s

जोर्डनका लागि हाउसमेडको स्वीकृति खुल्यो

श्रम तथा रोजगार मन्त्रालयले जोर्डनसँग करिव चार महिना अघिको घरेलु कामदारसहितको श्रम सम्झौता कार्यान्वयन गरेको छ । श्रम तथा रोजगार मन्त्रालयको सोमबार सचिव स्तरीय निर्णयपछि उक्त सम्झौता कार्यान्वयन हुने भएको हो ।
 
मन्त्रालयले गत कार्तिक १ गते जोर्डनसँग श्रम सम्झौता गरेको थियो । मन्त्रालयले उक्त सम्झौता कार्यान्वयन गर्नु भन्दै सोमबार वैदेशिक रोजगार विभाग मार्फत ताहाचलस्थित काठमाडौं कार्यालयलाई निर्देशन पठाएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी मोहन अधिकारीले मन्त्रालयको निर्णय र निर्देशन अनुसार अब जोर्डनबाट आएका घरेलु कामदारको मागलाई स्वीकृति दिइने बताए । अधिकारीले मंगलबार मध्यान्हलाई भने– ‘यस सम्बन्धमा मन्त्रालयबाट पत्र आइसकेको छ, यो कार्यान्वयन हुँदैछ ।’
 
चार महिना अघि उच्च महत्व दिएर गरिएको उक्त सम्झौताबारे कर्मचारीले आफूहरुलाई त्यस बारेमा केही थाहा नभएको बताउने गरेका कारण जोर्डन जाने घरेलु कामदारहरुको पूर्व तथा अन्तिम श्रम स्वीकृति रोकि राखेका थिए । जोर्डनबाट प्राप्त घरेलु कामदार सम्बन्धी फाइल लिएर पूर्व श्रम स्वीकृतिका लागि उक्त कार्यालय पुग्ने व्यवसायीहरुलाई श्रम सम्झौताबारे आफूहरुलाई केही थाहा नभएको बताउने गरेका थिए । कर्मचारीहरुले ताहाचलले विभागलाई, विमागले मन्त्रालयलाई, मन्त्रालयका अन्य अधिकारीहरुले सचिवलाई र सविचले मन्त्री नभएको भन्दै पञ्छिने गरेका थिए । जोर्डनबाट हाल करिव ५ सयको हाराहारीमा  डिमाण्ड आएको बताइएको छ ।
 
कार्य घण्टा, बीमा, अधिकार, आपूर्ति प्रक्रियालगायतका विषयमा नेपाली कामदारको कानूनी आधार निकै बलियो बनाएको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरुको भनाइ रहने गरेको छ । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदार र घरेलु कामदारको माग उच्च छ । जोर्डन सँगै साउदी, कुवेत लगायतका देशसँग यस्तै श्रम सम्झौता भए रोजगारीका लागि जाने नेपाली महिला सुरक्षित रहने व्यवसायीहरुको भनाइ छ ।
 
Published on: 7 March 2018 | Madhyanha

Back to list

;