानीको कमलपोखरीस्थित एससीसी म्यानपावर कम्पनीमा आयोजित एक सक्षिप्त कार्यक्रममा म्यानपावर कम्पनीका सञ्चालक अबुल शाह तथा रोजगारदाता कम्पनीका ह्युमन रिसोर्स इन्चार्ज मोहमेद डीनले ६ हजार २ सय ३३ अमेरिकी डलर बरावर हुने ६ लाख ७८ हजार ३ सय ३५ रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरे ।
 
जोर्डनको पेत्रास्थित मानस क्षेत्रमा गत चैत ३० गते नेपाली महिला कामदार चढेको बस दुर्घटना हुँदा राईको मृत्यु भएको थियो । उक्त दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका थिए । नेपालको नयाँ वर्षको अवसर पारेर बिदाको दिन घुम्न जाँदा बस दुर्घटना भएको थियो । उक्त रकम मृतक राईको सन्तानको शिक्षा दिक्षा र उमेर पुगेपछि उदमशीलताका लागि खर्च गरिने म्यानपावर सञ्चालक शाहले बताए । त्यस अवसरमा रोजगारदाता कम्पनी प्रतिनिधि डीनले राईले दुर्घटनाको बेला लगाएको घडी, सुनका गहना र हाते व्यागपनि मृतक परिवारलाई हस्तान्तरण गरे ।
 
म्यानपावर सञ्चालक शाहले मृतकका आश्रित बालबच्चालाई लामो समयसम्म रेखदेख गर्ने भन्दै आश्रित बच्चालाई आफ्नो कम्पनीलाई मावलीघर सम्झीदिन पनि आग्रह गरे । उनले भने, आश्रित बच्चाले भविष्यमा बाँच्नकै लागि हात फैलाउँदै हिड्ने अवस्था नआओस भन्ने विषयमा म्यानपावर कम्पनीको पनि सचेत रहेको बताए । रोजगारदाता कम्पनीले आश्रित बच्चाका लागि रकम उपलब्ध गराएकोप्रति आभार व्यक्त गर्दै मृतक राईका परिवारले दुखद घडी भएपनि म्यानपावर कम्पनीले गरेको कामले आफुहरुलाई केही राहत मिलेको बताए ।
 
रोजगारदाता कम्पनीका प्रतिनिधि डीनले आफ्नो कम्पनीमा ४ सय ५० नेपाली कार्यरत रहेको जानकारी दिँदै कामदारको अधिकारप्रति कम्पनी अति संवेदनशील रहेको भन्दै मानवियताका आधारमा उक्त रकम उपलब्ध गराइएको जानकारी दिए । उनले भने, ‘रोजगारीका लागि जोर्डन आउने नेपालीहरु धेरै दक्ष त छैनन्, तर कामप्रति प्रतिवद्ध, ईमान्दार र नम्र स्वभावका भएका कारण हाम्रो रोजाइमा परेका छन्। जोर्डनले नाइक, अडिडास जस्ता विश्व प्रसिद्ध ब्राण्डका सामग्री उत्पादन गरी अमेरीका र युरोपका बजारमा निर्यात गर्ने गरेको छ । ती टेक्सटाईल उद्योगमा हाल करीव १५ हजार नेपाली कार्यरत रहेका छन् ।
 
घाइते तथा मृतकको अवस्था बुझ्न दुर्घटना भएको तीन दिन भित्रै जोर्डन पुगेका म्यानपावर सञ्चालक शाहले दुर्घटनामा ७ नेपाली गम्भीर घाइते भएका मध्ये तीन जनाको हात छिनेको जानकारी दिँदै उनीहरूको जोर्डनको राजधानी अम्मानस्थित किङ हुसेन मेडिकल सिटीमा उपचार भइरहेको जानकारी दिए । मृतकसहित घाइतेको थर्ड पार्टी बीमा वापतको रकमका लागि त्यहाँको कानुन अनुसार बीमा कम्पनीमा विमित रकम पनि दाबी गरिएको र केही समयपछि मृतक परिवारले उक्त रकम पनि पाउने बिश्वास रहेको शाहले जानकारी दिए । शाहले नेपालबाट पूर्णतः फ्रि भीषा फ्रि टिकटमा पठाइने कामदारले जोर्डनमा मासिक २७ हजार रुपैयाँ आर्जन गर्ने बताए । शाहका अनसार जोर्डनमा कामदारको तलव वार्षिक रुपमा बढ्ने व्यवस्था छ ।
 
बैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार एस सी सी म्यानपावर नेपालबाट जोर्डनको टेक्स्टायल क्षेत्रमा खासगरी धेरै महिला कामदार पठाउने म्यानपावर कंपनीहरु मध्ये मानिन्छ ।
 
Published on: 17 June 2018 | Madhyanha

Back to list

;