s

जोर्डनबाट आएको घरेलु कामदारको माग अलपत्र

करीब चार महिना अघि श्रम तथा रोजगार मन्त्रालयले उच्च महत्व दिएर गरेको जोर्डनसँगको श्रम सम्झौता मन्त्रालय अन्तरगत वैदेशिक रोजगार विभाग र ताहाचलस्थित काठमाण्डौं कार्यालयका कर्मचारीले आफूहरुलाई त्यस वारेमा केही थाहा नभएको बताउने गरेका छन् ।
 
जोर्डनबाट प्राप्त घरेलु कामदार सम्बन्धी फाइल लिएर पूर्व श्रम स्वीकृतिका लागि उक्त कार्यालय पुग्ने व्यवसायीहरुलाई श्रम सम्झौतावारे आफूहरुलाई केही थाहा नभएको बताउने गरेको व्यवसायीहरुको भनाइ छ । जोर्डनबाट हाल करीव ५ सयको हाराहारीमा माग रहेको बताइएको छ । गत कातिक १ गते नेपाल र जोर्डनबीच श्रम सम्झौता भएको हो । तत्कालीन श्रममन्त्री फरमुल्लाह मन्सुरले त्यसलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धि बताउने गरेका छन् ।
 
जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदार र घरेलु कामदारको माग उच्च छ । कार्य घण्टा, बीमा, अधिकार, आपूर्ति प्रक्रियालगायत विषयमा नेपाली कामदारको कानुनी आधार निकै बलियो बनाएको स्वयम् श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरुको भनाइ रहने गरेको थियो ।
 
तर, व्यवसायीहरुले सोही सम्झौता अनुसार डिमाण्ड ल्याउँदा घरेलु कामदार रोक्ने आदेश छ खोलिएको आदेश छैन भन्दै असहयोग गर्ने गरिएको व्यवसायीहरुको गुनासो छ ।
 
अझ आश्चर्य त के छ भने ताहचलले बुद्धनगरस्थित विभाग, विभागले सिंहदरवारस्थित नाम फेर्न बाँकी रहेको श्रम तथा रोजगार मन्त्रालय, मन्त्रालय भित्र अन्य अधिकारीहरुले सचिव र सचिवले मन्त्री देखाउने गरेका छन् । तर, उक्त मन्त्रालय हेर्ने मन्त्रीको भने अझै टुंगो छैन ।
 
Published on: 2 March 2018 | Madhyanha

Back to list

;