s

जोर्डनका लागि पनि मेडिकल छानिए

वैदेशिक रोजगारीका लागि जोर्डन जाने कामदारको स्वास्थ्य परीक्षण पाँचवटा मात्र मेडिकलले गर्न पाउने भएका छन् । श्रोतका अनुसार जोर्डनमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न छानिएका मेडिकल सेन्टरहरुमा राजधानीको सिनामंगलस्थित अनमोल मेडिकल सेन्टर प्रा.लि., मदिना मेडिकल सेन्टर प्रा.लि., महाराजगञ्जस्थित मिता पोलिक्लिनिक सेन्टर प्रा. लि., कोटेश्वरस्थित हिमालयन डाईनोष्टिक सेन्टर प्रा.लि.र नयाँ बानेश्वरस्थित साई पोलिक्निक रहेका छन् ।
 
नेपाल र जोर्डनबीच गत कात्तिक १ गते घरेलु कामदारसहितको श्रम सम्झौता हस्ताक्षर भएको थियो । उक्त श्रम सम्झौता हुँदा अन्तिम समयमा जोर्डन जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था जोर्डन सरकारको सम्बन्धित निकायले अनुगमन गरी छनोट गर्ने वाक्यांश पारिएको थियो । त्यसमा तत्कालीन श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले आपत्ति जनाएपछि  नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत २ सय ३५ वटै मेडिकल मध्येबाटै जोर्डन जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने तर नेपालमा भएको स्वास्थ्य परीक्षण जोर्डनको मेडिकल इन्टिच्युटले प्रमाणीकरण गरेपछि मान्य हुने शर्त सम्झौतामा समावेश गरिएको बताइएको छ ।
 
श्रम सम्झौता हँुदा स्वास्थ्य परीक्षणमा जोर्डनी पक्ष हावी हुने विषय आएपछि शुरुमा तत्कालीन श्रम तथा रोजगार मन्त्री मन्सुरले त्यसमा असहमति जनाएको तर अन्तिममा मन्त्रीले नै चाल नपाउने गरी  मेडिकल सम्बन्धी प्रावधान प्रवेश गराइएको बताइएको छ । कात्तिक १ गते सम्झौता भएपछि मन्त्री स्वदेश फर्किनासाथ सम्झौताको प्रावधान अनुसार सबै मेडिकलले स्वास्थ्य परीक्षण गर्न सूचीकृत हुन आउनु भन्ने सूचना श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गर्नुपर्ने थियो तर मन्त्रालयले त्यस्तो सार्वजनिक सूचना जारी गरेको आफूहरु कसैलाई जानकारी नभएको अधिकांश स्वास्थ्य व्यवसायी बताउँछन् । सम्झौतामा यो शर्त घुसाउन मन्त्री सँगै जोर्डन गएका परराष्ट्र मन्त्रालयका केवल किशोर नामका कर्मचारीको हात रहेको बताइएको छ । तर ती कर्मचारी हाल परराष्ट्र छोडेर अध्ययनका लागि अष्टे«लिया गइसकेका छन् ।
 
समाचार स्रोतका अनुसार जोर्डनका लागि छानिएका भनिएका उल्लेखित पाँच वटा मेडिकलमध्ये केहीको सञ्चालकमा वैदेशिक रोजगार व्यवसायी नै संलग्न छन् । सूत्रका अनुसार पाँच वटा मेडिकलको मात्र नाम छानिएको भनिएपछि त्यसमा घरेलु कामदार सरोकार समाजले आपत्ति प्रकट गरेको थियो । जोर्डनी पक्षका तर्फबाट करिव ४ महिना अगाडि नेपाल आएको एक प्रतिनिधिमण्डलसँग भएको छलफलपछि करिव ७० वटा मेडिकलमा जोर्डनी पक्षले अनुगमन गरेको थियो ।
 
सूत्रका अनुसार त्यसमा नेपाल वैदेशिक रोजगार मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीको बालाजुस्थित अल्फ्रेस्को मेडिकल लगायतका थिए । ती ७०  मेडिकलमध्ये थप १२ वटा मेडिकलमा पनि स्वास्थ्य परीक्षण गर्ने सहमति भएको बताइएको छ । तर, ती मेडिकल कुन कुन हुन केही खुलाइएको छैन ।
 
Published on: 16 March 2018 | Madhyanha

Back to list

;