s

जोर्डन र नेपालबीच श्रम सम्झौता

 
होम कार्की
 
नेपाल र जोर्डनबीच बुधबार जोर्डनमा श्रम श्रम्झौता भएको छ । श्रम सम्झौताले जोर्डनमा सरकारी तवरबाट घरेलु कामदारका रूपमा जाने बाटोसमेत खुला भएको छ । नेपालले कामदार पठाउन अनुमति दिएका १ सय ८ मुलुकमध्ये ५ देशसँग मात्रै श्रम सम्झौता गरेको थियो । 
 
श्रममन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा श्रम सम्झौतामा हस्ताक्षर भएको हो । ‘जोर्डनसितको श्रम सम्झौतालाई हामीले एउटा ‘नमुना’ का रूपमा लिएका छौं,’ श्रम प्रवक्ता भुवन आर्चायले कान्तिपुरसित भने, ‘यसमा कामदारको सेवा, सुविधाको ग्यारेन्टी गरिनुको साथै कामदारको हित र हकको पक्षमा प्रस्ट बोलेको छ ।’ 
 
उनले औपचारिक क्षेत्र र घरेलु कामदारको क्षेत्रलाई सम्बोधन गर्ने गरी श्रम सम्झौता भएको बताए । ‘श्रम सम्झौताले सामान्य र विशेष क्षेत्रका रूपमा घरेलु कामदारलाई सम्बोधन गरेको छ,’ उनले भने, ‘जोर्डनले कामदारको मेडिकल, अभिमुखीकरण, सीपयुक्त तालिम, हवाई खर्च, भिसा शुल्क रोजगारदाताबाटै व्यहोर्ने गरी जिम्मेवारी लिएको छ ।’ जोर्डनमा गार्मेन्ट र घरेलु कामदारका रूपमा नेपाली महिला कामदारको माग उच्च छ । अन्तर्राष्ट्रिय पहिचान बनाएका गार्मेन्ट उद्योगहरू जोर्डनमा भएकाले अन्तर्राष्ट्रिय श्रम संगठनले तय गरेका आधारभूत मापदण्डहरू श्रम सम्झौतामा समावेश गर्न दुवै सरकारलाई सहज भएको छ । ‘दुईवर्षे करारपत्रमा कामदार लैजाने, दिनमा कामदारले ८ घण्टा अनिवार्य आराम गर्न पाउने, वर्षमा २८ दिन बिदा दिने, कामकै दिनमा ओभरटाइम गर्दा १ सय २५ र बिदामा गर्दा १ सय ५० प्रतिशत ज्याला दिनुपर्ने, गुणस्तर बसाइ र स्वास्थ्य सुविधाको जिम्मेवारी पनि कम्पनीकै हुनेछ,’ उनले भने, ‘कम्पनी र कामदारबीच समस्या उत्पन्न भएमा कामदारको न्याय प्रक्रियाको पनि ग्यारेन्टी गरेको छ ।’ 
 
सामान्य कामदारको उमेर १८ देखि ५० वर्ष र घरेलु कामदारको उमेर २४ देखि ४५ वर्ष तोकिएको छ । श्रम सम्झौतामा घरेलु कामदारको न्यूनतम तलब ३ सय डलर र बिमा १० हजार अमेरिकी डलर हुने उल्लेख छ । ‘कामदारको राहदानी आफैंसँग रहने, कामदारले आफ्नो धर्म मान्न पाउने, कामदारलाई राखिएको क्याम्पमा नेपाली दूतावासले निरीक्षण गर्न पाउने व्यवस्था श्रम सम्झौतामा छ,’ श्रम प्रवक्ता आचार्यले भने, ‘कामदारको जिम्मेवारी दुवै सरकारले लिएका छन् । अव दुवै सरकार आफ्ना दायित्व पूरा गर्न बाध्य हुनेछन् ।’
 
श्रम मन्त्रालयले जोर्डनसँग श्रम सम्झौता गर्न झन्डै ५ वर्षदेखि तयारी थालेको थियो । श्रम सम्झौता भएपछि जोर्डन नेपालीका लागि अर्को सीपयुक्त गन्तव्य बन्न सक्ने श्रम मन्त्रालयले लिएको छ । जोर्डनमा झन्डै ५ हजार नेपाली कार्यरत छन् । जसमा ८० प्रतिशत महिला छन् । ‘स्वस्थ ढंगले म्यानपावरले बजार खोज्न सक्नेछ,’ उनले भने, ‘अरु देशभन्दा जोर्डनमा कामदार पठाउन थप सहज हुने विश्वास लिइएको छ ।’ 
 
नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको मलेसिया, साउदी अरब, कुवेत र ओमनसँग अझै श्रम सम्झौता भएको छैन । नेपालले सबभन्दा पहिला कतारसँग २००५ को अप्रिल, संयुक्त अरब इमिरेट्स (यूएई) सँग २००७ जुलाईमा र दक्षिण कोरियासँग २००७ मा र बहराइनसँग २००८ मा श्रम सम्झौता गरेको थियो । त्यसपछि झन्डै १० वर्षपछि जोर्डनसँग गरेको हो ।
 
Published on: 19 October 2017 | Kantipur

Back to list

;